
मुक्तकहरु
बियोगी बुढाथोकी
१.
परिचयको खाता खोल्दा मीठो गफ खुवायौ साथी
हुन्छ,भइहाल्छ भन्ने कुराले फनक्क घुमायौ साथी
अहिले टाढा,धेरै टाढा पुगेको अवसर छोपेर होला
सम्बन्धका न्याना पल कति सजिलै गुमायौ साथी ।
२.
शंकाले लंका जलाउँछ रे संकुचित सोच पाल्नेलाई
चामल र भुसको अर्थ थाहा हुनुपर्छ नाग्लो चाल्नेलाई
विदेशको भूमिमा मन किन अनियन्त्रित तवरले चल्दो छ
निष्कर्ष निकालिन्छ यस्तै हुन्छ,दिउँसै बत्ती बाल्नेलाई ।
३.
बर्षाैं घाम पानी,झरी वर्षा, दिन रात भनिएन्
सुका मोहर,रुपैयाँ जति मिल्थ्यो हिसाबमा गनिएन
स्मृतिलाई अहिले एकान्तमा निचोर्दा हदैसम्म दुख्छ
समर्थन कहिल्यै भेटिएन प्रतिकारले डाम्दा खनिएन !







