
धेरैलाई थाहा भएकै कुरो हो, एउटा युग यस्तो पनि आउन पुग्यो कि कुनै ऐतिहासिक तत्व विषयक चर्चा परिचर्चा हुँदा त्यहाँ सुमतितन्त्र नामक ग्रन्थलाई अति उच्च मूल्यांकन गरी हरेकको मुखबाट त्यसको अन्धाधुन्ध प्रशंसा हुने गर्दथ्यो । मानौं उनीहरुले यसको नाम लिइएन भने त त्यो विद्वत् समाजमा मुख देखाउन लाज हुने होकि ठानेर कुनै सूझबूझ लिए बिना नै तारिफ गर्नमा तँछाडमछाड भइरहेका थिए । यदाकदा कोही कसैले सुमतितन्त्रले भनेको कुरा हाम्रो इतिहासमा पटक्कै मेल खाँदैन भनियो भने ती विद्वत भनाउँदा जत्थाले उसलाई ठाडै खाउँला झैं झम्टिने र खिल्ली उडाई त्यहाँ टिकी नसक्नु बनाई खेदी हाल्दथ्यो ।
अहिले आएर सुमतितन्त्रको नाम जप्ने तमाम लेखकहरुको मुहारमा त्यतिबेलाको दम छैन ,अहिले झोक्रिनु पर्ने अवस्था देखापरेको छ । मतलव अहिले सुमतितन्त्रको नाम उच्चारण गरेर प्रतिवादमा अगाडि देखापर्न आउने आँट कसैले पनि गर्न सक्ने अवस्था रहेन । तथापि लिच्छविकालमा दुई थरी संवत् चले पहिलो संवत् शकसंवत् र दोस्रो संवत् मानदेवसंवत् भन्न चाहिँ छोडेको छैन । वास्तवमा नेपालमा शकसंवत् र मानदेवसंवत् प्रचलन भयो भन्ने भनाइको जन्मदाता नै सुमतितन्त्र हो । त्यसकारण सुमतितन्त्र त म¥यो तर त्यसको भूतवायु बाँकी छ भन्ने मात्र रहेको छ । हुनत त्यस्ता भूतले केही पनि गर्न सक्दैन , खाली बेलाबेलामा शब्द आवाज चाहिँ दिन आइरहन्छ भन्ने मात्र हो । तैपनि अरु केही चाहिँदैन ३०४ वर्ष मानदेवसंवत् चलेको मात्र देखाउ त? , भन्ने बित्तिकै त्यो वायु भागी हाल्छ । त्यसकारण जति बेला जहाँ जहाँ सुमतितन्त्रको भूत बोल्न थाल्छ , हामीले त्यही प्रश्न गरियो भने , भूत टिक्ने वाला हुँदैन , ढुक्क रहौं ।
त्यही भूत वायुको कारणले बेलाबेलामा यस्तो शब्द सुन्नु परेको छ जस्तैः
१……नेपालमा बनेको सुमतितन्त्र नामक ज्योतिषको पुस्तक पाइयो । यस ग्रन्थमा नेपालमा चलेका भनेर एउटा संवत्को सूची दिइएको छ । त्यसमा युधिष्ठिरसंवत्देखि मानदेवसंवत् सम्मका संवत्को सूची दिइएको छ र शक ४९८ सम्म चलेपछि मानदेवसंवत् ३०४ सम्म चल्दछ भन्ने कुरा पनि टिपिएको छ । यसबाट नेपालमा पहिलेदेखि शकसंवत् चलेको, त्यसपछि मानदेवसंवत् वि.सं ६३३ देखि चलेको र ३०४ सम्म त्यो संवत् चलेपछि नेपालसंवत् शुरु भएको भन्ने भाव स्पष्ट बुझिन आउँछ ।….
