
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । बिहीबारदेखि शुभारम्भ भएको १९ औँ नगरसभामा नगर प्रमुख धनराज आचार्यले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
महानगरले शहरी योजना, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरण तथा यान्त्रीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, शैक्षिक सुधार, स्वास्थ्यमा नागरिकको पहुँच विस्तार लगायत नीतिलाई प्राथमिकता दिएको छ । वर्षभरि अभियानका रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी ३३ वटा नयाँ अभियानहरू समेत सभामा प्रस्तुत गरिएको छ ।
नगर प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरालाई समुन्नत, हरित, प्रविधिमैत्री र पर्यटकीय राजधानीका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यलाई मुख्य आधार बनाइएको छ।
विगत कार्यकालको समीक्षा गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा, भ्रमण वर्ष सफल कार्यान्वयन, तथा पूर्वाधार र शहरी योजना क्षेत्रमा प्राप्त उपलब्धिलाई महत्वपूर्ण उपलब्धि रूपमा उल्लेख गरिएको छ । त्यस्तै फेवाताल संरक्षण, सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान र नदी–खोला संरक्षणलाई निरन्तर प्राथमिकतामा राखिएको छ । फेवातालको सीमांकन कार्य सम्पन्न भई हजारौँ सीमा स्तम्भ गाडिएको, मध्यवर्ती क्षेत्र निर्धारण गरिएको र ताल संरक्षणका लागि विस्तृत अध्ययन अघि बढाइएको नीति कार्यक्रममा उल्लेख छ। त्यस्तै, फिर्केखोला करिडोरलाई हरित र खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ।
महानगरले वडा कार्यालयलाई विकासको केन्द्रका रूपमा सुदृढ बनाउँदै सेवा प्रवाहलाई छिटो र सरल बनाएको उल्लेख गर्दै आगामी वर्षदेखि सबै सेवा अझ डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य राखिएको छ। एकद्वार सेवा प्रणाली विस्तार गर्दै महानगरको प्रमुख प्रशासनिक भवन निर्माण सुरु गर्ने योजना पनि समावेश छ।
विकास साझेदारहरूको सहयोगमा सडक, बसपार्क, फोहोर व्यवस्थापन केन्द्र, जल प्रशोधन तथा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजनाहरू अगाडि बढाइने भएको छ। सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँदै हरित यातायात प्रणाली विकास गर्ने लक्ष्य पनि राखिएको छ।
शिक्षा क्षेत्रमा प्रारम्भिक बाल विकासदेखि प्राविधिक शिक्षासम्म गुणस्तर सुधार, शिक्षक क्षमता विकास, र रोजगारीसँग जोडिएको प्राविधिक शिक्षा विस्तार गर्ने नीति ल्याइएको छ। फरक क्षमता भएका बालबालिकाका लागि स्रोत कक्षाहरू विस्तार र विद्यालयमा सूचना प्रविधिको प्रयोग बढाइनेछ।
स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने, डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने र स्वास्थ्य बिमालाई सबै घरधुरीसम्म विस्तार गर्ने योजना समावेश गरिएको छ। आयुर्वेद र वैकल्पिक चिकित्सा पनि विस्तार गरिनेछ।
सामाजिक क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायलाई लक्षित कार्यक्रममार्फत सशक्तीकरण गर्ने नीति लिइएको छ। सुरक्षित आवास, श्रम डेस्क स्थापना र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।
आर्थिक विकासतर्फ कृषि उत्पादन वृद्धि, पशुपालन सुधार, बजार पहुँच विस्तार, सहकारी सुदृढीकरण र स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने योजना समावेश छ। युवालाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने, वैदेशिक रोजगारीमा निर्भरता घटाउने नीति पनि अघि सारिएको छ।
पर्यटनलाई मुख्य आधार बनाउँदै पोखरालाई साहसिक, सांस्कृतिक र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय कार्यक्रम, खेलकुद प्रतियोगिता र लगानी सम्मेलनमार्फत पोखराको पहिचान विस्तार गर्ने योजना छ।
सहरी पूर्वाधारतर्फ सडक विस्तार, बसपार्क निर्माण, रिङरोड विकास, फोहोर व्यवस्थापन, नदी करिडोर र ताल संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ। वातावरण संरक्षणका लागि वृक्षारोपण, कार्बन न्यूनीकरण र हरित शहर अभियानलाई निरन्तरता दिइनेछ।
राजस्व प्रणालीलाई प्रविधिमैत्री बनाउँदै कर संकलनलाई सरल, पारदर्शी र डिजिटल बनाउने नीति लिइएको छ। सम्पत्ति कर, विज्ञापन कर र सेवा करलाई व्यवस्थित गर्दै राजस्व दायरा विस्तार गरिनेछ।
यसैगरी नगरसभामा नागरिक सहभागितामा आधारित धेरै अभियान पनि घोषणा गरिएको छ। हरित शहर, सफा टोल, सुरक्षित शहर, पैदलमैत्री सडक, प्लास्टिक नियन्त्रण, सडक अनुशासन, सफा सार्वजनिक शौचालय, उज्यालो शहर, नागरिक सरसफाइ सहभागिता, र पर्यटक–मैत्री व्यवहारजस्ता अभियानहरू सञ्चालन गरिनेछ।
समग्रमा, आगामी नीति तथा कार्यक्रमले पोखरालाई व्यवस्थित, हरित, सुरक्षित र आधुनिक पर्यटकीय शहरका रूपमा विकास गर्ने स्पष्ट दिशानिर्देश दिएको छ।
त्यस्तै आज बस्ने नगर सभामा उपप्रमुख मन्जुदेवी गुरुङले महानगरपालिकाको वार्षिक विकास कार्यक्रमका लागि विनियोजन बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कायर्क्रम रहेको छ ।


