
काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भनेको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । विद्यालयका शिक्षक कर्मचारीको असहयोगका कारण बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अब परीक्षा वैशाख २१ गते आइतबारदेखि सञ्चालन हुने छ । शिक्षा ऐन माग गर्दै आन्दोलनमा रहेका सामुदायिक विद्यालयका शिक्षकले परीक्षालाई असहयोग गर्ने बताएपछि बोर्डले मङ्गलबार बिहान बैठक बसेर कर्मचारी परिचालन गरेर भए पनि परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको थियो तर बोर्डका अध्यक्षलगायतका पदाधिकारीले परीक्षा सञ्चालनसम्बन्धमा मङ्गलबार साँझै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । छलफलक्रममा प्रधानमन्त्री ओलीले अवस्था प्रतिकूल रहेकाले केही दिनका लागि परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनपछि बोर्डले औपचारिक रूपमा परीक्षा सार्ने निर्णय गरेको हो ।
परीक्षा स्थगित हुँदा दूरगामी असर पर्ने देखिएको छ । समयमै परीक्षा नभएपछि नतिजा प्रकाशनमा ढिलाइ हुने छ । नतिजा प्रकाशन विलम्ब हुँदा विदेशी विश्वविद्यालयले स्नातक तहमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कोटामा भर्ना हुन समस्या पर्ने छ ।
शिक्षक आन्दोलनअघि नै परीक्षाको तालिका सार्वजनिक गरिएको हुनाले पनि शिक्षकले कक्षा १२ को परीक्षालाई सघाउनुपर्ने परीक्षा नियन्त्रक शर्माको भनाइ छ । विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने तथा त्यसमा आफूहरूको पेसागत अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै विद्यालय शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलनमा छन् ।


