काठमाडौँ। नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आफ्नो २७औँ वार्षिकोत्सवको अवसर पारेर द्धिदेशीय काव्यगोष्ठी गरेको छ ।
राजधानीमा बिहिवार आयोजित उक्त गोष्ठीमा नेपाल र भारतका ३५ जना कवि सुनिए ।
कविता बाचनमा सरिक अधिकाँश भारतीय कविहरुले नेपालीमा र नेपाली कविहरुले हिन्दी भाषामा कविता सुनाए।
कविता बाचन गर्ने नेपाली तथा भारतीय कविहरुमा क्रमशः डा.धनेश द्धिवेदी,स्नेह सायमी,विनोद परासर,दीप दर्पण,राजकुमार श्रेष्ठ,भूपिन खड्का,गीता कार्की,गरिमा सञ्जय, मणि लोहनी, मोमिला जोशी,सकुन्तला मित्तल,डा.वनिता शर्मा,निमेष निखिल,डा.तुलिका सेठ,डा.भावना तिवारी,बिमल बैद्य,किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा.कविता मलहोत्रा,सकुन्तला जोशी,मोनालिसा पंवार,उमा सुबेदी,अशेष मल्ल,नमिता राकेश, भोजराज न्यौपाने,ज्योती जङ्ल, उषा शेरचन,राजेन्द्र शलभ,प्रज्वल अधिकारी,सुधाकर पाठक,छविरमण सिलवाल,विश्वविमोहन श्रेष्ठ र लिला अनमोल लगायतले कविता बाचन गरे ।
यसरी बाचित कविताहरु नेपाल र भारतका कविहरूको अनुदित कविता संकलन कृति ‘अनुभूति ‘ मा ३१ नेपाली कवि तथा ३१ भारतीय कविका कविता एकअर्काका भाषामा समेत अनुवाद गरि प्रकाशित भएका छन् ।
सोही कार्यक्रममा हिन्दुस्तान भाषा अकादेमीद्धारा प्रकाशित त्रैमासिक साहित्यिक पत्रिका ‘हिन्दुस्तानी भाषा भारती’ को लोकार्पण पनि गरियो ।कार्यक्रममा अनुवादक शर्मा तथा भारतीय कविहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भारतीय भाषा अकादमीका अध्यक्ष सुधाकर पाठकले गोष्ठीमा बाचन गरिएका कविताहरु गम्भिरताका साथ सुनिनु उल्लेख्य भएको भन्दै नेपाली मित्रहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले ‘हिन्दुस्तानी भाषा भारती’ को अंक काठमाडौँ विशेषाङ्कको रुपमा प्रकाशित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले नेपाली कविहरुलाई दिल्लीमा छिट्टै निम्तो गरिने पनि बताए ।
‘अनुभूति’ की अनुवादक रश्मी शर्माले महत्वपूर्ण अवसरको लागि आयोजक संस्थालाई धन्यवाद दिंदै आफुले ६ वटा कृतिहरु अनुवाद गरेको बताइन ।
यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै एपेकका कार्यकारी निर्देशक कवि राजेन्द्र शलभले अनुवादको लागि डा.धनेश द्धिवेदीले पुलको काम गरिदिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्य गर्दै जाने जानकारी दिए ।
एपेकका अध्यक्ष अग्रज कवि विश्वविमोहन श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने भन्दै पाण्डुलिपी पुरस्कार कृति प्रतिज्ञाको हिन्दी अनुवाद गर्न भारतीय भाषा अकादमीलाई दिने संस्थाले निर्णय गरिसकेको बताए ।
कार्यक्रमको सञ्चालन कवि लिला अनमोलले गरिन्।