काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ।
ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू हुने बैठकमा ९ वटा कार्यसूची तय गरिएको छ।
बैठक बिहीबार विहान ११ बजेदेखि बस्ने जनाइएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू लगायत छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठक र बुधबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गरेको हो।
एकीकृत समाजवादीको चौथो अन्तरपार्टी निर्देशनमा अनेरास्ववियू र युवा संघका अध्यक्षहरूलाई बिदा दिई कमिटी पुनर्गठन गरिएपछि विवाद देखिएको छ। सम्मानित नेता झलनाथ खनालले हिजोको बैठकमा त्यसमा आपत्ति जनाएका थिए। खनालले छापिएर आएको विधानप्रति पनि असन्तुष्टि राखेका हुन् ।