
ललितपुर ।ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित बुङम लोकेश्वर (रातो मच्छिन्द्रनाथ) रथारोहण भएको छ ।
वर्षा र सहकालको देवताका रूपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार, रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट बुङम लोकेश्वर (रातो मच्छिन्द्रनाथ)को मूर्ति पुल्चोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।
रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार, पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार यही वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।
हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली लाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो। बुङम लोकेश्वरको मूर्तिलाई ललितपुरको त ःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याई विराजमान गराएपछि विधिवत रुपमा बुङम लोकेश्वरको जात्रा सुरु भएको मानिन्छ।
बुङम लोकेश्वरलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो। बुङम लोकेश्वरको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ। मूर्तिलाई रथमा राखेको तीन दिनमा बुङम लोकेश्वर रथ तानेर पुल्चोकमा राखिन्छ।
त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ।बुङम लोकेश्वरको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ। जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ। भोटोजात्रा सकिएपछि बुङम लोकेश्वरको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको बहालमा पुर्याई विराजमान गराइन्छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेकोबुङम लोकेश्वरको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

