
अनुभव र अनुभूति
प्रदीप सापकोटा
सम्झनामा पुराना दिन: वर्तमानमा हाम्रो समाज
मेरो दिमागले भ्याएसम्म सोचें। आजसम्म मैले कसैको केही विगार गरे जस्तो लाग्दैन् । ठम्याई यहि हो केही कसैलाई अप्ठ्यारोमा पारेजस्तो पनि लाग्दैन् । तर एकतमास छ मन । छनक राम्रो छैन् । असमञ्जसमा परेको छु । आवेग,उत्तेजना,रिसराग केही होइन् । भावना पनि गलत केही छैन् । निहुँ पनि कसैसँग खोज्दिन् । खोज्नु जरुरी पनि ठान्दिन् । बरु पर्दा अरुलाई सकेको सहयोग गर्छु । खनखाँचो र गर्जो भने उतिसाह्रो टार्न सक्दिन् । किनकी मेरो अवस्था भनेको संघर्षमय छ । यो अबधि भनेको मेरो व्यवहारले मज्जैले थिचेको बेला हो । यस्तो बेला अरुलाई सरसापटी दिन नसकिने हुँदोरहेछ । नत्र,मैले अरु सबालमा कसैलाई के त कसैलाई के गुन लगाइरहेकै छु । र पनि मेरो आलोचना धेरै हुन्छ । या भनुँ भैरहेको छ । यस्तो किन हुन्छ ?
कसैलाई कसैको नम्बर चाहियो –फलानोको नम्बर देन । फोन आउँछ । कसैको बारेमा केही जानकारी लिनुपर्ने भो–त्यो कहाँ के गर्छ ? कसैलाई हस्पिटल भर्ना गरेको छ बिल लामै आयो –तैले अलिकति सहुलियत मिलाई दिएस् । अथवा कसैलाई अप्रेशन गर्नुपर्ने भो,रगतको आवश्यकता भो –यो ग्रुपको यति प्वाँइन्ट रगत चाहियो । के यो मात्रै हो त प्रदीपको परिचय ।
छोराले राम्रो पढेन् । विदेश पठाइदिनुपर्यो –कुन म्यानपावर ठीक होला ? छोरो/छोरी विद्यार्थी भीसामा अष्ट्रेलिया ,यूके ,क्यानडा,जापान कता कता जान चाहाँन्छन्– कुन देश पठाउँदा राम्रो होला ? तैलें चिनेको होलास नि –कन्सलटेन्सी । पैसामा सहुलियत भनिदे है । यो पनि हो प्रदीपको परिचय ।
अथवा,छोराको अपायक सरुवा भो,गर्मीले विरामी हुने भो वा लामो समय भो सरुवा नै भएन् । दुःख धेरै पायो –भनसुन गरिदे । तँ त नेताहरुसँग निर्धक्क कुरा राख्न सक्छस् । छोरोले स्कूलको पढाइ सक्यो –कतै यसो छोरोलाई अल्झाउन पाए हुने । यस्तो मुद्धा हालेछ फलानोले मलाई – वकिल चाँहि मैले खोजिसकें । तर सल्लाह चाहिँ दे,के जवाफ लाउने होला । फलानोको यो समस्यामा तैलें सहजीकरण गरिदे । जागीर त खाएँ सर तर केहि आएन् – के के गर्नुपर्छ । के लेख्ने होला ? यो पनि रहेछ प्रदीपको परिचय ।
