
यो वर्ष विक्रमसंवत् २०८१ को केही दिन बाँकी भई अन्तअन्त तिर आइपुगेका छौं । त्यही भएर २०८१ लाई बिदा गरेर २०८२ को आगमनलाई स्वागत गर्न तिर उन्मुख छौं भन्न सकिन्छ । यो सबैले महसूस गरेकै कुरा हो । त्यस्तैगरि आगामी वर्षहरुमा २०८२ त्यसपछि २०८३ र २०८४ गर्दै नयाँ वर्षलाई स्वागत गर्दै जानु मात्रै ठूलो कुरो होइन । त्यसैगरि पछाडि फर्केर हेर्दा पनि सहज हुनु पर्दछ । तर विक्रमसंवत्मा त्यो सहजता छैन, द्विविधा मात्रै छ ।त्यो द्विविधा के मा हुन्छौं त भन्दा इतिहासतिर फर्केर हेर्ने बेलामा विक्रमसंवत्मा द्विविधा पर्दै आएका छन् । ताकि कुनैपनि गाडी वा मोटर जेसुकै होस् अगाडि बढाउन सकिने तर पछाडितिर हाँक्न मिल्दैन भने त्यो गाडी खराब छ त्यसमा चढ्यौं भने कुनदिन दूर्घटनामा पर्छौंपर्छौं भनेर त्यो गाडी अबिलम्व छोड्नैपर्ने हुन्छ । ठीक त्यस्तै किसिमको समस्या विक्रमसंवत्मा झेलीरहेको महसूस हुन्छ । यो कुरा कतिपयले महसूस गरेको देखिंदैन । केवल विक्रमसंवत्को अतिशयोक्ति तारिफ गरिएको मात्र देखिने गर्छ ।
किनभने इतिहास भनेको आगामी भविष्यको बारेमा लेखिने र चिन्तन गर्ने विषय नै होइन । त्यही भएर इतिहास भनेपछि जोसुकै होउन् उनीहरु पछाडि नै फर्केर हेर्छन् अगाडितिर होइन ।
अहिले नेपालसंवत् ११४५ चलीरहेको छ , यही नेपालसंवत्को ८८८ वर्ष चलीरहेको बखत गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर आफ्नो अधिनमा लिएको सबैलाई थाहा छ । यो भनेको ११४५ — ८८८ गर्दा २५७ वर्ष पछाडि फर्केर इतिहास हेरेको भन्नुपर्छ ।
अहिले विक्रमसंवत् २०८१ चली रहेको छ । यही विक्रमसंवत्बाट २५७ वर्ष पछाडि फर्केर हेर्ने हो भने त्यसबखत २०८१ — २५७ गरेर हेर्दा त्यसबखत विक्रमसंवत् १८२४ मात्र देखिन आउनु पर्नेमा यहाँ १८२५ भनेर मान्दै आइयो किन ?
नेपालसंवत् ८८८ मा मध्यकालको इतिहास अन्त भएर आधुनिक नेपालको इतिहास शुरु भएको र नेपालसंवत् शुरु भएदेखि नेपालको मध्यकालीन इतिहास शुरु भएको भने पछि ८८८ — ने.सं १ गर्दा ८८७ वर्ष कूल मध्यकाल वर्ष मानेको भयो ।
विक्रमसंवत् १८२५ देखि आधुनिक नेपालको इतिहास शुरु भएको मानेपछि १८२५ — ८८७ वर्ष गर्दा विक्रमसंवत् ९३८ मा नेपालसंवत् शुरुभएको देखापर्ने भयो तर नेपालसंवत्को शुरु त विक्रमसंवत् ९३६ कार्तिकमा भएको हो ९३८ कार्तिकमा भएको बिल्कुलै होइन । त्यसैले यहाँ विसङ्गति प्रत्यक्ष रुपले देखियो ।
