काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ ।
देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ।
आज सरकारले सार्वजनिक बिदा दिएको छ ।सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो ।
शहीद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारको तर्फबाट आज शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसपटक प्रधानमन्त्री ओली आफैं शहीदगेट पुग्नेछन् । त्यसपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पुग्ने छन् । सिंहदरबार परिसरमा आयोजना हुने शहीद दिवसको कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिदै आएकोमा यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।
माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ ।
प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद गेट र शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको बताइएको छ।
शहीद ढोकामा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ। त्योसमेत सञ्चालनमा आउन सकेको छैन ।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ ।शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ।
यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ।
देश र जनताको लागि विभिन्न कालखण्डमा प्राणको आहुति दिनुहुने आदरणीय ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।