
फागुन २७, ध्यान अभ्यास सुरु गर्दा एकैपटक लामो समय बस्नुको सट्टा धेरैपटक छोटो-छोटो समय बस्नु महत्त्वपूर्ण हुन्छ। त्यसैले हामी छोटो समय ध्यान गर्छौं तर त्यसलाई स्पष्टता र तीक्ष्णताका साथ गर्छौं। त्यसपछि त्यसलाई रोक्छौं र विश्राम गरेर अलि समय पछि अर्को ध्यान-सत्र गर्छौं। यसरी प्रत्येक सत्र छोटो, गहन र स्पष्ट हुन्छ र अनुभव पनि सुखद हुन्छ। एकैपटक धेरै लामो समयसम्म ध्यान गर्न बल गर्दा थकाइ लाग्ने हुन्छ। ध्यानलाई थकानसँग जोडिने अनुभूति बनाउनु उपयोगी हुँदैन। यही कारणले सुरुमा छोटा-छोटा सत्रहरू गर्नु उचित हुन्छ। अर्को कुरा, यदि ध्यान सुखद अनुभूति बन्यो भने हामी फेरि ध्यानमा बस्न उत्साही हुन्छौं। थोरै समय बस्दा पनि स्पष्टता र तीक्ष्णताको अनुभव हुन्छ भने हामी त्यसको मूल्य बुझ्छौं र त्यसलाई अझ परिपक्व बनाउन बारम्बार अभ्यास गर्न चाहन्छौं।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ९८ बाट







