
काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो उत्कर्षमा रहेका बेला संस्थापन पक्ष र इतर पक्षका नेताहरू आरोप–प्रत्यारोपमा व्यस्त बन्दा सहमति झनै टाढिँदै गएको छ।
यता संस्थापन पक्षले एकताका लागि गरिएको आह्वानलाई इतर पक्षका शीर्ष नेताहरूले गम्भीरतापूर्वक नलिएको बताइरहेको छ।
उता इतर पक्षका नेताहरूले भने संस्थापन पक्षले कुरा फेरिरहेको र ‘नाटक’ गरिरहेको आरोप लगाइरहेका छन्।
यहीक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षका नेताहरूलाई पार्टी जिम्मेवारीमा समेट्न र स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै त्यसका लागि आफ्नो ७ बुँदे प्रस्ताव शान्त चित्तले पढ्न फेरि आग्रह गरेका छन्।
‘श्रद्धेय नेताहरूलाई मेरो नम्र आग्रह छ, शान्त चित्तले ७ बुँदे पढ्नोस्,’ उपसभापति शर्माले आफ्ना नेताहरूलाई भनेको कुरा उदृत गर्दै सेतोपाटीसँग भने, ‘हामीले निवर्तमान कार्यवाहकलाई पठाएको १६ दिन भयो, बाँकीलाई पठाएको ७ दिन नाघ्यो। तर, उहाँहरूले त्यसबारे न कुनै जवाफ दिनुभएको छ। न आपसमा छलफल नै गर्नुभएको छ।’
शर्माले शनिबार अलग अलग पत्र पठाएर ७ बुँदे प्रस्तावमा आफ्नै समूहमा छलफल गर्न संस्थापन इतरका नेताहरूलाई आग्रह गरेका थिए।
इतर पक्षको आइतबार विराटनगरमा भएको भेलामा डा। शेखर कोइरालाले सभापति गगन थापाले सहमति जनाएको ५ बुँदाबाट बाहिर गएर कुरा फेरेको आरोप लगाएका छन्। कृष्णप्रसाद सिटौलाले पत्र पठाएर उपसभापति शर्माले ‘नाटक गरेको’ भन्दै रोष प्रकट गरेका थिए।
यसरी दुवै पक्ष आरोप प्रत्यारोपमा लागिरहेको घटनाक्रमले सहमति टाढा बनाउँदै लगेको हो।