परोक्ष वा अपरोक्ष रूपले बुद्ध धर्मलाई प्रभाव पार्ला भनी राजाहरूको नैतिक सोचप्रति संधै सजग रहने तथा कुनै सिद्धान्तलाई सफल पार्ने भए, देशका समृद्धवर्ग, शासकवर्ग एवं धनीमानी वर्ग सँग तक्कर पर्ने कुनै पनि कडा काम गर्नुहुँदैन भन्ने बुद्धको विचार थियो । भगवान्ले आफ्नो कार्य क्षेत्र भारतमा धर्म प्रचार गरिरहेका बेला एकातिर कौशल राजा प्रसेनजितसँग सद्भाव राख्नुपरेको थिए भने विश्वप्रसिद्ध लिच्छवी राजा र मगधका राजा बिम्बसार, उज्जैनका राजा प्रद्योतसँग पनि सद् भाव कायम राखी अघि बढ्नु नै थियो । यही ऐतिहासिक तथ्यलाई मनन गरी शान्ति र सह-अस्तित्व, भ्रातृत्वको सम्बर्धन हेतु अकुशल कार्यको दतेर विरोध गरे पनि मेल मिलापलाई कहिल्यै विरोध गर्न जानेनन् बुद्धधर्मका अनुयायिहरूले ।
लिच्छविकालको आरम्भ भन्दा अघि नै नेपाल प्रवेश गरेका बुद्ध धर्मले अनेकौं राजाहरूको उत्तारचढावका साथसाथै आफ्नो धर्मप्रति भए गरेको रूचि, अरूचि, विभेद पनि बुद्ध अनुयायीले धेरै अनुभव गरेका कुराहरू इतिहासले बताउने गर्छन् ।
मानदेव, शिवदेव, अंशुवर्मा, नरेन्द्र देव जस्ता राजाहरूले शिव, विष्णु, बुद्ध, शाक्त आदि सबै सम्प्रदायलाई त्यतिकै माया गरेर कुनै भेदभाव गरेनन् । यतिबेला जनतालाई निर्धक्कसँग आफूलाई मनपरेको धर्म रोज्ने स्वतन्त्रता थिए । तर धर्मसंकर नहोस् भन्ने हेतुले जातअनुसारको पेशा नछोडोस् भनी कडा नियम लागु गर्नु लिच्छविकालका शासकहरूको, बुद्धिमतापूर्ण सोच थियो । यसरी धर्म निरपेक्ष भएपनि बुद्धधर्मको ‘बुद्धो भवेयम् जगतो हितायको’ लक्ष्य विपरीत तत्कालीन राजाहरूले भारतको प्रयागबाट भैरव आव्हान गरी पंचगोड र पंचद्राविड ब्राम्हणहरूद्वारा भैरव स्थापना गराउँदा भैरव खुशी पार्न बौद्ध तान्त्रिक आचार्यहरूलाई प्रति वर्ष बाध्य गरी मांसाहूति यज्ञ गराइएका कुरा संक्षिप्त वंशावलीमा उल्लेख छ । त्यस्तै लिच्छवि राजा शिवदेवको पालामा वत्सला देवी पीठमा पनि नर बलि जस्तो जघन्य वलि कार्य पनि वैदिक ब्राम्हणहरूको सम्मतिमा हुने गर्छन् भन्ने कुरा पनि उल्लेख छन् । तर पछि राजा अंशुवर्माले यस्तो कष्टकर नर बलिकार्यलाई निरुत्साहित गरी केवल छाग (बोका) बलि दिइ सम्पन्न गरियो । परापूर्व काल देखिने चतुर वैदिक ब्राम्हणहरू राजाहरूलाई हातमा लिइ धर्म अधर्मको विचारै नगरी बलि कार्यलाई समाजमा चलाउनुमा आफ्नो वैदिक धर्मको विशेषता सम्झन्थे । ती ब्राम्हणहरूको यही सोचले दिक्क मानेको एक जना बौद्ध सिद्ध तान्त्रिकले धेरै धेरै वर्ष अगाडि वैदिकहरूलाई यस्तो प्रश्न गरेका थिए
यूपं छित्वा पशुं हत्वा कृत्वा रूघिरकर्दमम् ।
यद्वेवं गम्येते स्वर्गो नरकः केन गम्येते ॥