त्यसकारण कुनैपनि गाडी अगाडि हाँक्न चाहीं हुने तर पछाडि हाँँक्न चाहीं मिल्दैन भने त्यो गाडी काम लाग्दैन र छोड्नु जाती हुन्छ भने झैं विक्रमसंवत् पनि पछाडि इतिहास तिर फर्कन नमिल्ने समस्या देखिएको हुनाले यसलाई जति सक्दो छिटो परित्याग गर्न उचित हुने देखिएको हो । यस्तै किसिमले विक्रमसंवत्को व्यवहार गर्दै आउँदा इतिहासको कालखण्डमा के कस्ता विसङ्गतिहरु देखा परेका थिए । यो लेखमा ती कुरा औंल्याउनु परेको हुनाले ती विसङ्गतिहरु माथि प्रकाश पार्नु अपरिहार्य देखिएको हो ।
१. पूर्णिमान्तमा आफनो अडान दिन नसक्ने विसङ्ंगति
अहिलेको पञ्चाङ्ग पात्रो पल्टाएर हेरियो भने विक्रमसंवत्को महिनामा कृष्णपक्ष अघि र शुक्लपक्ष पछि आउने गरिन्छ । पहिलो कृष्ण पक्ष एकदेखि पन्ध्र र दोस्रो शुक्लपक्ष १ र अन्तिम दिन पूर्णिमालाई ३० जनाइएको हुन्छ । यसरी पूर्णिमा मासको अन्तिम दिन मान्ने मानलाई पूर्णिमान्त मानिएको स्पष्टै छ । अरु जेजस्तो भए पनि विक्रमसंवत्को हेरफेर नहुने विशेषता र लक्षण भनेको पनि यही छ ।
त्यस्तै नेपालसंवत्को पात्रो हेरियो भने पहिले शुक्ल पक्ष त्यसपछि कृष्ण पक्ष आउँछ । शुक्ल पक्ष चाहीं विक्रमसंवत् र नेपालसंवत्को उही हुनेगर्छ तर नेपालसंवत्को कृष्णपक्ष र विक्रमसंवत्को कृष्ण पक्ष एउटै छैनन् । त्यो भनेको नेपालसंवत्को कार्तिक कृष्ण पक्षलाई विक्रमसंवत्को पात्रोले मंसिरकृष्ण पक्ष मानेको हुन्छ । यस्तै गरि नेपालसंवत्को हरेक महिनाको कृष्णपक्ष चाहिं (कार्तिक भए मंसिर) (मंसिर भए पौष) (पौष भए माघ) एव ंरितले दिइएको हुन्छ । त्यसकारण नेपालसंवत्को महिना औंसीमा अन्तहुने भएकोले नेपालसंवत्लाई अमान्तमान मानिएको छ । यो भयो तिथि अनुसारको शुक्ल पक्षबाट शुरु भएर औंसीमा अन्त हुनेलाई अमान्त र कृष्ण पक्षबाट शुरु भएर पूर्णिमामा अन्त हुनेलाई पूर्णिमान्त मानिएको स्पष्ट बुझिन्छ ।
तर गते अनुसार महिना शुरु हुने सौरमानमा पहिलोदिन संक्रान्ति भनिन्छ भने अन्तिमदिन याने मासको अन्तिम दिनलाई मासान्त अर्थात् मसान्त भन्ने गरिन्छ । नेपालको साँस्कृतिक परम्परामा चान्द्रमान मुख्य र सौरमान गौण मानिन्थ्यो भने अड्डा अदालत याने प्रशासनिक क्षेत्रमा सौरमान मुख्य र चान्द्रमान गौण मानिन्थ्यो । आखिरमा चाहे विक्रमसंवत्को सवालमा कुरा गरेपनि नेपालसंवत्को सवालमा कुरा गरेपनि ती दुवै चान्द्रसौरमान पात्रो मुताविक चल्दै आएको छ । कतिपय मान्छेको गलत बुझाइमा विक्रमसंवत् चाहिं सौरमानको र नेपालसंवत् चाहिं चान्द्रमानको ठान्दै आइरहेकाहरु पनि छन् । तर उनीहरुलाई अमान्तलाई पूर्णिमान्त र पूर्णिमान्तलाई अमान्त मान्दा सिद्धान्तमा के हानी पुग्छ भन्ने कुरा भने अहिलसम्म पनि छेउटुप्पो केही बुझेको देखिएको छैन ।
