
संसारमा नसुल्झिने विवाद भनेको कुनै पनि विषयमा हुँदैन । यदि साँच्चै नसुल्झिने विवाद भएको भए नेपालसंवत्लाई राष्ट्रियसंवत् घोषणा गरेको पनि व्यर्थ, शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरेको पनि व्यर्थ र अहिले सरकारी कामकाजमा समेत नेपालसंवत् प्रयोग गर्न थालिएको छ त्यो पनि व्यर्थ ठहराउन सक्नुपर्ने थियो । तर व्यर्थ ठहराउन सक्ने हिम्मत कसैसंग छैन । त्यसैले नसुल्झिने विवाद भन्नु भन्दा पनि सुल्झाउन नचाहेको विवाद भन्दा उपयुक्त हुन्छ । वास्तवमा मान्छेको आआफ्नो स्वार्थ हावि भए पछि सुल्झाउन नचाहने तत्व सक्रिय भइरहने हुँदा नसुल्झिने भएको हो । ठीक त्यस्तै नेपालसंवत्मा पनि मान्छेको अहंपनाको स्वार्थले निक्कै गिजोल्दै आएको हुनाले कहिल्यै नुसुल्झिने देखिएको मात्र हो । त्यस कारण सुल्झिने कुरालाई सुल्झाउनु पर्दथ्यो भन्ने एक पक्ष र सुल्झाउन नचाहने दोस्रो पक्ष बीचको द्वन्द अहिले मात्र होइन सदियौं पहिलेदेखि चल्दैआएको देखिन्छ । त्यसैले सुल्झाउन चाहेको खण्डमा नसुल्झिने कुरा छैन तर सुल्झाउने चाहना नभएकाहरुको पनि बाहूल्यता छ । यस नेपालसंवत्मा समस्या भनेको भित्री कारण होइन बाह्य कारण मात्र हो । त्यस कारण यहाँ सुल्झाउन नचाहने तत्वहरुलाई औंल्याइकन त्यसको निराकरणको बाटो देखाउने उद्देश्यले यो लेख तयार गर्न खोजिएको हो ।
१ सुल्झाउने उपाय
वर्ष भन्नाले १२ महिना हुन्छ । प्रत्येक महिनाको शुरुको दिन संक्रान्ति र अन्तिम दिन मसान्त भन्ने गरिन्छ । यसरी संक्रान्ति र मसान्त गरी १२ महिना पूरा भए पछि १ वर्ष हुन्छ त्यसलाई दिनमा गन्ति गर्दा ३६५दिन ट्वाक्कै हुुनपर्दछ । यो हाम्रो युगौंयुगदेखि निश्चित भएर आएको व्यवहारिक क्यालेण्डर हो भने हाम्रो शास्त्रहरुमा पनि यही क्यालेण्डरीय नियम बताइएको छ । यसमा विक्रमसंवत्को वर्ष भएमा ३६५ दिन र नेपालसंवत्को वर्ष भएमा ३५४ दिन भनेर जुन सोच बनाउँदै आएको छ । यो सोच गलत हो र यसो भन्दै गर्दा कतिपय मान्छेले कानको छेउले पनि सुन्न चाहेको देख्ने गरेको छैन । यसमा कसको के स्वार्थ छ वा कसको के अहंपना छ थाहा छैन तर त्यही तत्वले मुख्य अबरोध पुर्याउँदै आएको छ भन्नुमा आश्चर्य मान्नुपर्दैन ।
हाम्रो क्यालेण्डरमा महिनाको शुरु संक्रान्तिबाटै हुने हो तिथिबाट होइन । तिथिमा कहिले प्रतिपदा नै टूट हुनसक्छ कहिले पूर्णिमा कहिले औंशी टूट हुनसक्छ । पूर्णिमान्त भनेर पूर्णिमा लाई अन्तिम दिनमान्नेमा पूर्णिमा नै टूट हुनसक्ने र अमान्तमान भनेर औंशी अन्तिम दिन मान्नेमा औंशी नै टूट हुनसक्ने । शुक्ल पक्षको प्रतिपदालाई पहिलो दिनमाने कहिले शुक्ल पक्षको