क. शाक्य वंश र यक्षदेवतालाई मांस अर्पण
महायान, वजयानबुद्ध दर्शनका धर्म संस्कृति पनि कम अनौठोको छैन । हिंसा जस्तो जघन्य अपराधबाट आफ्ना सन्ततिलाई टाढा राख्न महांकाललाई आफ्नै मांस काटी चढाउने ललितपुरका एउटा बुद्धधर्मका सच्चा अनुयायी शाक्य वंशको कुरा पनि यहाँ उल्लेख गर्नु उपयुक्त ठान्दछु । ललितपुर सोवहाल निवासी शाक्यकुलका वज्रयानी बौद्धहरूले अक्षोभ्य तथागत कुलका किङ्कर (नोकर) मानिने विघ्न विनाशक तथा बुद्धधर्मका रक्षक देवता भनी मानिआएको अक्षोभ्य मुकुटी, वज्रवीर महांकाल देवतालाई महानवमी अर्थात् मोहनिःशेष गरी त्याग गर्ने पर्व मोहनिको नवौं दिन महानवमीमा हिंसाबाट बच्न आफ्नै छातिको सानो टुक्रा मासु काटी अद्यापि वज्रवीर महांकाललाई अर्पण गर्दै आइरहेको पाइन्छ । अत्यन्त क्षान्ति (सहनशक्ति) वीर्य (उत्साह) र त्यागपूर्ण यो क्रियाकलापलाई बुद्धधर्मको अशोभनीय पक्ष भनी हिंसा विरोधी बौद्धहरूले एक ताका टीका टीप्पणी र पेपर बाजी समेत गरी बेइज्जत गर्ने प्रयास गरेको सुनिन्छ ।
तर मलाई जहाँसम्म लाग्छ बुद्ध भगवान्का सच्चा अनुयायी भई बुद्धधर्म रक्षक अक्षोभ्य मुकुटी (मुकुटमा अक्षोभ्य तथागतको मूर्ति कुंडेको मुकुट लगाउने) महांकाललाई प्राणी हिंसाबाट बच्न आफ्नो श्रद्धाले आफ्नै मासु काटी अद्यापी अर्पण गर्ने परीपाटीलाई चलाइरहनु अत्यन्त तारीफ योग्य परम्परा हो । यक्ष यक्षिणीलाई यसरी आफ्नै मांस अर्पण गर्नुलाई अशोभनीय कर्म भनी टीका टीप्पणी गर्नु सुहाउँदैन बरू सच्चा अहिंसारत बौद्ध उपासक भनी स्वागत गर्नु उचित छ । सन्मान हुनुपर्छ, साधुवाद दिइनुपर्छ । उक्त ललितपुरका शाक्य वंशलाई सच्चा महायानी भनेर तारिफ गरिनुपर्छ ।
बुद्ध भगवान्का समयमा एक थरी अत्यन्त बलिया तथा पुड्को जीउदालका रुखका हाँगा तथा टोड्कामा काठको फलेक वा हाँगाबिंगा विछ्याइ छाप्रो जस्तो घर बनाई बस्ने यक्ष भनिने एक प्राणी विशेषको उल्लेख छ । उनीहरू बस्ने त्यस प्रकारको घरलाई विमान भनिन्छ त्यही पुरातन विमानका प्रतिकृतिका रूपमा विमान ब्बएंगु भनी अद्यापि काठमाडौको विविध टोल र सहरमा इन्द्रजात्राका बेला काठको चारवटा खम्बा गाडी काठको फलेक विछाइ त्यसमाथि इन्द्रराज ( इन्द्र देवता) आजु यः (आकाश भैरव, श्वेत भैरव) आदि देवता प्रदर्शन गर्ने परम्परा अद्यापि नेवार समुदायले चलाउँदै आइरहेका छन् । अतः यी भैरवहरू पनि वस्तुत यी नै यक्ष समुदायकै प्राणी हुन् की भन्ने विचार उठ्नु स्वाभाविक छ ।
ख. केशचन्द्र पारावर्त (इतुंबहाल ) र मांसभक्षी यक्ष
इतुं बहालको एतिहासिक पुरातन कथामा पनि गुरुमापा नामको अत्यन्त बलिया प्राणीलाई केश चन्द्र भन्ने उक्त विहारका एक जना जुवाडी निवासीले सुन बोकाएर ल्याएको कथा छ । उक्त गुरुमापा भनीने सुन बोकेर ल्याउने यक्षलाई पिशाच चतुर्दशी ( पाहाँ चहे) का दिन भात, मासु आदि परिकार बोकेर लगी टुँडीखेलको चौरमा भात खन्याइ दिइ गुरूमापा (यक्ष) लाई खुवाउने प्रचलन छ । सो गुठी गुरुमापाको स्मृतिमा अद्यापि चलिरहेकै छ ।
वस्तुतः भगवान् बुद्ध स्वयंले पनि आफू कहाँ प्रवज्या लिन आउने शिष्यहरूलाई तिमी को हौ ? नाग हौ कि, यक्ष हौ ? भनी सोधेर नाग जाति र हिंस्रक मांसभक्षी यक्ष यक्षीणी जातिलाई प्रवज्या नदिने नीति बनाउनु भएबाट पनि त्यतिबेला सम्म यक्ष यक्षणीहरू यस धरातलमा अवश्य विद्यमान थिए होला भन्ने परिकल्पना गर्न सकिन्छ । शायद हाम्रा हिमाली भेगमा यदा कदा देखिए, भेट्टिए भनीने प्राणी “यति’ पनि यही यक्ष यक्षिनीकै प्रजाति हुन्की ? विचारणीय छ । बढ् दो शहरीकरण र वन जंगलको द्रूत एवं तीव्र फदानीबाट त्यस प्रकारका