पूर्णिमान्त र अमान्तको बारेमा संशोधन मण्डलको निर्णय यस प्रकारको छ:
मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुँदा मल्लकालमा तिथि मितिको गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुँदा त्यस ताकाको गणना चाहीं पूर्णान्तमान अनुसार दिइएका छन् ।
तर यसमा पनि समस्या के देखियो त भन्दा आफनो निर्णयको लिहाज आफैले नगरेको उदाहरणहरु प्रशस्त देखियो । किनभने वि.सं १८२६ भनेको मल्लकालको समय होइन । यो सबैलाई थाहा भएकै कुरा हो यसलाई कुनै पिष्टपेषण गरिरहनु आवश्यक छैन । त्यसो भएपछि अमान्तमानले पौषकृष्ण पञ्चमी भनेर श्री महेशराज पन्तको हालै प्रकाशित “पृथ्वीनारायण शाह,नायक,प्रतिनायक अनि नायकदेशीय” नामक पुस्तकको पृष्ठ ८३ मा शाहकालमा विक्रमसंवत् अमान्तमानले भनेर किन दिइएको होला ? आश्चर्य छ र उहाँले आफ्नै संस्थाको निर्णयको लिहाज राख्न सकेन भन्ने यहाँ प्रष्ट देखियो ।
यति मात्र होइन वि.सं २०४१ सालदेखि २०५० साल भित्र प्रकाशित भएका श्री दिनेशराज पन्तको “गोरखाको इतिहास” एक भागदेखि चार भागसम्म हरेक भाग पल्टाएर हेर्ने हो भने त्यसमा पनि आफनो संस्थाको निर्णयको लिहाज कतै राख्ने गरेको बिल्कुलै देखिंदैन ।
जस्तैः
ने.सं ८०१(वि.सं १७३८) वैशाखकृष्ण(पूर्णान्तमानले ज्येष्ठकृष्ण) भनेर दिइयो ।
ने.सं ८०७(वि.सं १७४३ मार्ग कृष्ण (पूर्णान्तमानले पौषकृष्ण) भनेर दिइयो
ने.सं ८०८ (वि.सं १७४५) श्रावण कृष्ण (पूर्णान्तमानले भाद्रकृष्ण)
ने.सं ८०८ (वि.सं १७४५) भाद्रकृष्ण ( (पूर्णान्तमानले आश्विनकृष्ण)
ने.सं ८५१(वि.सं १७८८ ) चैत्रकृष्ण एकादशी बुधबार (पूर्णान्तमानले वैशाखकृष्ण)
एवं रीतले गणनाको परिणाम सहित उल्लेख गरेर दिइएका छन् यस्तो उदाहरण असंख्य छन् । जुन गणनाको कुनै तूक नै छैन । किनभने मल्लकालमा पूर्णिमान्त मानेर गणना मिल्यो भन्नु र शाहकालमा अमान्तमानबाट मिल्यो भन्नु खरायोको सिङ् भेट्टिएको गफ गरे जस्तै मात्र हो ।
यो मात्र होइन वि.सं २०१९ मंसीरमा संशोधन मण्डलबाट प्रकाशित इतिहास संशोधनका प्रमाण प्रमेय पहिलो भाग पल्टाएर हेर्ने हो भने पनि त्यसमा पनि आफनो निर्णयको कुनै लिहाज राखेको देखिंदैन ।
मल्लकालमा नेपाल उपत्यकामा अमान्तमानको प्रचलन हुँदा मल्लकालमा तिथि मितिको गणना अमान्तमान अनुसार यहाँ दिइएका छन् तथा शाहकालमा पूर्णान्तमानको प्रचलन हुँदा त्यस ताकाको गणना चाहीं पूर्णान्तमान अनुसार दिइएका छन् । यसको अपवादको रुपमा देखिन आएको ठाउँमा तत्तत् ठाउँमै सो खुलाएर लेखिएको छ ।