प्रतिपदा नै टूट हुनसक्ने र कृष्ण पक्षको प्रतिपदालाई पहिलोदिनमाने कृष्णपक्षको प्रतिपदा नै टूट हुनसक्ने भएकोले तिथिबाट मास गन्ती नगरी संक्रान्तिबाट मास गणना गर्ने सिद्धान्त निश्चित भएको हो । यसमा केवल विक्रमसंवत्को मात्र होइन नेपालसंवत्को पनि यही निश्चित आधार हो । यसमा विक्रमसंवत्को पहिलो महिना वैशाख हो भने नेपालसंवत्को पहिलो महिना कार्तिक हो । यति मात्र फरक हो । हामी नेपालसंवत् मान्नेहरुले गतेबाट पहिलोदिन कार्तिक १ गते र तिथिबाट पहिलो दिन कार्तिक शुक्ल प्रतिपदा दुवै मान्न सक्छौं यसमा कसैको बिमति हुनु आवश्यक छैन । त्यसकारण कार्तिक १ गतेबाट नववर्षको उदघाटन समारोह आरम्भ गरेर कार्तिक शुक्ल प्रतिपदाको दिन विधिवत् न्हूदँ समारोहको समापन गर्दा आपद पर्ने कसैलाई पनि होइन । यसो गर्दा नेपालसंवत् ३६५ दिनको वर्ष पनि हुने र यसो गर्दा पनि तिथि प्रचलन यथावत् कायम भइरहने हुनाले यसमा कसैले टाँग अडाउन खोज्नु बेकार हुन्छ यदि टाँग अडाउन आए भने थाहा हुन्छ कि विवाद सुल्झाउन नचाहने तत्व यही रहेछ भनी सबैले चिन्ने छ ।
बरु तिथिबाट दिन गन्ती गर्दा समस्या नै समस्या थियो भन्न सकिन्छ । पहिलो त तिथिबाट दिन गन्ती गर्नु नै गलत हो भने ३६५ दिन भित्र ३५४ दिन मात्र हाम्रो त्यो भन्दा बढी भएको ११ दिन जहाँसुकै जावस् भनी फाल्ने कुराको कुनै वैज्ञानिक आधार पनि छैन र त्यो तर्कसंगत पनि होइन । जेष्ठ असार साउन मध्ये दुई महिना ३२ दिन हुन आउँछ त्यसलाई हेरफेर कसैले गर्न सक्ने होइन र पुस माघ फागुन मध्ये दुई महिना २९ दिनको महिना हुने पनि कसैले हेरफेर गर्न सक्ने होइन केवल कार्तिक महिना एउटालाई १९ दिनको महिना देखाएर ३५४ दिनको क्यालेण्डर जुन बनाउँदै आएको हो त्यो सर्वात्मना गलत हो । कार्तिक महिनालाई १९ दिनको महिना गर्दैमा त्यो चान्द्रमासको वर्ष ठहराउन सक्ने होइन । पञ्चा·मा सौरवर्ष र चान्द्रवर्ष हुँदैमा विक्रमसंवत् सौरवर्ष र नेपालसंवत् चान्द्रवर्ष भनेर अडकल गर्न पाइने होइन ।
कार्तिक महिना एउटा जहिले पनि १९ दिनको हुनुपर्ने भनेर कुनै शास्त्रमा उल्लेख छैन र त्यही कुरा व्यवहारिक आधारको सिद्धान्त बनाएको छैन । यसरी कुनै तूक नभएको ३५४ दिनको क्यालेण्डर देखाएर नेपालसंवत् चान्द्रमासको क्यालेण्डर भन्दै आउनु बुद्धिमानी किमार्थ होइन । अहिले वर्षेनि प्रकाशित हुँदै आएको नेपालसंवत्को क्यालेण्डर विद्वत् जगतमा देखाउनु नै लज्जाजनक देखिएको छ । यसरी लाज मर्दो र औचित्यहीन भए पनि त्यसमा कुनै आपत्ति नजनाउने तर कार्तिक १ गते बाट नेपालसंवत्को क्यालेण्डर बनाउनमा आपत्ति जनाउन खोज्नु भनेको विवादलाई कहिल्यै सुल्झाउन नचाहने तत्व ठहरिन आउनु हो । प्रत्यक्ष प्रमाण हाम्रै अगाडि छ ।
