काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो।
जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो।
जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने कार्यक्रम छ।
भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ सभा गर्न लागेको एमालेले जनाएको छ।