अचम्मको छ मेरो परिचयको उद्भव पनि । बुबा आमाको जेठो छोरो न्वारनको नाउँ जे राखेपनि परिचय भयो –प्रदीप भनेर । बीस गाउँ बेबरले यहि नाउँले चिन्छ । केशव मास्टरको जेठो छोरा । यसरी हो –बाको परिचयमा चिन्छ । यो यथार्थवादी कुरा हो । धेरै गर्न सकिएन् होला । आफु जन्मे,हुर्के र खेलेको माटोमा । धेरै योगदान भयो पनि भन्दिन् मेरो जन्मथलोमा । तर एउटा सामान्य परिवारको छोरोले यो भन्दा के गरोस । उतिबेला युवावयमा केहि गरियो भन्ने लाग्छ ।
अहिले सम्झँदा पुराना यादहरुका खातहरुको चाङ छ यो ह्रदय भरी । त्यो वयमा उमेरभन्दा धेरै गरेउँ हामीले । घमण्डका साथ भन्न मन लाग्छ । दावी र दलिलहरु पेश गर्न मन लाग्छ । उतिबेला अरु भविष्यको चिन्तामा डुबेर समय सकाउँथे । हामी केही थान मित्रमण्डली समाज सुधारका कार्यक्रम अन्तर्गत विभिन्न गतिविधिहरु गरेर समय कटाउँथ्यौं । साथीहरुलाई हाम्रा कुराले कुण्ठा आउनसक्छ मनमा । तनाव हुनसक्छ । तर हामीले ठोकेर भन्नसकेउँ समाज परिवर्तनमा हाम्रो टीनएज धेरै कामयावी भयो । अझ भनौं हाम्रो सक्रियता रह्यो । समाजको सकारात्मक परिवर्तनमा हामीले धेरै फराकिलो फाँट बनाएका थियौं । यस्ता काम गर्दा कतिपटक हामी अपमानित भएका थियौं । हाम्रा विरुद्ध नकारात्मक हल्ला कति फैलाइएको थियो । तर हामीले ती सबै अपमान र हल्लाहरु कुल्चियौं । सुनेनौं,अन्देखा गरेउँ । पुस्तकालय स्थापना र सञ्चालन तथा व्यवस्थापन होस कि,कोचिङ कक्षा सञ्चालन होस । अथवा मार्सल आर्टको लागि डोजाङ्ग सञ्चालन र व्यवस्थापन नै किन नहोस । नाटक र साँस्कृतिक कार्यक्रम त कति गरिए हेक्कै भएन् । देउसीभैलो होस या तीज । फजुल खर्च जोगाउन गरिएका सामूहिक ब्रतबन्ध नै किन नहोस । साहित्यिक गतिविधिहरु, क्लव सञ्चालन, विभिन्न विकृति र विसंगति विरुद्ध छेडिएका कदमहरु आज सम्झें गजबै गरिएछ । त्यसको महत्ता ज्यादै रहेछ । यो त केही उल्लेख गरेको मात्र लेख्दै जाने हो भने लामै श्रृँखला बन्छ । हाम्रा समाजमा गरिएका उतिबेलाका परिपाठहरु प्रबुद्धवर्गले सलाम गर्ने किसिमले सञ्चालन भएका रहेछन् । हामीले कुनै प्रभुका स्तुतिगान गाउन यी कार्यहरु गरेका थिएनौं । न हाम्रा साथीभाइका कुनै स्वार्थ थिए । थिए त समाजमा हुने शोषणका विरुद्ध थिए हाम्रा ती अभियान । चर्को व्याजदरको प्रपीडनमा परेका धेरै गाउँलेहरुका घरखेतहरु गुमेका दृष्य हाम्रा आँखाहरुले हेरिरहन नसक्दा सहकारीको अबधारणा ल्याएका थियौं । यसको मुख्य अगुवाई राजकुमारले गरेको थियो ।