वि.सं २०८० सालको क्यालेण्डर पल्टायोैं भने त्यो वर्षमा कार्तिक २८ गते मंगलवार कार्तिक शुक्ल प्रतिपदाको दिन परेको थियो त्यसै दिन नेपालसंवत् ११४४ को नयाँ वर्ष शुरु भएको थियो । त्यहाँबाट एक वर्ष पूरा हुन वि.सं २०८१ सालको कार्तिक २७ गते आउनु पर्दछ ।
यही वर्ष २०८१ साल कार्तिक १७ गते शनिवार नै कार्तिकशुक्ल प्रतिपदा परेको हुनाले यो दिन अस्ति भरखर नेपालसंवत् ११४५ को नयाँवर्ष शुरु मनाइयो । यसको अर्थ कार्तिक १६ गतेको दिन ११४४ को वर्ष समाप्त हुने अन्तिम दिन हुन गयो ।
व्यवहारमा १ वर्ष पूरा हुन ३६५ दिन चाहिन्छ त्यसैले ३६५ दिन कार्तिक २७ मात्र पूरा हुन्छ तर नेपालसंवत् ११४४ चाहिं कार्तिक १६ गते नै अन्त हुने हुनाले (कार्तिक २७ गते — कार्तिक १६ गते) गर्दा ११ दिन पुगेन । यसरी हरेक वर्ष ११ ।११ दिन नपुग्ने गरी नेपालसंवत्को वर्षको क्यालेण्डर बनाउँदै आउनु महाभूल त अवश्य हो नै साथमा अपरिपक्वताको परिचायक बन्यो । यस्तो कुरालाई चाहिं कुनै आपत्ति नजनाउने तर यस्तो समस्या कहिल्यै नआउने गरी सुल्झाउने उपाय दिंदा आपत्ति मान्न थालियो भने त्यो तत्व चाहिं अवश्य सुल्झाउन नचाहने घातक तत्व हो भनी चिन्न कुनै गाह्रो पर्ने छैन ।
२ शंखधर साख्वाको योगदान
शंखधर साख्वालाई राज्यले राष्ट्रिय विभूति हो भनेर स्विकारि सकेको कुरा हो । नेपाल राष्ट्र र नेपालसंवत्को लागि उनको योगदान अतुलनीय थियो भनी स्विकारेको हो । यसमा विवाद रहेन । सुन्दा यो कुरा आश्चर्य लाग्ला शंखधर साख्वाले नेपालसंवत् शुरु गरेको कुरामा योगदान दिएको थिएन । नेपालसंवत्लाई गौरवमय तुल्याउन उत्कर्षमय योगदान दिएको चाहिँ अबश्य हो । भनिन्छ जन्मदिने आमा भन्दा पालन पोषण गर्ने आमा महान हो भन्ने मान्यता छ । ठीक त्यस्तै गरी नेपालसंवत् शुरु गर्ने ब्यक्ति भन्दा गौरवमय बनाउनमा अतुलनीय योगदान दिने शंखधर साख्वा महान कहलिएको हो । यसमा कुनै विवाद ल्याउन जरुरी छैन ।
शंखधर साख्वालाई नेपालसंवत शुरु गर्ने प्रणेताको रुपमा उभ्याउँदा व्यक्ति होइन इतिहास स्वयं बाधक बनेर उभिन आउने गर्दछ । किनभने इतिहासलाई तात्कालिक एवं दृष्टान्त प्रमाण चाहिन्छ । त्यस्तो प्रमाण अहिलेसम्म भेट्टाउन सकिएको छैन । अहिले हालसालै आशा सफूकुथिमा भेटिएको ग्रन्थमा नेसं ८३२ दिइएको छ यो नेपालसंवत् शुरु भए ताकाको तात्कालिक स्रोत होइन । किनकि नेपालसंवत् शुरु भएर ८३२ पुगेको बेलाको स्रोत तात्कालिक मान्न मिल्दैन यो कुरा सबैलाई थाहा हुनु पर्ने कुरा हो । बरु आशा गरौं तात्कालिक स्रोत पनि आगामी दिनमा भेटियोस् ।