(नेपालको माध्यमिककालको इतिहास,पृष्ठ १२,१३)
२.ज्यौतिषविषयको सुमतितन्त्र नामक ग्रन्थतिर ध्यान गएपछि नेपाली अभिलेखहरुको पहिलो संवत्लाई शकसंवत् र दोस्रो संवत्लाई शकसंवत् ४९८मा(५७६ई.मा) उठेको मानदेव संवत् मान्ने चलन आम भएको छ । …..सुमतितन्त्रको प्रामाणिकतामाथि सन्देह गर्ने आधार छन् ….इतिहासका मुख्य घटनाहरुको कालक्रम सुमतितन्त्रबाट खण्डन भएको छैन । यद्यपि यस ग्रन्थले धेरै कुराको उत्तर दिन सकेको छैन । अन्य प्रमाण नपाउञ्जेल लिच्छविकालका अभिलेखहरुको पहिलो संवत् ७८ ई.को अक्टोवर तदनुसार वि.सं १३५ को कार्तिक महिनामा सुरु भएको र दोस्रो शकसंवत्को ४९८ वर्षमा तदनुसार अक्टोवर ५७६ ईं अर्थात् वि.सं ६३३ मान्नु उपयुक्त हुनेछ ।
(पुरालेखन र अभिलेख पृष्ठ ६८–७२)
३ संवत् समस्याको सर्वमान्य समाधान कहिले होला यसै भन्न सकिंदैन तर हाललाई अघिल्लो संवत्लाई शकसंवत् र पछिल्लो संवत्लाई मानदेव द्वितीय संवत् नै मानेर यस ग्रन्थमा मिति गणना गरिएको छ ।
(लिच्छवि–इतिहास पृष्ठ ११, परिशिष्टको पृष्ठ २३७ देखि २४४ सम्म )
४ अहिले आएर सुमतितन्त्रनामक ज्योतिषसम्बन्धी हस्तलिखित ग्रन्थको प्राप्तिले अझ पहिलो संवत् शकसंवत् नै हो भन्ने कुरामा कतैबाट शङ्का गर्ने बाटो रहेको छैन………अर्को कुरा शकसंवत् मान्दा नेपालको इतिहासको कुनै हानी हुने होइन ।…..एक दुई वर्षको अन्तर कहिलेकाहीँ इतिहासमा हुन सक्छ ।……ज्योतिष ग्रन्थ,गणित आदिहरुबाट प्रमाणित भइसकेको कुराहरुलाई शङ्का–उपशङ्का उठाइ समस्याको रुपमा तेर्साउनु प्रयास गर्नु हुने छैन ।
( इतिहासका थप पृष्ठहरु , पृष्ठ १८६–१८९)
५.सुमतितन्त्र नेपालमण्डलय् ब्वलंगु नेवाः संस्कृत वाङ्मयया ज्योतिष विषयया तस्सकं तःधंगु ग्रन्थ खः ।…..थ्व सफूया बः कयाः लिच्छवि अभिलेखय् छ्यलातःगु निथी संवत्या क्वःछीज्या नं जूगु दु । …..थुकी नेपालसंवत् मानदेव संवत् ३०४ धुंकाः छ्यःगु खँ प्रकारान्तरं (मेकथं) न्ह्यथनातःगु दु ।
(शङ्खधरकृत नेपालसंवत्, पृष्ठ ४१)
यस भनाइको आसय लिच्छविकालमा दुई थरी संवत् चलेको कुरा पनि सुमतितन्त्रमा छ र नेपालसंवत् शुरु हुनु अघि ३०४ वर्ष मानदेवसंवत् चलको कुरा पनि छ भन्ने नै हो ।
यस्तै शब्दहरु नेपालको इतिहास लेखन क्षेत्रमा आम रुपमा व्याप्त भई गुञ्जिरहेका हुन् । अतः यस्तै यस्तै खालको शब्द गुञ्जन सुनेको आधारमा आम इतिहासकारहरुको बुझाइको धार त्यतैतिर बग्ने गरेको हो । वास्तवमा यी बुझाइको धार कुनै सूझबूझको आधारमा नभई आडभरको आधार लिएर बग्दै आएको मूलतः प्रष्ट रुपले अनुभूति हुन्छ । यसको लागि सुमतितन्त्रको उठान कहाँदेखि भयो भन्ने तिर जाऔं ।