गलत चर्तिकला केहि थिएन । खराव कार्य गर्ने होडमा पनि थिएनौं । आम जनताको धन दोहन अनावश्यक भएको देखेर सामुहिक व्रतबन्धको परिपाटी शुरु गरेका थियौं । हाम्रो चाहना र अभिलाषा भनेको समाजको सुधार र आम गाउँलेको मुहारमा हाँसो भर्ने नै थियो । हाम्रो मिहेनतले केही परिवर्तनका संकेत देखिएका थिए ,नकि बालुवामा पानी हालेजस्तो होइन् । हाम्रो ध्याउन्न नै इहलोक सपार्ने थियो । पुर्नजन्ममा हाम्रो विश्वास थिएन् । तर समाजमा उतिबेला स्तुतिवाजहरु पनि प्रशस्तै थिए । हाम्रा हरकार्यमा मुखमा रामराम बगलीमा छुरा उनीहरुको प्रवृत्ति थियो ।
समाज परिवर्तनमा सघाउनेहरु पनि उल्लेख्य संख्यामा थिए । हाम्रा परिवार,अग्रज केही दाइपुस्ताहरुले ह्रदयदेखि सहयोग गरेका थिए । उनीहरु पनि हाम्रा गतिविधिहरुप्रति आकर्षित नहुने कुरै भएन् । साथ र सहयोगकै कारण हाम्रा क्रियाकलापहरुले समाजमा हल्लिचल्लि मच्चाएको थियो । हरेक राष्ट्रिय दैनिक पत्रिका गाउँमा उपलब्ध हुन्थे । विभिन्न साहित्यिक क्रियाकलापहरु पनि गरिन्थे । देशमा नाम चलेका साहित्यकारहरुलाई बत्ती मुनीको गाउँमा पुर्याएर कार्यक्रमहरु गरेका थियौं । हाम्रो मानसिकता अलिक विशाल थियो,खजमजिएको थिएन् । तसर्थ,मार्सल आर्ट खेलाउने प्रशिक्षक समेत गाउँबाहिरबाट आवासीय व्यवस्था गरेर लगेका थियौं । वातावरणप्रति सचेत हामी वरपरको वातावरणीय सरसफाई जस्ता कार्यहरुमा संलग्न थियौं । वृक्षारोपण हाम्रो अर्को महत्वपूर्ण कार्य थियो । यसैले समाजमा प्रतिगामी सोच राख्नेहरु मनमनै हामीसँग विक्षुब्ध थिए ।त्यसैले हामीले हण्डरी नखाने कुरै भएन् ।
तर हाम्रो प्रयास निरन्तर रह्यो । गलत कुराहरुको विरुद्ध अभियान चलायौं । राम्रा कार्यहरु सुरुवात गरेउँ । हामीले विभिन्न समयमा रक्तदान,स्वास्थ्य शिविर पनि चलायौं । सकेको गरेउँ । कुनैपनि क्षेत्रमा हात नहालेका थिएनौं । कुनैमा सतप्रतिशत सफल त कतै केहि अगाडि गएको थियो । उतिबेला श्रोत र साधनको कमी थियो । प्रतिकूल वातावरणको कुरै नगरौं । राजनीतिक परिवर्तनको पहिलो झुल्को लागेको बेला संक्रमणकाल थियो । यस्तैमा एसएलसीको नतिजा आएसँगै अध्ययनको लागि राजधानी छिरियो । तर,गाउँ जाने क्रम रोकिएन् । अद्यपि त्यो क्रम निरन्तर छ । सकेको सहयोग गर्ने,दुखसुखमा सहभागी हुने, अभावमा पूर्तिको लागि माध्यम बन्ने प्रयास गर्ने कार्य रोकिएको छैन् । आफुले जानेको बुझेको सहि सल्लाह दिनबाट चुकिएको छैन् । कसैसँग स्वार्थका लागिमात्र सम्बन्ध राख्ने चरित्र पनि मेरो होइन् र छैन् । ठगेर कसैसँग खाएको पनि छैन् । खानुपनि छैन् । स्वार्थसंश्लिष्ट साँध्नुपनि कोहीकसैसंग छैन् । अमानवीयता प्रदर्शन मेरो विषय पनि होइन् ।
