
काठमाडौं । विश्व शान्ति, दीर्घायु तथा समस्त जीवजन्तुको कल्याणको कामनासहित सुरु भएको ३२औँ ठाङ्गु मणि दुङ्डुब पूजा अहिले पाँचौँ दिनमा प्रवेश गरेको छ।
चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म सञ्चालन हुने यस पूजामा बौद्ध धर्मका श्रद्धालुहरूको उत्साहपूर्वक सहभागी भइरहेका छन्। पूजामार्फत विश्व शान्तिका महानायक १४औं दलाई लामा र १७औं ग्याल्वाङ कर्मपा उग्येन ठिन्ले दोर्जे लगायतका अन्य सम्प्रदायका महान गुरुहरूको पनि दीर्घायुको कामना गरिएको छ।

साथै, स्वर्गीय मूल गुरु खेन्छेन ठाङ्गु रिन्पोछे को शीघ्र पुनर्जन्मको कामना गर्दै धार्मिक अनुष्ठान भइरहेको आचार्य डेछेन पुन्छोकले बताए।
काठमाडौं , बौद्ध स्थित श्री मंगलद्वीप स्कूलमा भइरहेको उक्त पूजामा दैनिक बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

यस अवसरमा श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै निःशुल्क भोजन, चिया तथा यातायातको समेत व्यवस्था गरिएको छ। साथै, पूजास्थलमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ, जसबाट स्थानीय तथा सहभागी भक्तजन लाभान्वित भइरहेका छन्। पूजाको अन्तिम दिन श्रद्धेय टुल्कु दाम्छो रिन्पोछे बाट आर्यअवलोकितेश्वरको अभिषेक प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।



