
काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित मोरक्कोले भोलि बिहान स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ३: ४५ बजेदेखि शुरु हुदैछ ।
पहिलो खेलमा ब्राजिलसँग १-१ को बराबरी खेलेको मोरक्को दोस्रो खेलमा जित निकाल्दै समूहको नेतृत्व लिन चाहन्छ । यता, स्कटल्यान्डले हाइटीलाई १-० ले हराउँदै शीर्ष स्थान कब्जा गरेको छ ।
हाइटीविरुद्ध स्कटल्यान्डका कप्तान जोन म्याकगिनले २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। प्रशिक्षक स्टिभ क्लार्कको टोली अहिले लगातार दोस्रो जित निकालेर नकआउट चरण नजिक पुग्ने लक्ष्यमा छ ।
स्कटल्यान्ड पछिल्ला ११ प्रतिस्पर्धात्मक खेलमध्ये आठमा विजयी भएको छ भने एक खेल बराबरी र दुई खेलमा पराजित भएको छ। यस अवधिमा उसलाई ग्रीसले मात्रै दुई पटक हराएको थियो ।
यता, मोरक्को भने ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शनका बाबजुद बराबरीमा रोकिएको थियो । इस्माइल साइबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ब्राजिलका भिनिसियस जुनियरले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ब्राजिलविरुद्ध मोरक्कोले खेलको अधिकांश समय नियन्त्रणमा राख्दै विपक्षी क्षेत्रमा १२३ सफल पास पूरा गरेको थियो, जुन समूह ‘सी’ कै सबैभन्दा धेरै हो ।
साइबारी, ब्राहिम डियाज, अश्रफ हाकिमी, नुसैर मजराउई र अयुब बुआद्दी जस्ता खेलाडीको उपस्थितिले मोरक्को अब कमजोर टोलीको परिचयबाट बाहिरिएर उपाधि दाबेदारका रूपमा स्थापित भएको छ । मोरक्को विश्वकपको समूह चरणमा लगातार पाँच खेलदेखि अपराजित छ। यससँगै उसले अफ्रिकी टोलीले बनाएको लामो अपराजित यात्राको कीर्तिमान बराबरी गरेको छ ।
स्कटल्यान्डका लागि कप्तान म्याकगिन प्रमुख खेलाडीका रूपमा रहनेछन् । उनले क्लार्कको प्रशिक्षणमा हालसम्म २१ गोल गरिसकेका छन्, जुन एउटै प्रशिक्षकअन्तर्गत स्कटल्यान्डका खेलाडीले गरेको संयुक्त सर्वाधिक गोल हो । यता, मोरक्कोका कप्तान हाकिमीले ब्राजिलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सबैभन्दा धेरै ट्याकल, द्वन्द्व जित र अवसर सिर्जना गर्ने खेलाडीमध्ये आफूलाई स्थापित गरेका थिए ।
यस खेलले नकआउट चरणमा को पुग्ने भन्ने निर्धारण गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धा मानिएको छ।
यी दुई टोलीबीच विश्वकपमा यसअघि एक पटक मात्रै भेट भएको थियो । सन् १९९८ मा भएको उक्त खेलमा मोरक्कोले स्कटल्यान्डलाई ३-० ले पराजित गरेको थियो ।