केहि मित्रहरुसँग अहिले पनि पुराना कुराहरु हुन्छ । उनीहरु मध्ये कोही ठूलै ठाउँमा छन् । राजकुमार, वेद, रामचन्द, विमला, प्रतिमा,कूल आदिसँग पुराना कुरा हुन्छ । दिलिप दाज,भीमसेन दाजु हरेक अभियानको साक्षी मात्र नभएर अभियानकर्ता पनि थिए जो अहिले पनि गाउँमै छन् । उनीहरुसँग पनि कुरा हुन्छ । मान्छे,सामाजिक प्राणी,समाजका हरचीजबाट बेखवर रहन सक्दैन् । अरुको आर्तनादमा हाँस्नु मानवीयता हैन् । हामीभन्दा पछिका केही भाइबैनीहरु निरञ्जन, प्रकाश, राधिका, विजय, माधव, नरेन्द्र,साजन,गीता आदि साहित्य सृजना,गीत संगीत,नृत्य,आर्ट लगायतका हरक्षेत्रमा उम्दो र जाग्दो थियो । झण्डैं सबैले गाउँ छाडिसके । निर्मलाको भूमिका पनि कम्ति थिएन् । सरिता,राममाया,उद्धव,सन्त,मानवीर तारा,इश्वरी,लक्ष्मी लगायतका भाइबैनीहरु पनि पछिल्लो चरण राम्रो भूमिका थियो । श्यामहरि,नमराज,श्याम,दिनेश,चन्द्रजन,भाइहरुको योगदान पनि छ। अहिले केही विदेश पलायन भए त केही आ आफ्नै कार्यमा व्यस्ततामा छन् । विदेश पलायन गराउने पनि यही समाज हो । यही हाम्रो राजनीतिक प्रणालीको विकृति मनस्थिति हो ।
बास्तबमा मैले त हाम्रा वाल्यकालीन र युवावयकालीन फेहरिस्त बनाएर हाम्रा ऐतिहासिक मिसिल बनाउने पो प्रयास गरेछु । धेरैका नाम समेट्न छुटेको छ । यो सम्भव पनि भएन् । हाम्रो अभियानमा स्व.केपी दाइ, केशव घिमिरे, शिव आचार्य, भीमसेन सापकोटा, लगायत थुप्रै अग्रज दाजुहरुको साथ सहयोग रहेको थियो । चर्चित लोकगीत गायक मच्छेश्वर हुन् वा राजनीतिमा लागेका साधुराम सबै सबैले सहयोग गरेका थिए । हाम्रो कार्य सबैतिरबाट अनुमोदित भएको थियो । उतिवेला अग्रज दाजुहरु स्व.नविन, लोकनाथ, दिपेन्द्र, गुणनाथहरुको पनि साथ सहयोग थियो । हाम्रा हर गतिविधिमा सुझाव सल्लाह र सरिक हुन्थे मिठाराम दाइ,मुकुन्द र विष्णुदाइ । स्व.लक्ष्मण पनि स्मरणमा रहने नाम हो । हाम्रो अभियानमा प्रशिक्षक बनेर साथ दिने कुबेर,राजकुमार रञ्जितकार ।
