
चर्चामा पुस्तक
शिखर शिखरको सौन्दर्य
रामप्रसाद पन्त आफ्नै शैलीमा नियात्रा लेख्छन् । यसकृतिभित्र स्वदेशभित्रका तेह्र थान नियात्राहरु समावेश भएका छन् । काठमाडौँको गोकर्णेश्वर ,हेलम्बु,आमयाङ्री,शैलुङ तामाकोशीको सेरोफेरो र गौरीशङ्करसम्मका यात्राहरुको सुरुचीपूर्ण लेखाइ यहाँ छ । गोरखा छ,यहाँ काभ्रे छ। इलाम र नुवाकोट पनि छ । त्यहाँका ऐतिहासिक जानकारी छन् । यात्रा वृतान्त छन् । सुन्दर प्रकृतिको मज्जेदार वर्णन छ । यो कृतिले धार्मिक,साँस्कृतिक र आन्तरिक पर्यटनका अनुभूतिहरुको झल्को दिन्छ ।
सुस्वादु छन् नियात्राहरु । निजात्मक,अनुभव र अनुभूतिलाई पर्गेलेर लेखिएका छन् । पाठकलाई कुतुकमय बनाउने छन् । तथ्यपरक छन् ।तिनमा सरल भाषाशैलीको प्रयोग छ ।
शिखर शिखरको सौन्दर्यलाई दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशित गरेको हो । यसको मूल्य रु.४००। रहेको छ ।
नेपाली साहित्यका पच्चीस सर्जक
नवराज रिजाल साहित्यिक पत्रकारितामा समेत चर्चित नाम हो । यसकृतिभित्र नेपाली भाषा साहित्यक्षेत्रका २५ जना साहित्यसाधकहरुको परिचय र चर्चा गरिएको छ ।चर्चाका क्रममा तिनको कर्म,योगदान,व्यक्तित्व र गतिविधिहरुको समेत जानकारी दिने प्रयास छ । आत्मानुभूति सञ्चयन भनिएपनि तिनैका योगदान,तिनै व्यक्तित्वहरुसङ्गको आत्मानुभूति,स्मरण,सत्सँग लगायतका कुराहरु छन् ।
नेपाली साहित्यका प्राथमिककालीन आदिकवि भानुभक्तदेखि मोतिराम भट्ट हुँदै आधुनिककालीन लेखनाथ,देवकोटा,सम,माधव घिमिरे,सत्यमोहन जोशी,श्यामप्रसाद,वीपी कोइराला र अझै पछिल्लो पुस्ताका नकुल सिलवाल,भक्तबहादुर कार्की,गोविन्द भट्ट,कुलमानसिंह भण्डारी,नगेन्द्रराज शर्मा,आनन्ददेव भट्ट,रोचक घिमिरे,जनकप्रसाद हुमागाईँ,जगदीश नेपाली,मोहन दुवाल,केवलपुरे किसान,देवीप्रसाद वनबासी समेत समेटिएका छन । राजेन्द्र सुवेदी पनि छुटेका छैनन् ।
नेपाली साहित्यका पच्चीस सर्जकलाई तन्नेरी प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.६००। रहेको छ ।
आशीर्वाद
आर सुरेन्द्रको यात्रा संस्मरण कृतिभित्र चार भागमा विभाजित यात्रा संस्मरणहरु छन् । मातृत्व,मातृभूमि,मानवताको सम्मानार्थ गरिएको यात्रा नाम दिइएको यो संस्मरणकृतिभित्र पाशुपतक्षेत्रबाट प्रारम्भ गरी बनारसको मणिकर्णिका घाट,प्रयागराज महाकुम्भ,भगवान् रामको जन्मस्थल अयोध्या,गौतमबुद्धको जन्मस्थल लुम्बिनी,पशुपति,मुक्तिनाथसम्मका यात्राहरु समेटिएका छन् ।
आध्यात्मिक परिक्रमाको रुपमा उनले उल्लेख गरेका यी यात्रा संस्मरणहरु मनको शान्तिको अभिलाषाले गरेको बताएका छन् ।जीवन सार्थक र आनन्दमय बनाउन आध्यात्मिक यात्राको अपरिहार्यतामा कृतिभित्र जोड दिइएको छ । सरलभाषामा आएको कृतिले ती धार्मिक स्थलहरुको बारेमा पाठकलाई यात्रा गराउने सामाथ्र्य राख्छ ।
आशीर्वादलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.४२५।रहेको छ ।