शुरुमा सेसिल बेण्डालले ई. १९०२ मा सुमतितन्त्रको सूचना ल्याएका थिए । त्यसपछि काशी प्रसाद जायसवालले ई.१९३६ मा राजगुरु हेमराज शर्माबाट सूचना पाएको आधारमा भन्दै केही अंश छपाएका पनि थिए तर खासै त्यतिबेला कसैले त्यतातिर ध्यानै दिइएन । ई.१९३९ मा आएर मानदेव र अंशुवर्माको समय निश्चित गर्न बाबुराम आचार्यले सुमतितन्त्रकै आधार लिए । त्यसपछि लुसियानो पेतेकले सुमतितन्त्रको खुल्ला रुपमा प्रचारमा ल्याए । ई १९७८ मा पं नयराज पन्तको संपादनमा मुद्रित रुपको सुमतितन्त्र प्रकाशित भयो । लिच्छविकालमा प्रचलित संवत्हरुको निर्णय गर्ने क्रममा पं नयराज पन्तले सुमतितन्त्र नभेएिको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पर्दथ्यो भन्ने हावादारी गफ समेत हाँक्न पुगे । वास्तवमा यथार्थ यस्तो रह्यो कि उनले लिच्छविसंवत्को निर्णय गर्न मानदेवसंवत् ३०४ वर्ष चल्यो भन्ने कुरा सुमतितन्त्रमा छ भनेर देखाउनको लागि बाहेक अरु रौं पनि सुमतितन्त्रको लिइएको छैन भन्ने कुरा कसैले पनि कुनै अत्तोपत्तो बुझ्न सकेको होइन । यसबाट मान्छेहरुले सूझबूझको आधारमा बुझाईको धार समातेको होइन केवल आडभर को आधार समातेको मात्र हो भन्ने छर्लङ्गै छ र इतिहास शिरोमणि बाबुराम आचार्यले सुमतितन्त्रको नाम लिन सक्ने, गणितज्ञमा महान् मानिएका पं नयराज पन्तले सुमतितन्त्रको बखान गर्ने हामी मात्र किन नगर्ने ?भन्दै त्यता मान्छेहरुको ताँती लागेका हुन् भन्नु कुनै अन्यथा हुने होइन ।
सुमतितन्त्रले निम्त्याइ रहेको समस्या
तमाम इतिहासकारहरुले दरोसँग समाई आएको सुमतितन्त्रको एउटै कुरा भनेको ३०४ वर्ष मानदेवसंवत् चल्यो त्यसपछि नेपालसंवत् आरम्भ भयो भन्ने नै हो । यो बाहेक अर्को कुनै पनि छैन । एकातिर सहोत्तरतन्त्रमा भएको संवत् ३०१ वैशाखलाई मानदेवसंवत् ३०१ भनिरहेका छन् । यसमा तिथि बार नक्षत्र योग समेत उल्लेख आएको हुनाले यसको गणना भनेर देखाइ आएका पनि छन् तर यहाँनिर गणकलाई एकातिर मानदेवसंवत् ३०४ वर्ष चलेको कुरा पनि गर्ने, अर्कोतिर गणनाअनुसार मानदेवसंवत् ३०१ वैशाख भनेको विक्रमसंवत् ९३५ वैशाख भनेर पनि सिद्ध गर्न खोजेको हुँदा नेपालसंवत् शुरु भयो कहिले त? भनेर प्रश्न सोध्न पनि नसक्ने इतिहासकारहरुको बारेमा थप केही भन्नु जरुरी भएन । अहिले आएर त्यही इतिहासकार मध्येबाटै सहोत्तरतन्त्रको मिति र नेपालसंवत् प्रारम्भ भएको मितिबिच जम्मा ६ महिना फरक रहेको कुरा गर्न थालेका छन् ? यो पनि अनौठो खालको विशब्द आवाज मध्ये कै एक नमुना हो ।
अब सपनाको कुरा छोडौं, विपनाको यथार्थ धरातलमा टेकेर कुरा गरौं ।
सपनामा त जे पनि देख्न सक्छ भन्नुको मतलव सपनामा घटेको घटना विपनामा हुँदैन । सपनामा त यसपाली विक्रमसंवत् ९३५ भइरहेको थियो त्यसबेला मानदेवसंवत् पनि ३०१ भइरहेको थियो अर्को साल वि.सं ९३६ के भएको थियो मानदेवसंवत् त एक्कै चोटी ३०४ सकेर त नेपालसंवत् पो शुरु भइरहेको देखें भने भन्न पाइयो । विपनाको यथार्थ धरातलमा टेकी रहेको बेला त्यस्तो खालको कुरा किमार्थ कल्पनासम्म पनि गर्न पाईंदैन ।