पछिल्लो चरणमा गैसस मार्फत वाढीपहिरोबाट भएको क्षतिमा अतुलनिय योगदान भएकै थियो पदम,केदार,विनोददाइहरु,सरला बैनीहरुले । केशब श्रेष्ठ,रामशरण थापा लगायतका थुप्रै नाउँ भुल्न सकिन्न् । तर मैले यहाँ आफ्ना वयबेलाका एकाध वर्षहरुमा मात्र स्मरण गरेको हुँ । अझ धेरै नाउँ हुनसक्छन् छुटेका,ज–जसले योगदान गरे ती सबैप्रति सम्मान व्यक्त गर्दछु र यो आलेखमा छुटेका हिजो सामाजिक परिवर्तनमा लागेकाहरु सबै सबैलाई सम्झँन चाहें ।
यातायातको असुविधा,हिंडेरै सबै गर्नुपर्ने वाध्यताका बीच काठमाडौंका विभिन्न निकायहरुमा धाएर पुस्तक संकलन गरी बोरा बोकेर गाउँ जाने काम कम्ति गाह्रो थिएन् । यो गर्नेलाई थाहा हुन्छ । अरुलाई त के भन्दिए पुग्छ । आलोचना गर्दिए पुग्छ । पुस्तकालयको सानो भवन वनाउँन ढुँगा फुटाइएको,माटो मुछिएको,काँध खुईलिने गरी काठहरु बोकिएको कुरा सम्झँदा मात्र पनि नोष्टाल्जिक हुन्छु । विगत स्मरण गर्दा गौरवान्वित उतिक्कै । उदय नारायण दाइहरुको साथ सहयोगले भवन तयार भएको भुल्न सकिन्न् ।
विगतको सन्दर्भ अत्यन्तै गौरवशाली थियो र छ । ती पुलिसबा जसले ज्ञानविकास पुस्तकालयको न्वारान गरे र एकसय रुपैयाँ सहयोग गरे। कम्ति प्रेरणादायी र उत्साही बनाउँने कुरा थिएन् हाम्रा निम्ति ती कुरा ।राम्रै र उल्लेख्य काम गरिएछ भन्ने लाग्छ अहिले सम्झँदा । केही गर्ने चाहानाका पोकाहरु मनभरी बोकेर हिंड्थ्यौं हामी । विश्वनाथ,रितकुमारहरुले पनि समय दिन्थे । पुस्तकालय होस या क्लव साँझ विहान नियमित खोल्थ्यौं । कार्य गरेका रहेछौं ।
युवा क्लब सञ्चालन गरेउँ । भित्ते साहित्यिक पत्रिकाले निरन्तरता पायो । स्मारिका पनि केहि अंक निकाल्न सफल भयौं । धेरै धेरै सहयोगी मन यादगर छन् । विभिन्न निकायहरु धन्यवादका पात्र छन् ।विगत सम्झेर आगतमा खुशी लाग्छ । तथापि समाजले पनि बलेकै आगो ताप्छ । धनीकै होड लिन्छ र स्तुति गाउँछ । यस्ता कुराले मलाई निराश बनाउँछ । उत्साह पानी पानी हुन्छ । कहिले हट्ला त्यो निर्मोही मनोविज्ञान उफ्!
पत्रपत्रिका किनिदिने दाजुहरुको नामको लिष्ट पनि लामै हुन्छ,जसले हामीलाई आफ्नो तलवबाट केही पैसा छुटाएर नियमित पत्रपत्रिकाहरुको ग्राहक बनिदिन्थे,धुर्व सापकोटा,धुर्व गौतम, उद्धव,स्व.सिंहविर लगायतका दर्जनौ अग्रजहरुलाई पनि भुल्न सकिन्न् । हरेक राष्ट्रिय पत्रपत्रिका ताजा पढ्ने कुरा गाउँमा कहाँ सजिलो हुन्थ्यो र नत्र ?
