
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका गएका थिए । त्यहाँ रहँदा उनले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । भ्रमणकै क्रममा विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग–अलग भेटवार्ता गरेका थिए । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए ।



