
काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकले संचालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
अर्याललाई विहीबार अपरान्ह ललितपुर कुपोन्डोलको नटराज ट्राभल्सबाट पक्राउ गरेको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्यालको पक्राउ विरुद्ध लम्सालले कडा आपत्ति जनाए ।
उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’
पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।
लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्य गरिरहेका थिए । उनलाई विहीबार विहानदेखि नै प्रहरीले पिछा गरिरहेको थियो ।