(इतिहास संशोधनको प्रमाण प्रमेय ,पृष्ठ ३१२)
यसमा सिम्भूको शिवसिंहको पालाको अभिलेखमा ने.सं ७१५ (वि.सं १६५२) वैशाखकृष्णपक्ष पञ्चमी शुक्रबारको गणना गर्दा यहाँ अमान्तमानबाट गणना गरी हेर्दा मिल्न आएन ।पूर्णान्तमानबाट चैत्रकृष्णलाई वैशाखकृष्ण भन्ने हुनाले चैत्रकृष्णको गणना गरी हेर्दा मिल्न आयो । बुझ्न सजिलो हो्स् भन्नानिमित्त दुवैगणना दिएका छौ भनिएको छ ।
(इतिहास संशोधनको प्रमाण प्रमेय ,पृष्ठ ३१७)
यस्तैगरि अरुपनि थुप्रै तिथिमितिको गणनाहरु त्यसमा दिइएका छन् तर कुनै पनि तूक छैनन् । किनभने आफैले गरेको निर्णयको रुपमा दिइएका कुरा आफैले पालना गरिएका छैनन् । भनाइको मतलब गणनाहरुलाई केबल देखाउने दाँत जस्तो मात्र बनाइएका छन् ।
यसरी कुनै तालमेल नभएको सिद्धान्तहीन गणना देखाउनुको मतलव विक्रमसंवत्मा विसङ्ंगति छ भन्ने कुरा प्रमाणित हुन्छ । वास्तवमा गणना नमिल्नुको कारण फेरि अर्कै छ ।
मल्लकालमा अमान्तमानको प्रचलन थियो त्यसैले पूर्णान्तमान अनुसार वैशाख भनेको चैत्र हुन्छ भन्न पाइने होइन । त्यस्तै वैशाख कृष्ण पक्षका अरु पनि थुप्रै मितिहरु छन् । ती सबै चैत्रकृष्ण पक्ष बनाउनुपर्ने हुन्छ तर अरुमा गरिएको छैन । त्यो भनेको ताक परे तिवारी नपरे गोतामे भने जस्तै मात्र हो ।
ने.सं ७१५ वैशाखको तद्नुसार वि.सं १६५२ वैशाख गर्ने बित्तिकै यहाँ नेपालसंवत् वि.सं ९३७ बाट उठेर आएको भन्नु पर्ने हुन्छ । किनकि ने.सं ७१५ वैशाखमा वि.सं १६५२ भएपछि ७१५ कार्तिकमा वि.सं १६५१ हुने भन्नुपर्छ । यता आएर सोझै नेपालसंवत् वि.सं ९३७ बाट उठेर आएको संवत् भन्नेमा गणनाको धार बदल्न थालियो । यथार्थमा नेपालसंवत्को शुरु वि.सं ९३७ पनि होइन ९३८ पनि होइन । त्यसकारण उहाँहरुको गणना नमिल्नुको कारण नै मुख्य यही हो । जबसम्म वि.सं ९३६ मा नेपालसंवत् उठेको धार समात्दैन तबसम्म उहाँहरुको गणनामा विश्वसनीयता देखापर्नु संभव हुँदैन ।
यस्तै गरि पूर्णिमा अंक १ देखि हाल सम्म १४७ पुगेको छ । यदि यही ढंगले प्रकाशित गर्दै लाँदा ५०० नै पुगोस् वा १००० नै पुगोस् त्यसले केही अर्थ लाग्दैन । किनभने अहिलेसम्म सबै अंकमा नेपालसंवत्को उठान यात विसं ९३७ कार्तिक समात्ने र यात वि.सं ९३८ कार्तिकलाई समातेर ढुलमुले गणना पस्कँदै आएको छ । जुन नेपालको इतिहासको लागि एकरत्ति उपयोगी छैन । इतिहास भनेको यसरी कुनै क्षणिक आनन्द लिएर रमाउने विषय पनि होइन ।
२. मल्लकालका अभिलेखहरुमा विक्रमसंवत्को उपस्थितिमा एकरुपता नहुनु