ग. नेवार संस्कृतिमा यक्ष र बलि
त्यस्तै गथेमुगल ( गथांमुग ) भनिने आषाढ महिनातिर सीनाज्या ( धान रोपाइ ) का बेला कृषकहरूको शरीरभित्र अदृश्य शक्तिका रूपमा प्रवेश गरी उनीहरूलाई सीना ज्या अर्थात् मरी मरी, सकी नसकी वर्ष भरिका लागी बालि रोपी अन्न उत्पादन गर्ने बेला यी यक्ष यक्षिणीहरूले सहयोग गर्दथे भन्ने जनश्रुति छ । अनि धान रोपाइका काम सकेपछि समस्त कृषक वर्गहरू सीना ज्याः व्यंके अर्थात् धान रोपाईको शुद्धिकरण गर्ने भनी घर घरमा सफा सुग्घर गरी लिप्पोट देखि लिएर नुहाइ धुवाई समेत गरी गथेमुगलका दिन अदृश्य रूपले आफ्नो शरीरमा प्रवेश गरी सहयोग गर्ने यक्ष यक्षिणीहरूलाई यहाँबाट अब तपाईहरू बिदा हुनुहोस भनी पालाभरी भात अथवा भिजाएको च्यूरा भरी त्यसमाथि काँचो मासु, बेसार, लसून, छ्यापी, मेथी गेडा, कालो भटमास राखिन्छ र त्यसपछि त्यो भातमा करविर आदि चार पाँच प्रकारका बुटीहरूको ससानो हांगा घुसारी रातो अविर, केशरी, अक्षता आदिले पूजा गरी अन्तमा सिन्कामा कपडा बेरी बालेको मसाल जस्तो वस्तु त्यही भातको भिगुंट वा पालामा ठड्याई बाहिर चौबाटोमा र घरको बाहिर मूल ढोका अगाडि राखिदिने प्रचलन छ ।
केही गरी यी यक्षहरू (भूत) लाई यसरी पन्छाएन भने हाम्रै देह वा घरमा बसी हामीलाई नै बाधा दिन्छ भन्ने विचारधारा किसान वर्गमा मात्र होइन समस्त नेवारहरूमा रहिआएको छ । तर हाल स्थविरवादी भन्तेहरू, ब्रम्हकुमारीहरू र क्रिश्चीयनहरूको प्रभावमा परेका तथा रिति स्थिति परम्परालाई झन्झट थान्ने बौद्ध समुदायले यस्ता संस्कृतिलाई छोड्दै गएको पाइन्छ । प्रायः धेरैले गथेमुगल, सिथीनखः आदि चाडवाड पनि मान्न छोडीसकेको पाइन्छ ।
बुद्ध भगवान्लाई महामानवका रूपमा प्रस्तुत गरेको मात्र हेर्न चाहने एकथरी बौद्ध समुदायलाई यस प्रकारका हाम्रा संस्कृति एवं मान्यता पूर्वजन्म, पुर्नजन्म र ऋद्धि सिद्धिका सबै कुरा केवल टाइम पास जस्तो लाग्न थालेका छन् । संसार र प्रकृतिका कुरा आधुनिक विज्ञान र दर्शन भन्दा अत्यन्त माथिल्ला तहका र अकल्पनीय भएपनि यी कुराले मानिसलाई कयौ खराब कुराबाट पनि बचाइरहेका हुन्छन् । वस्तुतः भगवान बुद्ध पाँच प्रकारका ऋद्धियुक्त महामानव हुनुहुन्छ । ती ऋद्धि हुन्,, – ( १ ) संसारमा भई रहेको सम्पूर्ण कुराहरू एक एक गरी थाहा हुनु (२) पूर्व जन्मको ज्ञान हुनु (३) पुर्नजन्मको ज्ञान हुनु ( ४ ) वज्र चक्षु अर्थात दिव्य चक्षु र दिव्यश्रोत्र लाभ हुनु (५) माटोलाई सुन बनाउनु, आकाशमा उड्नु, पानीमा हिँड्नु आदि ऋद्धि प्रातिहार्य गरेर देखाउन सक्नु ।
यी ऋद्धि प्रातिहार्य आदिका कुरा स्थविरवादको जातक कथामा पनि प्रसष्ट उल्लेख गरिएको पाइन्छन् । जुन कुराको अध्ययनले पनि ऋद्धिसिद्धिका कुराहरू स्पष्ट ज्ञात हुन्छ । आफूलाई मनपरेको जति गुणलाई भगवान्को महान गुण भनी स्वागत गर्नु तर यस्तो ऋद्धि सिद्धि र जातक कथालाई नमान्दा भगवान् प्रति हामीले अन्याय गरेको सरह हुन सक्छ । वस्तुतः एक ब्राम्हणले भगवान्समक्ष आई तपाई को हुनुहुन्छ ? र तपाई देवता होकि ? यक्ष हो कि ? गन्धर्व हो कि ? वा मानव हो ? भनी प्रश्न गर्दा भगवान् बुद्धले यी कुनै पनि म होइन केवल म बुद्ध हुँ भनी जवाफ दिनुबाट बुद्ध भगवान् केवल महामानव मात्र त कुनै हालतमा पनि हुनुहुन्न, वहाँ महामानव भन्दा माथिल्लो श्रेणीको प्राणी हो भन्ने कुरा हामी महायानी/वज्रयानीहरूको लागी महान् गर्वका कुरा हुन् । वहाँ भगवान् बुद्धलाई हामी मानवहरूको समक्षकक्षमा मात्र उभ्याउने प्रयास गर्नुबाट भगवान् प्रति अश्रद्धा हुन जान सक्छ, यसमा द्विमत हुनुहुँदैन ।