काठमाडौँ । साहित्यकार इन्दिरा दीक्षितद्वारा लिखित छैटौँ कृतिका रूपमा सामाजिक उपन्यास ‘ईप्सा’ को सार्वजनिक समारोह भव्य रूपमा सम्पन्न भएको छ।
नारी साहित्यिक संस्था ‘गुञ्जन’ को आयोजनामा आयोजित उक्त विशेष समारोह विशिष्ट साहित्यकार जलेश्वरी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो। लोकार्पित कृतिमाथि गहन समीक्षात्मक टिप्पणी राख्दै प्रमुख समीक्षक प्रा.डा. लेखप्रसाद निरौलाले ‘ईप्सा’ उपन्यासले नेपाली उपन्यास परम्परामा उत्तरवर्ती लेखनशिल्पको उच्चतम प्रयोग गरेको बताउनुभयो। सत्रवटा उपशीर्षकहरूमा उनिएको यस उपन्यासले समकालीन नेपाली समाजको पारिवारिक यथार्थ र वैयक्तिक स्वतन्त्रताको मूल्यबारे गम्भीर बहस छेडेको उहाँको भनाइ थियो।
समीक्षक प्रा.डा. निरौलाले भन्नुभयो: “उपन्यासकी मुख्य पात्र ‘स्वेच्छा’ को ३५/३६ वर्षको जीवनयात्राका माध्यमबाट नेपाल, भारत हुँदै अस्ट्रेलियासम्मको त्रिदेशीय परिवेशलाई यसमा समेटिएको छ। वर्तमान समाजमा स्वतन्त्रताका नाममा रहनसहन र महत्वाकाङ्क्षाका कारण कसरी नयाँ पुस्ताले निश्चित मूल्य चुकाउन बाध्य हुनुपरेको छ भन्ने कुरालाई उपन्यासले जीवन्त रूपमा प्रस्तुत गरेको छ। अस्तित्ववादी दर्शन र नारीवादी चिन्तन बोकेको यो उपन्यास अत्यन्त स्वादिलो, गहकिलो र सन्देशमूलक छ।” अर्की समीक्षक प्रभा बरालले ‘ईप्सा’ उपन्यास उत्तराधुनिक लेखनशिल्पमा आधारित रहेको उल्लेख गर्नुभयो। समकालीन पुस्ताको वास्तविक जीवन भोगाइलाई उपन्यासले दुरुस्त पारेको चर्चा गर्दै उहाँले परम्परागत सामाजिक मूल्य मान्यताका कारण मुख्य पात्र स्वेच्छाको जीवनमा परेको प्रभावलाई उनेर लेखकले अत्यन्तै पठनीय उपन्यास तयार पारेको बताउनुभयो। साथै दीक्षितको हिन्दी भाषामा समेत गहिरो दखल रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा वरिष्ठ साहित्यकार इल्या भट्टराईले स्वागत मन्तव्य राख्दै आमन्त्रित व्यक्तित्वहरूलाई स्वागत गर्नुभएको थियो।
समारोहमा प्राज्ञ जगमान गुरुङ, प्रा.डा. विदुर चालिसे, डा. फणीन्द्रराज निरौला, साहित्यकारहरू भागीरथी श्रेष्ठ, युवराज मैनाली, डा. सुमना पृथा, हिरण्यकुमारी पाठक, सुस्मिता नेपाल तथा यादव भट्टराई लगायतका विशिष्ट बौद्धिक एवं साहित्यिक व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन भगवती बस्नेतले गर्नुभएको थियो। आफ्नो मन्तव्यका क्रममा उपन्यासकार इन्दिरा दीक्षितले संक्षिप्त र शालीन विचार राख्नुभयो। उहाँले भन्नुभयो, “म धेरै बोल्न जान्दिनँ। उपन्यासभित्र मैले जे-जस्ता विचार र भावनाहरू समेटेको छु, त्यसको सही मूल्याङ्कन आदरणीय पाठकवर्गले नै पढेर गरिदिनुहुनेछ भन्ने विश्वास लिएकी छु।दीक्षितका यसअघि कथासङ्ग्रह, नियात्रासङ्ग्रह, संस्मरण र खण्डकाव्य गरी पाँचवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष जलेश्वरी श्रेष्ठले लेखक दीक्षितलाई बधाई ज्ञापन गर्दै कृतिको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। ‘ईप्सा’ को प्रकाशनले गुञ्जन संस्थाको इतिहासमा थप उत्साह थपेको र यसले समग्र नेपाली साहित्यको समुन्नतिमा एउटा बलियो इँटा थप्ने विश्वास व्यक्त गर्दै उहाँले सभा विसर्जन गर्नुभएको थियो।