
काठमाडौं। लघुकथा समाज,नेपालद्धारा दुई स्रष्टा सम्मानित भएका छन् ।
राजधानीमा शनिबार आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार अशेष मल्लले कथाकार डा. दीनबन्धु शर्मालाई ‘सावित्री–केशर कथा सम्मान–२०८२’ तथा लघुकथाकार त्रिलोचन ढकाललाई ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०८२’बाट सम्मानित गरे ।
सम्मानित स्रष्टाहरुलाई नगदराशी समेत प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार अशेष मल्लले दुवै सर्जकलाई सम्मानपत्र प्रदान गरे ।

प्रमुख अतिथि मल्लले आजको समयमा लघुकथाको महत्व रहेको बताउँदै यसको स्तरीयतामा ध्यान दिन लेखकहरूसँग आग्रह गरे ।उनले लघुकथा लघुचलचित्रको लागि उपयुक्त हुनसक्ने राय समेत व्यक्त गरे । लघुकथामा वाढी आएको बताउँदै मल्लले यो अबस्था आउन लघुकथा समाज,नेपालको महत्वपूर्ण भूमिका रहेको जोड दिए ।

अर्का वक्ता प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मानित स्रष्टाहरुको वारेमा चर्चा गर्दै लघुकथा बिस्तारका अभियानकर्ता समेत रहेका ढकालका लघुकथाहरुमा अरु लघुकथाकारहरुमा भन्दा बढी व्यङ्ग्यचेत भएको बताए । डा.शर्मा प्रयोगशील कथाकार भएको बताउँदै उनका कथाहरु परम्परागत धारभन्दा अलग रहेको बताए ।
सम्मानका संस्थापक साहित्यकार हरि थापाले आफ्ना मातापिता र पत्नी भैरवी थापाको मातापिताको नाम होस् भनेरै सम्मानको स्थापना गरेको बताए ।
कार्यक्रममा सम्मानित स्रष्टाद्धय ढकाल र डा.शर्मा, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,पवन आलोक,अगम बनेपाली,शंकर भारती लगायतले आ-आफ्नो विचार राखे ।
लघुकथा समाज,नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सदस्य सिन्धु गौतम तथा स्वागत मन्तब्य सचिव श्रीबाबु कार्कीले राखेका थिए ।