भावार्थः यदि यसरी मौलो गाडेर पशुलाई मारी बलि दिई रगतको खोला बगाएर स्वर्ग गइन्छ भन्ने नरक जाने बाटो कुन होला ? यसरी वैदिक ब्राम्हणहरूका प्रभावमा प्राणीबलि जस्तो भयंकर पाप कार्य नेपालमा पनि चलि आएका थिए । वैदिक ब्राम्हणहरूलाई उत्तिबेलैदेखि बुद्ध धर्म आँखाका कसिंगर थिए । यदि प्राणी बलि नै दिनु छ भने माँसाहूति पञ्चशीलका अनुयायी वज्राचार्यलाई किन गराइनुपयो । यिनीहरूले आफैले अघिसरी गरे त भैहाल्थ्यो नि भन्ने प्रश्न हाम्रो मनमा खडा हुन्छ । वास्तवमा बुद्धको पञ्चशीललाई खलबलाईदिने उनीहरूको मुख्य ध्येय हो भन्दा शायदै अधर्म होला ।
क. तुलजा भवानी र दोय (तिरहूते) राजाहरू
दोय राजा नान्यदेवले सपनामा तुलजा देवीले सिमरोन गढमा गई राज्य स्थापना गर भनी आज्ञा भए अनुसार तुलजा भवानी स्थापना गरी सिमरोनगढलाई आफ्नो राज्यस्थल बनाएका थिए । तुलजा देवीको यन्त्र मन्त्र र तन्त्रमा श्रद्धा गरे अनुरूप यिनलाई धेरै सफलता पनि मिल्दै आएका थिए । यता उपत्यकामा पनि अधिकार जमाउने लालसा पनि बढ्न लागेका थिए । यिनकै पांचौ पुस्ताका राजा हरिसिंहदेवले पनि राम्रै प्रगति गर्दै आएका थिए । तर एक दिन दिल्लीका मुसलमान राजा सिमरोन गढको बाटो भई दिल्लीतिर जानलाग्दा हरिसिंहदेवले लौ वित्यास भयो मुशलमान राजाले हामीकहाँ हमला गर्न आए भनि सोचि मुशलमान राजासँग लड्न जाँदा टिक्न नसकी भागेर नेपालभित्र आएका थिए । त्यही राती उनका इष्टदेव तुलजा भवानीले मलाई कान्तिपुर लगेर स्थापना गर भनी सपनामा आज्ञा भए । सोहि आज्ञा बमोजिम राजा हरिसिंहदेव जंगलको बाटो गरी कान्तिपुरतिर लाग्दै थिए । तर राती बास बसेको ठाउँमा सपनामा तुलजादेवीले मलाई यत्तिका दिन भो नित्यपूजा नगरेको, ल अहिले उठेर जंगलतिर जाउ, जो भेट्छ सोहि प्राणी मलाई बलि देउ भनि सपनामा आज्ञा भए । हुन पनि हो तुलजा भवानीलाई नित्यपूजा नगरेको धेरै भयो भनेर सोच्दै राजा हरिसिंह देव विहानीपख उठेर यताउती जंगलमा हेर्दा अजंगको जंगली अर्ना भेटाएछ । अर्ना समाति ल्याए । तर बलि दिन अर्ना काटने मान्छे को होला ? भनी हेर्दा एउटा ज्यापू दक्षिण दिशातिर दिसा गर्न लागेको देखे । उसैलाई फकाई फुल्याइ बलि दिन लगायो । तदनन्तर सोहि बुद्धमार्गी ज्यापू खड्गले अर्ना मारेकोले हरसिंहदेवले उनको जात खड्गी राखी दिए । एवं प्रकारले फेरि देवीलाई भोग प्रसाद चढाउन त्यो अर्नाको मासु पकाउने व्यक्तिको आवश्यकता भयो । यसपालि पनि हरिसिंहदेवले खेतमा काम गरिरहेको एउटा बुद्धमार्गी ज्यापुलाई धम्काई मासु पकाउन दिए । यसरी पकाउने काम गरेवापत उक्त ज्यापूलाई तं अव उप्रान्त सुवाल भइस भनी ज्यापुबाट सुवाल बनाइदिए ।
एवं प्रकारले नेपालीहरूले आफुहरूले पहिला कहिल्यै नखाएको अर्ना (रांगो) को मासुको प्रवेशका साथसाथै दोय राजा हरसिंहदेवको तजविजमा हाम्रो बुद्ध जन्मभूमिमा तुलजा भवानी, दोयहरूको अर्को इष्टदेवी डोमाजु (द्विमाजु) देवी र सुवाल, खड्गी, रंजित, ब्राम्हण, नेवार आचार्य ‘ (शाक्तहरू) र वैश्य, तेली, यी सात जातको पनि प्रवेश भयो । उक्त समय भक्तपुरमा नेपाल सम्वत् ४४४ मा राजा रूद्र मल्लको राज्यकाल थिए ।
