डोरम्याट
विगत चालिसको दशकबाट कवितामा उपस्थिति जनाएका छविरमण सिलवालको पछिल्लो कविता कृति हो डोरम्याट । यसमा नेपाली आम जनजीवनको आवाज मुखरित भएको छ । सरल शब्द र मीठासपूर्ण बिम्बहरु प्रयुक्त गरिएका र प्रतिकको राम्रो उपस्थिति भएका ३०थान कविताहरु कृतिमा समेटिएका छन् ।
समकालीन समयका विभिन्न विकृति र विसंगतिहरुमाथि कडा तर शालिन ढंगले व्यँगप्रहार गर्न सक्नु कविको विशेषता लाग्छ । असल कुराहरुप्रतिको चासो र सकारात्मकतातिरको गन्तब्य कविताका विशेषता हुन् । छोटा कदका तर बलशाली कविताहरुले प्रतिकात्मक तवरले पाठकहरुलाई मोहित पार्छन् । विषयगत विविधताका कविताहरु जसले सार्वभौम मानवीय जीवनलाई अभिव्यक्त गर्छन् । समाजका भोगाइहरुको सत्यापन गर्छन् । कविताहरु दुरुह छैनन् । आम पाठकले पढेर अथ्र्याउन सक्ने भएकोले कविताका पारखीहरुको निम्ति डोरम्याट पठनीय कृति हो ।
यो कवितासंग्रह भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । प्रस्तुत कृतिको मूल्य रु.२५०। रहेको छ ।

भोयाज जिन्दगी
आफुले भोगेको ,देखेको र सुनेको कुरा पुस्तकमा उतार्नु गाह्रो काम हो । डा.उद्धब राईले यहि गाहे काम गरेका छन् । उनको दोश्रो कृति भोयाज जिन्दगी(यात्रा संस्मरण)मा भोजपुरको छिनामखुदेखि अफ्रिकासम्मका विभिन्न ठाउँहरुका यथार्थ अबस्था,रहनसहन,संस्कृति लगायतको विषयमा जानकारी दिने भएकोले यो पुस्तक पठनीय देखिन्छ । कृतिमा उनका भोगाइ,यात्राका अनुभव र अनुभूतिहरु भरिएका छन् । कौतुहलता र रोचकताले भरिपूर्ण यात्रासंस्मरणमा स्वदेश लगायत एशिया,अमेरिका,अष्ट्रेलिया सहित विभिन्न महादेशका केही देशमा घुम्दाका अनुभव र जानकारी पनि संगालिएका छन् ।
छिनामखु सरोकार समाजले प्रकाशन गरेको भोयाज जिन्दगीको मूल्य रु.५००। रहेको छ ।

यात्राको लय
सरल भाषाशैलीमा लेखिएका नियात्रा मार्फत पाठकहरुलाई आफसंगै यात्रा गराउने सामाथ्र्य राख्ने नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति हो यात्राको लय । यात्राका क्रममा देखेभोगेका दृश्य र भोगेका घट्ना एवं अनुभूतिहरुको फेहरिस्त लाग्छ यात्राको लय । प्रस्तुत कृतिमा नियात्राकारले विगतको दशवर्षे सशस्त्र द्धन्द्धकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विभिन्न प्रसंग सहित स्वदेशका विभिन्न स्थान र दार्जिलिंगसम्मका यात्रा परिवेशहरु यसमा समावेश गरेको पाइन्छ । यात्राका क्रमका आनन्ददायी मात्र नभएर मनै हल्लिने परिवेशहरुका अनुभवहरु पनि यसमा नियात्राकारले बाँडेका छन् । गतिशीलताले भरिएका नियात्राहरु जहाँ तथ्यात्मकता समेत समावेश गरिएको छ । नियात्रा कृति पठनीय छ ।
यात्राको लय भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य रु.३५०। रहेको छ ।

(प्रधान सम्पादक)