काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् ।
परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । परीक्षामा सहभागी ४ हजार १६७ जना विद्यार्थीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरुमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण मा. वि. का १ जना, शिवपुरी मा. वि. का १ जना, विश्व निकेतन मा. वि. का ३ जना र रत्नराज्य मा. वि. का २ जना विद्यार्थी छन् । गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।
गएको वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना वढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका हुन् । उनीहरुमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना, २.० देखि २.४ जीपीए ल्याउने १४ जना छन् । यसमा गएको वर्ष क्रमशः ७७४ जना, १ हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ ।
गएको वर्ष ९७६ जना नटग्रेडेड थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् ।
परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सुक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्ने विद्यालयलाई नकारात्मक सूचीमा राखिने शिक्षा अधिकारी नमराज ढकालको भनाइ छ ।
विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट यो परिवर्तन आएको हो । शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार सिकाइप्रति विद्यार्थीहरुको रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रमले योगदान गरेको छ । यस कार्यक्रममा विद्यार्थीहरुले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको थियो ।
शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन विद्यार्थीको सिकाइ कमजोरी हुनुको मूल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाका आधारमा कक्षा सञ्चालन गरिएको थियो । शिक्षकको दक्षता अभिवृद्धि गर्न शिक्षक तालिम सञ्चालन गरिएको छ । स्मार्ट कक्षा कोठामा अध्ययन गर्न साधन उपकरण र पूर्वाधार थपिएको छ ।
शैक्षिक क्रियाकलाप सँगसँगै खुला, अतिरिक्त र बहुआयमिक विद्यार्थी केन्द्रित क्रियाकलापका साथमा गरिएका अभ्यासले शैक्षिक नतिजामा वृद्धि गरेको छ । ं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।