अतः राजा रूद्रमल्लकी रानी हरिसिंहदेवकी बहिनी भएको नाताले र राजारुद्रमल्ल निसन्तान भएकाले हरिसिंहदेवलाई भक्तपुर दरबारमा निर्धक्क प्रवेश गर्न सजिलो हुनु स्वाभाविकै छ । तुलजा भवानीको स्थापना र प्रतिष्ठा राजाहरूको सहमतिमा भक्तपुर दरबारमै सबभन्दा पहिले भए ।
तर डोयहरूको इष्टदेवी द्विमाजु देवी भने हालसम्म पनि वीर हस्पिटलको सामुन्ने टुंडिखेल क्षेत्रमा प्रतिष्ठित छिन् । हरेक नव वर्ष वैशाख १ गतेको दिनमा अद्यापि त्यहाँ मेला लाग्ने गर्छ ।
यसरी हरिसिंहदेवले भक्तपुर दरबारभित्र तुलजा भवानीको स्थापना गरेसँगै प्रतिवर्ष सयौं संख्यामा रांगो बलि दिने प्रथाले अत्यधिक मासु प्रयोग भैरहेको समयमा एक जना चतुर सोमदत्त भन्ने मैथली ब्राम्हण आई महीष ( रांगो ) मासु भोग गर्ने व्यक्तिले जनाहि लगाउने अधिकार छैन । संसारमा यस्तो प्रचलन कहीं पनि छैन भनी नेवारहरूलाई की जनाई छोड कि रांगाको मासु भोग गर्न छोड भनी बाध्य गर्न थाले । विचरा नेवारहरूहले देवताको प्रसाद मासु कसरी छोडौं ? देवतालाई बलि चढाउनु हुन्छ भने किन हामीले खानु नहुने भन्ने मनमनै प्रश्न गरी जनाइ त्याग गरे । यसरी मारकाट गरी तुलजा देवीलाई खुशी पार्ने बलिका नाममा उन्मत संस्कृति लाड्ने यी चतुर वैदिक ब्राम्हणहरूले विभेदपूर्ण समाज निर्माण गर्नुमा राजा तथा प्रजा सबैलाई बाध्य बनाइएको कुरा केशर पुस्तकालयमा रहेको संक्षिप्त वंशावलीमा उल्लेख छ ।
ख. मानवकुमारीको शुरूवात
एवं रितले मल्ल राजाहरूले तुलजा आव्हान गरी त्रिपाशा खेली संकटको बेला सल्लाह सुझाव देवीसँग लिई बसेको धेरै पुस्ता भइसकेको थियो । तर एक बखत एकजना अशिक्षितले चालपाई विध्न हुँदा तुलजा लोप भएर गए । तर राजा अति दुखी भइ विलाप गरी बस्दा तुलजादेवी प्रसन्न भई आज्ञा भइन्- राजन । अब तिम्रो अगाडि प्रत्यक्ष हुनेछैन । तिमीलाई केही गरी मेरो सल्लाह चाहियो भने तिमिले मलाई डाक म अन्त्य जातिकी कुमारीमा प्रवेश भई
तिमीलाई जो चाहिने सल्लाह दिउँला भनीन् । त्यही अनुसार भक्तपुरमा मानव कुमारी जगाउने वा प्रतिष्ठा गर्ने प्रथाको सुरुवात भए । त्यसको सीको गरी काठमाडौमा पनि मानव कुमारीको प्रतिष्ठा भएको देखिन्छ । जयप्रकाश मल्लले मानवकुमारीको प्रतिष्ठाका साथसाथै मानव गणेश र भैरवको स्थापना गरी कुमारीको रथ जात्रा पनि चलाए ।,
ग. काष्ठमण्डपमा तुलजा भवानी र रागा बलि
सूर्यवंशी राजा महेन्द्रमल्ल नित्य भक्तपुर गई तुलजा भवानीको पूजा एवं दर्शन नित्य कर्मका रूपमा गरिआएका थिए एकदिन तुलजा भवानी प्रसन्न भई सपनामा भनिन्- ‘हे राजा तिमी यहाँसम्म आउनुपर्दैन, किन कष्ट गर्छौं ? अघि राजा रत्नमल्लको पालामा काठमाडौँमा मलाई जहाँ स्थापना गरेको हो सोहि ठाउँमा भक्तपुर देखिने गरी उच्च यन्त्राकार देवालय बनाउनु र मलाई त्यहींबाट आव्हान गर, म आउंला भनी आज्ञा भए । देवीका कुरा सुनी राजा महेन्द्रमल्ल अत्यन्त खुशी भई कालीगढहरूलाई देवालय बनाउन लगाए तर दिन भरमा बनाएको मन्दिर रातभरमा भट्काई