फेरि तात्कालिक स्रोत नभेटिएसम्म भन्दैमा बालुवा सुनमा परिणत भएको असत्य कथा पत्याएर वस्नु उपयुक्त हुन्छ भन्नु पनि हुँदैन । किनकि त्यो कथाको रचना नै १९ औं शताव्दीमा आएर मात्र भएको हो । त्यो कथाको पुरानो स्रोत भनेकै १९ औं शताव्दीमा रचित भाषा वंशावली र नेपाल देशको इतिहासमा मात्रै पाइने हो त्यो भन्दा अगाडिको स्रोतहरुमा भेटिएको होइन । त्यसैले कहिल्यै नसुल्झेको विवाद भनेकै अपत्यारिला कथा लिएको भनेर मात्र होइन असत्य कथालाई आधार बनाएर बस्नुलाई भनिन्छ ।
वास्तवमा शंखधर साख्वा बालुवा सुनमा परिणत भएर मात्रै धनी बनेकै होइन । उनी व्यापारी मात्र होइन लक्ष्मीको अनन्य भक्त एवं उपासक भएकोले पहिले नै उनीसंग अपार धनसंपत्तिको थुप्रो उनको घरमा थुप्रिएको थियो । त्यो सबै संपत्ति उनले राष्ट्रलाई सुम्पेपछि त्यो धनराशि के मा खर्च गरौं ?भनी उनलाई राजाले सोध्दा उनका इच्छा अनुसार हरेक नयाँ वर्षमा सबै जनतालाई ऋणको भारबाट मुक्त गर्दै जानेमा सदुपयोग होस् भने पछि तत्कालीन राजा आनन्ददेवले संवत्को नामपनि नेपालदेशीय संवत् भनेर घोषणा गर्दै वर्षै पिच्छे ऋण मुक्त गर्दै लगे । यो भनेर फेरि कसैले नेपालसंवत्लाई ऋणमुक्तसंवत् भन्ला त्यो पनि गलत हो र नेपालसंवत् पनि त्यो घटना हुनुभन्दा अघि देखि निरन्तरचल्दै आएको थियो । त्यसैले नेपालसंवत् उसले चलाएको होइन । कालान्तरमा नेपालदेशीय भन्नुको साथसाथै नेपालसंवत्लाई शंखधरकृत संवत्सम्म पनि मौखिक सोंखले भन्न थालेको हो । यहाँ भन्न चाहेको कुरा बालुवा सुनमा परिणत भएको कथालाई समातेर बस्नु बिल्कुलै गलत हो । बरु हुनसक्ने संभावित कुरालाई अगाडि बढाउँदै लानु जरुरी छ । यसरी कुरो अगाडि बढाउँदै लगे पछि वादेवादे जायते तत्व वोध हुँदै अन्तमा विवाद सुल्झिन समय लाग्दैन । साथसाथै तात्कालिक स्रोत प्रमाणको खोजीलाई पनि निरन्तरजारी राख्नु जरुरी छ । फेरि हरेक वर्ष साल फेरिने समयमा मात्र नेपालसंवत्को चासो राख्ने तर अरुबेला चूपचाप बस्ने विषय पनि होइन । भन्नुको तात्पर्य यही कि बाह्रै महिना बाह्रै काल नेपालसंवत् बारे चिन्तन मनन छलफल भइरहनु पर्दछ ।
३.इतिहासलाई तेढोमेढो पार्न नदिऊँ
नेपालसंवत्को विवाद सुल्झिन इतिहासको शुद्ध र अकाट्य प्रमाण समाएर जानु पर्दछ । तर यहाँ सबभन्दा उपेक्षा हुँदै आएको कुरा नै इतिहासलाई टेढोमेढो पारेर ल्याइरहेको हुनु हो ।