यति मै मेरो कहानी सकिएको छैन् । आफुलाई सत्व नै ठानेको छु । र अहंमान पनि छैन् ममा । समाजमा मलाई हेर्ने मान्छेका दृष्टि र अहैतुक भँगालाहरुले बेलाबेला आफ्नो स्थान नाँघ्न खोज्छन् तर पर्वाह गरिन्न्। त्यसैले अहिले पनि आफुले सकेको गरिएकै छ । हिजोको गौरव र गुरुताले उत्साह निस्तेज पारेको छैन् । जसले मेरो चरित्रचित्रण जसरी गरोस वाल गरेको छैन् । अन्य साथीहरुको सवालमा उनीहरु नै जानुन् । तर,हिजोको वाल्यकालबाट शैशवकालतिर उन्मुख गर्दै गर्दा समाजमा केही सकारात्मक परिवर्तनको हुटहुटी हामीमा थियो यो पक्कै हो ।
कहिलेकाँही अलिअलि उपयोगीतामा परेको महशुस गर्दा मनमा बेचैनी बढ्छ । फेरी लाग्छ,मेरो कारण कसैलाई म प्रयोग हुँदा फाइदा भएकै छ भने के भो त । आजको समाजले हामी जस्ता मान्छेको कुरा सुन्न,हामीलाई बुझ्न छोडिसक्यो जस्तो लाग्छ मलाई । वास्तविकताबारे हाम्रा आब्हान वास्ता गर्ने पक्षमा समाज देखिन्। यसैले थोरै हतास मनस्थितिले मन कुँडिएको छ । केही महोदयहरु मानौं त्रिकालदर्शी हुन् जस्तो हावी हुँदा र समाजले तिनकै कुरा पत्याइदिंदा मन थोरै विचलित भएको पक्कै हो । अलिकति मानसिक उद्वेलन भएको साँच्चै हो ।
तर,समाजलाई थाहा भएन् तिनको अभिष्ट के भनेर । तिनको सक्कली परिचय के हो भनेर । अथवा समाजले चासो राखेन् अझै भनुँम चासो राख्ने धृष्टता पनि गरेन् । तिनका मूल्यहीन र उपयोगविहीन कुराको पछि समाज दगुर्यो । यही हो शास्वत सत्य । यत्ति हो गुढ कुरा । शक्तिमा पुगेकाहरुले बडो सावधानीपूर्वक आफुलाई दुरुपयोग गरेको कुरा बुझेन्–समाजले । चालै पाएन् दुष्ट्याँई गरिएको –समाजले । समाजको जटिलतामा खेलेको र मुटुमा कीलो गाडिन थालिएको कुरा सुइँको पनि पाएन् यो समाजले । सायद हाम्रो समाजलाई नदुख्ने/लठ्याउने इन्जेक्सन लगाइसकिएको छ ।
समाजले कुरुपतालाई रुपवान देख्यो । सुनको जलप लगाएको भ्रममा नक्कली पालिस दलिएको कुरा पत्तो पाएन् समाजले । तर,यस्तो गर्नेलाई आदर्श नायकको रुपमा लियो । अरु सबै भिलेन भए । त्यही भिलेनको भीडमा प्रदीप पनि एक भिलेन थियो । जसलाई अहिले पनि त्यही समाज विभिन्न कामको निम्ति खोजी गर्छ । अचम्म छैन् त ! किन कसैलाई भित्रसम्म निहालेर हेर्न सक्दैन् समाज ? तर,प्रदीपलाई केही छैन् । मलाई मात्र हैन् –हिजो एउटै अभियानमा हिंडेका थुप्रै साथीभाइलाई केही छैन् । प्रदीप यसो गर्नुपरो तेरो सहयोग चाहियो,उसो गर्नुपरो तेरो जिम्मा –मैले गर्ने र गरिआएको काम,हवस हुन्छ गर्ने नै हो,मेरो जवाफ यहि हो ।
अब अहिले ती कुरा एकादेश र एकजुग अगाडिको मान्छ हाम्रो छोरा भतिज पुस्ता । उसलाई यो कुरा सुनाउँदा मन पराउँदैन् । अथवा भनौं पत्याउँदैन् । अनित्य बस्तुको चाहमा छ आजको पुस्ता । भर्खर परिवर्तनको चाह खोज्छ । धैर्य गर्न सक्दैन् । तर समाज छिटै परिवर्तन कहाँ हुन्छ र । हरेक कालखण्डमा सकारात्मक परिवर्तनको लागि केही न केही गर्नेहरुले समाजलाई सकारात्मक परिवर्तनको दिशामा डोर्याउँछन् । सम्झँन्छु विगत खुशीले नोष्टाल्जिक हुन्छु । वर्तमान हेर्छु ऐठन चल्छ । सायद समयसँगै बदलिंदा रहेछन् सबै चाह,आवश्यकता । यस्तै रहेछ यहाँको चलन ।।