कुनै पनि ऐतिहासिक स्रोत अर्थात् अभिलेख प्रमाणहरु आफ्नै अगाडि दृष्टान्त हुँदाहुँदै पनि आफूलाई चित्त बुझे ग्रहण गर्ने र चित्त नबुझे वास्ता नगर्ने यो तरिका कुनै इतिहास मर्मज्ञहरुको धर्म र विवेक अन्तर्गत पर्दैन । किनभने विक्रमसंवत्का पक्षधरहरुले अहिलेसम्म गर्दै आइरहेकै तरिका यही छ । कतिपयले त अझ विक्रमसंवत् भनेकै राष्ट्रिय प्रतिष्ठाको विषय बनाउँदै आएका देखिन्छन् । जोसुकै होस् सर्वप्रथम सूझबूझ भन्ने कुरा सबैमा हुन जरुरी छ ।
क) काठमाडौ उपत्यका भित्र भेटिएका अहिलेसम्म विक्रमसंवत् उल्लेख भएको पहिलो अभिलेख नै ने.सं ५११ को ललितपुर उवावहीको अभिलेख देखिएको छ । यो भन्दा अघिको अभिलेखमा विक्रमसंवत् उल्लेख भएको देखिएको छैन । त्यस अभिलेखमा ने.सं ५११ हुँदा विक्रमसंवत् १४४४ भनेर दिइएको छ । यथार्थमा १४४७ हुनु पर्ने थियो । यसले यो बोध गराउँछ कि जुनबेला उपत्यकामा विक्रमसंवत् भित्रिएको हो त्यहीबेला स्पष्ट पहिचान भए बिनानै भित्रिएको रहेछ । यो अभिलेख धनवज्र वज्राचार्यको “पूर्वमध्यकालको अभिलेख” नामक पुस्तकको पृष्ठ १८२ मा पनि प्रकाशित छ ।
ख) भक्तपुर दरवार भित्रको नागपोखरी संगैको पाटीको राजा जितामित्र मल्लको ने.सं ८०८ को शिलालेखमा विक्रमसंवत् १७८९ दिइएको छ भने सोही वर्ष ८०८ को सुनधारामा अंकित अभिलेखमा भने १७४५ भनेर दिइएको छ । यसले पनि यो बोध गराउँछ कि खास विक्रमसंवत् कुन थियो भन्ने स्पष्ट बुझ्न सकेका थिएन । यी दुइटै अभिलेखहरु प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठको “भक्तपुर राजदरवार” नामक पुस्तकको पृष्ठ २०० मा पनि प्रकाशित भएका छन् ।
ग) भक्तपुर दरबार मालती चोकको राजा भूपतीन्द्र मल्लको ने.सं ८१८ फागुनको शिलालेखमा विक्रमसंवत् १७९९ दिइएको छ । यसबाट नेपालसंवत् र विक्रमसंवत् बीचको अन्तर कति हुनु पर्ने थियो भन्ने कुरामा एकीन ज्ञान भूपतीन्द्र मल्लको पालासम्म पनि थिएन भन्ने कुराको यो ज्वलन्त प्रमाण हो । यो अभिलेख संशोधन मण्डलको “अभिलेख संग्रह चौथो भाग”को पृष्ठ ६ मा पनि प्रकाशित छ ।
घ) भक्तपुर क्वाथनु मठको ने.सं ८८८ कार्तिकको शिलालेखमा विक्रमसंवत् १८२५ दिइएको छ । यस विषयमा पिष्टपेषण भनेर उपहास नै किन नगरुन् नेपालसंवत् कार्तिकमा र विक्रमसंवत् वैशाखमा फेरिने भएपछि कार्तिकमै विक्रमसंवत् १८२५ भयो भने ने.सं ८८८ भाद्र शुक्ल चतुर्दशी त वि.सं १८२६ भइ सक्नुपर्नेमा १८२५ नै भइरहन्छ भने विक्रमसंवत्को व्यवहारमा विसंङ्गति नै विसंङ्गति थियो भन्ने कुराको यो पनि ज्वलन्त प्रमाण हो । राष्ट्रिय अभिलेखालयबाट प्रकाशित “भक्तपुरको मध्यकालीन अभिलेख” नामक पुस्तकको पृष्ठ १५२ मा यो अभिलख प्रकाशित छ ।
