
काठमाडौँ।देशका केही स्थानमा आजदेखि तीन दिन तातो हावा चल्नेछ ।
तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा जेठ ६ गतेदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ ।
आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहनेछ । यी प्रदेशका थोरै स्थानमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर ९हिट वेभ० तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेकाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ ।
कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ गर्मी प्रभावित जिल्ला भएकाले सतर्क रहनुपर्ने विभागले प्रस्ट पारेको छ ।
बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु पनि गर्मी हुने भएकाले सचेत हरन विभागले सुझाएको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुने विभागको भनाइ छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने र चर्को घाममा बाहिर ननिस्किन विभागले सुझाएको छ ।
हल्का लुगा सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिन समेत विभागले भनेको छ ।