विगारी राख्ने हुँदा कालिगढ तथा राजा दुबै थकित र आजित भए किन के कारणले यसो भयो विचार गर्दा त्यहा नजिकै रहेको तारणीदेवी आफ्नो स्थान भन्दा उच्चा गरी तुलजा देवीको देवालय बनाउन लागेकोले रिसाएर यस्तो विघ्न भएको हो भन्ने थाहा पाए । ती तारणीदेवीलाई २१ गजूर र ३६० वटा रांगाको बलि चढाउँला भनी भाकल गरेपछि तारणीदेवीले विध्न गर्न छोड्यो । निर्विध्नसँग वास्तुक्रमले तन्त्रोक यन्त्राकार सुन्दर मन्दिर सिद्ध गरी पाँचवटा गजूर चढाई नेपाल सम्वत् ६८४ सालमा कोटयाहुति यज्ञ गरी प्रतिष्ठा गर्दा तुलजा भवानी भ्रमर रूप लिई आई देवालयभित्र प्रवेश गरे भन्ने जनश्रुति छ । यसरी कर्नाटकवंशी डोय ( तिरहुते ) राजाको प्रचलन अनुसार वर्षेनि सयौं रागांहरूको भोग दिने कुप्रथा नेपालमा भित्रेको र चलन चलेको देखिन्छ । हाल सम्म पनि त्यही अनुसार दशांइमा तुलजा भवानीलाई सयौं रांगो बलि दिने प्रचलन अद्यापि चलिआइरहेको पाइन्छ ।
यसरी तुलजा भवानी काठमाडौँमा प्रवेश भएपछि पहिलाका राजाहरूमा जस्तै अलेखनी मन्त्र राजगद्दीमा बस्ने राजाले मात्र पाउने स्थिति चलिनै रहेका थिए । सानो देश नेपालमा लिच्छिवी कालमा पनि यहाँ खासै शान्ति छ भन्न मिल्दैन । राज्य सत्ताका लागि संधै दाउपेच खीचातानी भइरहन्छ । लिच्छवीकालमा एकल शासन भन्दा द्वेतशासन बढी चलेका कुराहरू इतिहासको अध्ययनबाट अवगत हुन आउँछ । गद्दिनसीन राजाहरूको कमजोडि र दाँया बाँयाकाले उक्साउने जस्ता क्रियाकलापले पनि राज्यहरू झन क्षीण भएर बाहिरी शक्तिलाई सहयोगका आशाले आफ्नो देश भित्र बोलाउने आदि काम भएको इतिहासहरू पनि छन् । विशेष गरेर मल्लकालमा यस्तो घटनाहरू धेरै घटेको महसुस हुन्छ । फेरि बाहिरी देशको केटीहरूसँग मल्ल राजाहरूको वैवाहिक सम्बन्धले पनि केही धर्म परम्परा पनि उनीहरूसँगै आयात हुने गरेको देखिन्छ । यस्तै परिस्थितिमा नान्यदेव र उनका वंशजहरूले तुलजा भवानी भक्तपुर दरबार भित्रै स्थापना गर्ने सो अवसर पाए भने उनीहरूका कुलदेवी द्विमाजु कान्तिपुरको टुँडिखेलमा स्थापना गरियो । यतिमात्र होइन, यी देवदेवीहरूको साथसाथै सानो तीनो होइन विभत्सरूपले प्राणी बलि दिने प्रथा पनि भित्रिए । देवीलाई यस्ता विभत्स बलि दिने प्रथा राज्य शक्ति र सधैं सर्वेसर्वा हुने अग्राधिकारको वरदान प्राप्तिका लागी नै हुने गर्दथे ।
राजदरबार भित्र स्थापित तुलजादेवीलाई मात्र होइन जनतालाई पनि शाक्त र वैदिक ब्राह्मणहरूको सल्लाहमा के बौद्ध ? के शैव ? के वैष्णैव ? समस्त जनतालाई दशांइमा गणेश भैरव आदि देवदेवीलाई पशुबलि दिनुपर्ने कडा उर्दि सुनाइयो । त्यही उर्दि शाह र राणा कालमा पनि लागु भइरहे । करूणामय श्री रक्त आर्यवलोकितेश्वरको रथको पांग्रालाई भैरव सम्झी बोका बलि दिने जघन्य कार्य पनि भएको छ । यसरी बलि दिँदा करूणामयलाई पर्दा हालि वहाँको सुदृष्टिले नदेखिने पनि गरिन्छ ।
घ. मल्लकालमा देवदेवी, पूजारी र प्राणी बलि