यस प्रकार विक्रमसंवत्मा व्याप्त रहेका विसंङ्गतिहरु तिर कुनै दृष्टिपात नै नगरी यसको पक्षपाती मात्र भएर वकालत गरी बस्नु कुनै पनि इतिहास मर्मज्ञको धर्म र विवेकमा पर्दैन ।
३.शकसंवत्को टोपी जसलाई लगाइयो त्यो शकसंवत् बन्ने होइन
पाल्पाली टोपी जसले लगायो त्यसले पाल्पालीको पहिचान पाउने होइन र उसलाई पाल्पाली बनाउने प्रयास गर्दैमा त्यो संभव हुने पनि होइन । त्यस्तै भनेझै नेपालसंवत् र लिच्छविकालमा चलेको संवत् यी दुबै कार्तिकमा फेरिने संवत् भएकोले यी दुई बीच जहिले पनि ८०२ वर्षको अन्तर हुनेगर्छ । यसलाई नै शकसंवत्को १३५ को टोपी लगाइ दिइएको छ र यसो गरि दिंदैैमा यो शकसंवत् बनेको चाहीं होइन तर यहाँ संशोधन मण्डलदेखि लिएर इतिहासमा कलम चलाई आएका जतिले नेपालसंवत्संग ८०२ वर्षको अन्तर हुने संवत्लाई पनि शकसंवत्को टोपी लगाइ दिएको र त्यही १३५ को टोपी लगाई दिइकन विक्रमसंवत् भयो भनेर न्वारान गराइ दिएको कारणले विक्रमसंवत्मा अनेकौं विसंङ्गति देखापरेको हो । त्यसकारण जरै देखि उम्रेको बिरुवाले फल दिन्छ टुप्पोमा पलाएको बिरुवाले फल दिंदैन भन्ने बुझ्न पनि जरुरी छ ।
यसकुराको ज्वलन्त प्रमाण एकदुई वटा मात्र होइन थुप्रै छन् ती मध्ये एउटा उदाहरण यस प्रकार छ । जस्तैः
ललितपुर सुनधाराको ने.सं ५२४ को अभिलेख
श्री कलिगतवर्ष ४५०५ श्रीविक्रमराजवर्ष १४६१ श्रीशकराजवर्ष१३२६ श्रीमन्तःनेपालिकः श्रेयोऽस्तु ।।संवत् ५२४ चैत्रकृष्ण ।।अष्टम्यायां तिथौः। उत्तराषाढानक्षत्रे ।।साध्ययोगे।। बृहस्पतिवासरे ।
(पूर्व मध्यकालका अभिलेख ,पृष्ठ २०७)
यसमा प्रत्यक्ष रुपमा देख्न सकिन्छ कि नेपालसंवत्संग ८०२ वर्षको अन्तर रहेको लिच्छविसंवत्लाई श्रीशकराज वर्ष भन्दै त्यसैमा १३५ वर्षको शकसंवत्को टोपी लगाइ विक्रमराज वर्ष भनेर १४६१ बनाइएको छ । यहाँ तिथि बार नक्षत्र योग सबै छ ,गणना गर्न सक्नेले गणना गर्नु कुनै ठूलो कुरा छैन तर १३२६ लाई शकमानेर त्यसमा गलत टोपी लगाएको विक्रमसंवत् १४६१ को बार कुनै हालतमा आउँदैन र आएको छैन । त्यतिबेला यस्तै किसिमले पूर्णिमान्त भए अमान्त ,अमान्त भए पूर्णिमान्तको मिति भन्दै आँखामा छारो हाल्ने हिसावको नतिजा देखाएर संशोधन मण्डलले दुनियाँलाई उल्लू बनाउँदै आएको धेरै वर्ष भयो । तर अहिलेपनि त्यसरी नै उल्लू बनाइरहने चाहना हटेको छैन । किनकि यो कुरा उहाँहरुको कृतिमा तडकारो रुपमा देख्न सकिन्छ ।
४ एकमहिना घटाएर यही विक्रमसंवत्लाई सुधार गर्ने पर्वसुधारकहरुको दुस्वप्न