नेपालसंवत्को शुरु वि.सं ९३६ कार्तिकमा भएको थियो कि ९३७ थियो त्यही नै तय गर्न सकेको छैन । यहाँ विवाद गर्नुपर्ने ठूलो कुरै छैन तर नेपालसंवत्को कुरा लिएर ठूलठूला कुरा गर्दै आइरहेका जोजो छन् उनीहरुलाई नै थाहा छैन कि नेपालसंवत् वि.सं ९३६ कार्तिकबाट उठानभएको हो कि ९३७ बाट भएको भन्ने कुरा । यो के हो भनेर विचार गर्ने तिर होइन उल्टै दुइटै ठीक हो र दुवै कुरा जायज छ भनेर टार्ने गर्दै आएका छन् । यस्तो धारणा रहे सम्म विवाद सुल्झिने त संभव नै नभएको हो । वास्तवमा यो नेपालसंवत्को समस्या होइन र भित्री कारण पनि होइन ।
यहाँ संशोधन मण्डलको धार समात्ने जतिले वि.सं ९३७ कार्तिकमा नेपालसंवत् उठेको कुरालाई समर्थन जनाउँदै आए । अर्को विदेशी विद्वान कीलहर्नको धार समात्ने जतिले वि.सं ९३६ कार्तिकलाई समर्थन गर्दै आए । यहाँ समस्या यो कि कीलहर्नको कुरा समर्थन गरियो कि संशोधन मण्डल गलत ठहरिने र संशोधन मण्डलको कुरा समर्थन गरियो कि कीलहर्नको कुरा गलत ठहरिने गर्दछ । त्यही भएर कीलहर्नलाई पनि चित्त दुखाउनु भएन र संशोधन मण्डललाई पनि चित्त दुखाउनु भएन भन्दै कीलहर्न अनुसार इस्वी ८७९ अक्टोवर २० तारिख बृहस्पतिबार पनि लिने र संशोधन मण्डलको वि.सं ९३७ वा शक ८०२ भनेर दुइटै कुरा लिएर समदृष्टि राख्दै आएका छन् । वास्तवमा यथार्थ इतिहासले यस्तो खालको मान्यतालाई बिल्कुलै मान्दैन । यसैलाई नै भनिन्छ सुल्झाउन नचाहने तत्व भनेको । यस्तो टेढोमेढो इतिहासलाई इतिहास भनिंदैन । इतिहासले त हर हमेशा संशोधन मण्डलको कुरा पनि परीक्षण गरेर हेर र कीलहर्नको कुरा पनि परीक्षण गरेर हेर भनीरहेकै हो । यहाँ अत्यन्त खड्कीरहेको कुरा नै यही हो । यस प्रकार इतिहासको आँखामा धूलोसरि बिझाइरहेको कुरा पालेर बसेर विवाद त्यत्तिकै सुल्झिने कदापि संभव छैन ।यसरी नेपालसंवत्लाई हेर्ने इतिहासलाई घायल बनाउँदै आएको छ । घायल इतिहासलाई कसरी स्वस्थ तन्दुरुस्त बनाउने भन्नेतिर भन्दा पनि अझ थप घायल बनाउँदै जानेहरुको बाहूल्यता बढीरहेको छ । वास्तवमा चिन्ताको विषय यो हो । यसको ज्वलन्त उदाहरण भनेको मल्लकालीन एउटा शिलालेखमा नेपालसंवत्लाई साख्वासंवत् पनि भनिएको छ भन्नु र भक्तपुर जेलाँपाटीको संवत् ८२९ को शिलालेखलाई संवत् ८२७ को बनाई कीर्ते शिलालेख तयार गरेको कुरा प्रमाण सहित बाहिर आइसकेको कुरामा बेखबर रहेर साख्वासंवत् लेखिएको शिलालेख भेटियो भन्दै हल्ला फिजाई त्यही हल्लाको पछिपछि दौडिरहनु भनेको इतिहासलाई थप घायल बनाउँदै जानु हो । यस्तो प्रवृत्ति रहेसम्म विवाद सुल्झिने भन्दा विवाद अझ बल्झिने मात्र हुने हो । हामी इतिहासमा रहेको यस्ता विवाद सुल्झाउन खोज्छु मान्छेहरु बल्झाउन चाहने धेरै भएसम्म कहिल्यै नसुल्झिने विवाद भएर रही रहने भएको हो ।
निष्कर्ष
