काभ्रे ,पनौती । बाढीपहिरोले क्षतविक्षत मल्पी–लिलावती सिँचाई योजनाको ६५ प्रतिशत पुनर्निर्माण सकिएको छ ।
जनश्रमदानबाट थालिएको पुनर्निर्माण अभियान आज १८ औं दिनमा आइपुग्दा करिव ६0 प्रतिशत काम सकिएको जनश्रमदानमा नेतृत्व गरिरहेका पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए ।
दुई सिफ्टमा काम गरिरहेका यसमा श्रमदान गर्नेहरु स्थानीय कृषक, सक्रिय महिला कृषि सहकारी पनौती, विभिन्न युवा क्लव, महिला समुह, आमा समुह, विद्यार्थी, शिक्षक र समाजसेवीहरु रहेको पनि दाहालले जानकारी दिए । अभियानमा लाग्नेहरुको निम्ति खाजा लगायत निर्माणका लागि आवश्यक औजार, सामाग्रीहरु समेत सहयोग प्राप्त भएको अध्यक्ष दाहालले बताए।
“हामीले आधा भन्दा बढी काम सम्पन्न गरिसकेका छौं । भत्केका भागहरु पुर्ननिर्माण हुन बाँकी छ । उक्त सिचाई निर्माणका लागि प्रदेश सरकारबाट अनुदान स्वरुप ५० लाख प्राप्त भएकोमा त्यो अपुग भएको” सहभागीहरु बताउँछन् ।
श्रमदानमा स्वस्फुर्त रुममा सर्वसाधारणहरुको सहभागिताले आफु उत्साही भएको पनि वडा अध्यक्ष दाहालले बताए ।

“पनौतीको करिब ६ हजार रोपनी जमिनमा सिँचाई सुविधा पुगेको उक्त आयोजनामा गत असोज महिनाको अविरल बर्षासँगै आएको बाढी पहिरोले क्षति पुगेको थियो । झण्डै आठ किलोमिटर ओगटेको यो सिंचाईको कूलोले पनौती नगरपालिका वडा नं.४,७ र ८ का खेतका फाँटहरु जोड्छ । अभियानका को को संलग्न छन् भन्ने जिज्ञासामा हामीले आब्हान गरेपछि सर्वसाधारण,स्थानीय उपभोक्ता,समाजसेवी ,राजनीतिक कार्यकर्ता ,विभिन्न महिला समुहहरु,विभिन्न सहकार्री संस्था,विद्यालय र विद्यार्थीहरुको सक्रियता रहेको छ । हाम्रो आब्हानलाई स्वत स्फुर्त उहाँहरुले स्वीकार गरेर अभियानमा सामेल हुनुभएको छ । यसले हामी जनप्रतिनिधिलाई उर्जा मिलेको छ ।”-अध्यक्ष दाहालले बताए ।
उक्त अभियानमा निरन्तर संलग्न स्थानीय राजनीतिज्ञ सन्तोष केसीले जानकारी दिए अनुसार-“कुलो सरसफाई र पुर्ननिर्माण अभियानले उल्लेख्य सफलता हासिल भएको र वडा नं ४ का वडा अध्यक्षको कुशल नेतृत्वमा वडा नं ४ र ८ का सबै जनप्रतिनिधिहरुको सक्रिय क्रियाशिलतामा झण्डै ६० प्रतिशत कामले सफलता पाएको छ । यो हाम्रो प्रारम्भिक अनुमान हो ।”

स्थानीय किसान नेता तथा श्रमदानमा निरन्तर लागिरहेका व्यक्ति सन्तोष राउत भन्छन् -“साँच्चै कुशल नेतृत्व भयो भने श्रमदान पनि जुट्छ र काम पनि माथि उठ्छ भन्ने कुराको एउटा उदाहरण यो सिंचाई योजनाले पुष्टि गरेको छ । “श्रममा खटिरहेका पनौतीका किसान नेता सन्तोष राउतले इ खवरनेटलाई बताए -” वडा नं.४ का वडा अध्यक्ष दिपक दाहाल र वडा नं.८ का वडा सदस्य विश्वनाथ श्रेष्ठको अगुवाई सह्रानिय छ । आगामी पुष १५ सम्म पानी झार्ने योजनका साथ हामी श्रमदानमा निरन्तर जुटिरहेका छौं ।”