कागलाई मयूरको प्वाँख जोडेर काग पनि मयूर बनेको उदाहरण कहीं पनि देखेको छैन र सुनेको पनि छैन । ठीक त्यस्तै भनेझैं त्यही विसंङ्गतियुक्त विक्रमसंवतलाई एकमहिना घटाएर सुधारिएको पञ्चाङ्ग बनाएको भन्दै पुर्वसुधार समितिका एक जमात बडो दिलोज्यान दिएर लागी परेका देख्दैसुन्दै आइरहेको छ । यसमा संशोधन मण्डललाई पनि सहभागी बनाउन पाएर समितिका सदस्यहरु बडो हर्षले गद्गद् भइ रहेका पनि देखियो । संशोधन मण्डलको अहिलेसम्मको सबै कृतिहरुको मूल्यांकन गर्ने हो भने आफैले गरेको निर्णयको लिहाज त आफैले पालना गर्न सकी रहेको छैन भने त्यो समितिले त्यो संस्थाबाट के प्रतिफल पाउँला भनी हर्षले गद्गद् भइरहेको होला बुझ्न सकिएको छैन । त्यसकारण विक्रमसंवत्लाई सुधार गरेको भन्दै “सावर्णि पञ्चाङ्ग” प्रकाशित गरी पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल मनको लड्डु खाएर बस्ने दुस्वप्न देखीरहेका छन् । त्यो दुस्वप्न मै सीमित रहने हो त्योभन्दा बढी होइन ।
यसलाई उपहास गरी कसैले पिष्टपेषण, पामरश्लाघ्य, चर्वितचर्वण जेसुकै उपमा दिएर टार्न खोजियो भने पनि मल्लकालमा पूर्णिमान्तको कुरा गर्नु खरायोको सिङ् भेटिएको कुरा जस्तै हुने हो र नेपालसंवत्को उठान घरिघरि वि.सं ९३७ र घरिघरि वि.सं ९३८ कार्तिकबाट उठेको सिद्धान्त पकडेर बस्नु संशोधन मण्डलको महाभूल सिवाय अरु कुनै होइन ।
निष्कर्ष
गधालाई जतिसुकै महँगो सावुनले नुहाई दिए पनि गधा कहिल्यै गाई बन्दैन र कागको पुच्छरमा मयूरको प्वाँखको मुठ्ठा नै बाँधी दिए पनि काग मयूर कहिल्यै बन्दैन भनेझैं विक्रमसंवत्मा एक महिना घटाएर वा बढाएर सुधार्दैमा नेपालको इतिहास शुद्ध कहिल्यै हुनेहोइन । नेपालको इतिहास संस्कृति सबै अहिलेसम्म बितुलोको बितुलो नै रही रहनुको मुख्य जड नै विक्रमसंवत् हो ।
अब आउने वैशाख १ गतेका दिन टोखाको सपनतीर्थमा ठूलो मेला लाग्छ र भक्तपुरमा धूमधाम बिस्केट जात्रा हुन्छ । ती जात्रा मेलासित विक्रमसंवत्को कुनै सम्बन्ध छैन । नेपाल उपत्यकामा जहिले विक्रमसंवत् भित्रियो त्योभन्दा धेरै अघिदेखि नै ती जात्रा मेला प्रचलनमा आइसकेको हुनाले ती मेला जात्राका संस्कार र इतिहास संस्कृति स्वयं साक्षी भएर रहेको छ । विक्रमसंवत् नभएको भए सपनतीर्थ मेला, बिस्केट जात्रा कसरी आयो ? भन्ने जस्ता पुंङ् न पुच्छरको कुरा गर्नेहरुको पछि नलागौं । नेपालको इतिहास संस्कृति बिटुलो हुनबाट जोगाई स्वच्छ पवित्र अक्षुण्ण रुपमा अघि बढाउँदै लान विसङ्गतिहरु पन्छाउन जरुरी हुन्छ र विसंङ्गतिबाट मुक्त हुने चेतना सबैमा जागुन् । जय नेपाल आमा ।