मल्लकालतिर नेपालमा कुमारी, भैरव तथा गुह्येश्वरी, भगवती आदि देवदेवीका पूजाहरू निकै मात्रामा बढेको पाइन्छ । हुँदाहुँदा पलाञ्चोक भगवती, शोभाभगवती, मनकामना भगवती, कालभैरव आदि शक्ति पीठमा तान्त्रिक पूजा सम्पन्न गर्न वजाचार्यहरूलाई नै पूजारीका रूपमा बस्न बाध्य गरिए । चाडवाडका बेला दिनमा हजारौ प्राणी बलि दिइने यी देव देवीका मन्दिरमा भगवान् बुद्ध एवं पञ्चशीलका अनुयायी यी वज्रमहायानीहरूलाई पुजारी भई बस्नुपर्ने के कस्ता बाध्यता आए होला यस्को लेखा जोखा हामीसँग छैन । तर ती निरिह वज्रमहायानी वज्राचार्यहरूले शून्यता (निःस्वभावता) को समाधिमा बसी कसरी धर्मसमन्वय र वर्ग समन्वयका खातिर जे जस्तो परिस्थितिलाई पनि आत्मसात गरेर बसेका होला भन्ने तर्क गर्ने ठाउँ छ ।
विशेष गरेर तत्कालीन मल्लहरूको राज्यकालमा मखन बहालका वज्राचार्यलाई काल भैरव, शोभाभगवती एवं पलाञ्चोक भगवती र स्वयम्भूको शान्तिपूरको प्रधान पूजारी आचार्यका रूपमा स्थापित गरिए भने पृथ्वीनारायण शाहको उदयका साथसाथै मनकामना भगवतीमा झ्वाबहालका वज्राचार्यहरूलाई पूजारी घोषित गरिएको रे भन्ने सुन्न पाइन्छ । तर सवल बहालको एक थरी वज्राचार्यहरूलाई भद्रकाली (लुमही अजिमा) देवीमा तः होम भन्ने रांगोको सिंगै टाउको होम गर्ने पूजा सुम्पियो । कङ्रेश्वरीमा पनि यस्तै रांगाको टाउको होम गरिनुपर्ने तः होम नामको यज्ञ भने केशचन्द्र पारावर्त महाविहारका वज्राचार्यहरूलाई सुम्पियो । साथै सवल बहालकै अर्को वज्राचार्य खलकलाई राजा प्रतापमल्लका पालामा कालभैरवका पूजारीका रूपमा स्थापित गरिएको पाइन्छ भने श्वेत भैरवको पूजारी मूलश्री महाविहारका तःमातं खलकलाई सुम्पेको देखिन्छ । यस्तै शक्ति पीठमध्ये बहूचर्चित स्वयं मञ्जुश्री भगवान्ले स्थापना गरिएकी र बहु मान्यता प्राप्त गुह्येश्वरी पीठमा भने शाक्त सम्प्रदायका कर्माचार्यहरूलाई पुजारी नियुक्त गरेको पाइन्छ ।
भद्रकाली (लुमरि अजिमाः) मा तः होम गरे जस्तै विष्णुमति अवस्थि
इन्द्रायणी देवीमा पनि ठकुरी राजाहरूको वंशजको रेखदेखमा गुठी संस्थानले बालाचतुर्दशीको राती सम्पूर्ण आर्थिक भार बहन गरी यज्ञ सम्पन्न गराउने प्रचलन पनि अद्यापि चलिरहेकै छ । सो यज्ञमा एक जोडी परेवा, एक जोडी भंगेरा, एक जोडी सर्प र एक जोडी फटेंग्रा गरी पाँच प्रकारका जीवहरूको आहुति गर्ने प्रचलन छ । सो यज्ञविधि अद्यापि ठकुरी वंशज शाक्तहरूले सम्पन्न गर्दै आएका छन् । यसरी अरू ठाउँमा पनि पञ्चशीलमा रहनुपर्ने वज्राचार्यहरूलाई तत्कालीन मल्ल राजाहरूले बाध्य गरी प्राणी बलियुक्त पुजा, होम गराउनुभन्दा शाक्त आचार्य, कर्माचार्य, राजोपाध्यायलाई नै किन गराएन होला भनी हाम्रो मनमा उत्सुकता जाग्नु नैसर्गिक नै छ । यसरी तत्कालीन मल्ल राजाहरूले नै विशेष गरेर वज्राचार्यहरूलाई मांस प्रयोग गर्न, प्राणी बलि दिन बाध्य पारेको तथ्य शाक्त र देवदेवीमा चलिआएका पूजाहरूबाट विदित हुन आउँछ ।