माथि मुख्यतः तीनवटा तत्व औंल्याइएको छ । ती तत्वले नेपालसंवत्लाई सँधै विवादको भुमरीमा अल्झाइ रहन चाहन्छ र सुल्झाउने वातावरण कहिल्यै तयार गर्न दिंर्दै दिंदैनन् । यो कुरा सयमा सय सत्य ठहरीरहेको छ ।
पहिलो तत्व भनेको कार्तिक महिना एउटा १९ दिनको गरेर चान्द्रमास भन्दै ३५४ दिनको क्यालेण्डर बनाएर आइरहनेहरु हुन् ।
दोस्रो तत्व भनेको नेपालसंवत् शंखधर साख्वाले चलाएको , बालुवा सुन भएको कथा लिएर ऋणमुक्तसंवत्, साख्वासंवत् शंखधरकृत नेपालसंवत् भन्दै अनेकौं कीर्ते प्रमाण बनाइ त्यसैलाई रटान गर्दै आउने, विदेशी लेखकले नेवारीसंवत् भनेको छ भनी त्यसको सिको गर्दै आइरहनेहरु हुन् ।
तेस्रो तत्व भनेको संशोधन मण्डलको मान्यता र कीलहर्नको मान्यतालाई फ्यूजन (मिलावट) गरेर तेस्रो कुरो परिकल्पना गर्दै आउनेहरु हुन् ।
यी तीनवटै तत्व नेपालसंवत्को लागि घातक तत्व हुन् । नेपालसंवत्लाई अहिले जनस्तरमा समेत लैजानु पर्यो समेत भन्दै आएका छन् । उनीहरुले केवल गफ मात्र गरेर हुँदैन । गफ चाहिं त्यसरी गरिरहने तर ती तत्वहरुलाई नै पृष्ठपोषण गर्दै आउने गरिंदा त्यो पनि आकाशको फल आँखा तरी मर भने सरह मात्र हुने हो ।
यदि नेपालसंवत्लाई साँच्चै व्यवहारोपयोगी बनाउने हो, शंखधरसाख्वा प्रति सच्चा दिलले अनुराग राख्ने हो र यथार्थ इतिहासलाई राम्रोसंग पकड्ने हो भने हामीले अव उप्रान्त ३५४ दिनको क्यालेण्डर देखाइरहने पनि होइन, नेपालसंवत्लाई शंखधरकृत भनी राख्ने पनि होइन ऋणमुक्त संवत्, नेवारीसंवत् पनि भनी रहने होइन भनेर बुझ्नु अत्यावश्यक छ ।पक्का इतिहास समात्ने हो भने संशोधन मण्डलको मान्यतालाई अविलम्ब फाल्नै पर्छ । किनभने त्यस मण्डलले नेपालसंवत् वि.सं ९३८ कार्तिकबाट शुरु भएको गलत धरातलमा टेक्दै आएको छ ,त्यो काम लाग्दैन । उता कीलहर्नको मान्यता समात्नुभन्दा अघि अक्टोवर २० तारिख कसरी आयो? बृहस्पतिवार कसरी आयो? त्यस हिसावको सबै चरण हेर्दै नहेरी आँखा चिम्लेर पत्याएर बस्ने पनि होइन । साथसाथै जुलियन वर्ष कहिले देखि कहिलेसम्म बस्यो? ग्रेगोरियन वर्ष कहिलेदेखि कहिलेसम्म बस्यो ? र इसं १७५१ को सुधारको परिणाम के आयो ? यी कुराको सामान्य जानकारी पनि नराखी कीलहर्न । कीलहर्न भनेर घोकीरहनु बेकार हो ।
यति कुरा बुझेर जान सक्यो भने नेपालसंवत्मा कहिल्यै नसुल्झिने विवाद छ भन्ने नै हुँदैन ती विवाद आफसे आफ हटेर जाने छ । विवादका सारा कारणहरु त्यहीं भित्र अल्झिरहेको छ । यसले हरहमेशा दुःख दिएर आएको छ र अझै पनि दुःख दिइरहेको हुन्छ भन्ने विश्वास गरौं । नेपालसंवत्को सुन्दर भविष्यको कामना गरौ र राष्ट्रिय विभूति शंखधर साख्वाको आकाँक्षालाई सफलीभूत बनाउँदै जाऔं । नेपाल आमाको मुहार हँसाऔँ ।