१. विपनाको धरातलमा इमान्दार भएर कुरा गर्ने हो भने लिच्छविकालमा चलेको संवत् कार्तिकबाट शुरु भएको संवत् हो । चाँगुनारायणको स्तम्भमा भएको संवत् ३८६ लाई सुमतितन्त्रको आधारमा शकसंवत् मानेतापनि कार्तिकबाटै शुरु हुने संवत् भयो । विक्रमसंवत् त कार्तिकबाट शुरु हुने संवत् होइनन् । त्यही भएर इतिहासकार धनवज्र वज्राचार्यले सुमतितन्त्रकै चिन्तनमननमा डुबेर जेठको महिना भएको बेला ३८६ मा १३५ जोडेर विक्रमसंवत् ५२१ हुन्छ भनेको त साराले बुझेकै छ साथसाथै जेठमा ५२१ भएको वि.सं कार्तिकमा ५२० मात्र हुने भयो तर अभिलेखको संवत् त ३८६ नै थियो । त्यतिबेला ३८६ मा १३४ मात्र नजोडी वि.सं ५२० हुनैसक्दैन । यतिबेला इमान्दारिता छोडेर कार्तिकमा पनि वि.सं ५२१ नै हुने हो भन्न पाइएन । यहाँ ध्यानाकर्षण हुनुपर्ने भनेको सुमतितन्त्रमा कुन चाहिँ पृष्ठमा शकसंवत्मा १३४ जोड्न पाइने कुरा छ? त्यो देखाउन जरुरी थियो । त्यो देखाउन नसक्नु भनेको सुमतितन्त्र मरेको शास्त्र हो भनी सिद्ध हुनु हो ।
यता महान् गणितज्ञ पं नयराज पन्तले पनि सुमतितन्त्र कै चिन्तनमननमा डुबेर संवत् ३८६ कार्तिकमा १३५ जोडेर वि.सं ५२१ हुने देखाइ चाँगुनारायणको स्तम्भलेखमा त जेठको मिति छ त्यही भएर ३८६ मा १३६ जोडेर जेठमा वि.सं ५२२ हुन्छ भनेर मानेको छ । यदि गणकले सपना देखेको भरमा गणना गरेको होइन भने सुमतितन्त्रमा कुन पृष्ठमा शकसंवत्मा १३६ जोड्न पाइने कुरा छ त्यो देखाउन जरुरी थियो । त्यो देखाउन नसक्नु भनेको कित गणक इमान्दार बनेन कित गणकले स्वप्नप्रदत्त गणना गरे नभनी सुखै छैन ।
२. संवत् ६७ को नरेन्द्रदेवको अभिलेख एउटा पाटन भन्सारचोकमा छ भने अर्को संवत् ६७ को अभिलेख यंगालहिटीमा छ । पाटन भन्सारचोकको अभिलेखको मितिमा पौष छ भने यंगालहिटीको अभिलेखमा भाद्र छ यो कुरा अभिलेख पल्टाएर हेर्दैमा थाहा हुने कुरा हो । यहाँ संवत् ६७ लाई सुमतितन्त्रको चिन्तनमननको आधारमा मानदेवसंवत माने पछि संवत् पौषमा पनि ६७ र भाद्रमा पनि ६७ भएको मतलव कार्तिकबाट शुरु भएको रहेछ भन्ने त सामान्य पाठकलाई पनि थाहा छ । विक्रमसंवत् चाहिँ पौष र भाद्रमा एउटै हुने भएन । संवत् ६७ पौषमा ६३३ जोडेर वि.सं ७०० हुन्छ भने झैं भाद्रमा पनि विक्रमसंवत् ७०० नै हुन्छ त भन्न पाइएन । पौषको मितिमा ६३३ जोडेर ७०० गर्छ भने भाद्रमा वि.सं ७०१ बनाउन संवत् ६७ मा ६३४ जोड्नु पर्ने हुन आउँछ । सुमतितन्त्रको कुनचाहिँ पृष्ठमा ६३३ र ६३४ जोड्ने प्रावधान दिइएको छ? बताउन जरुरी छ । यदि बताउन सक्दैन भने सुमतितन्त्र मृत शास्त्र हो भनी प्रमाणित नै भयो ।
यदि गणकहरुले धर्म छोडेन भने ६३३ जोड्न वैशाखदेखिकोमा जोडे भने कार्तिकदेखि चैत्रसम्म ६३२ मात्र जोड्नु पर्ने हुन्छ र यदि कार्तिकदेखि चैत्र सम्मको मितिमा ६३३ जोड्छ भने वैशाख देखिकोमा ६३४ नजोडी सुखै छैन ।
लिच्छविकालको पहिलो थरी संवत्मा पनि १३४ र १३६ को हिसाव अन्तर देखापर्नु र दोस्रो थरी संवत् भनिएकोमा पनि ६३२ र ६३४ को हिसाव अन्तर के कति कारणले देखापरेको हो । गणनामा इमान्दारिता नभएको व्यक्ति र स्वप्नप्रदत्त गणना गर्नेहरुको मनमस्तिष्कभित्र यो कुरा सहजै छिर्ने कुरा भएन । यसको बारेमा खुलासा दिने सामथ्र्य सुमतितन्त्र जस्तो मृत शास्त्रमा पाईदै पाईदैन ।
शकसंवत् र मानदेवसंवत्को बर्चस्व खोइ?
१.बुढानीलकण्ठ विष्णुपादुकाफेदीको अभिलेखको संवत् अरुले जेसुकै भने पनि पं नयराज पन्तले ३९८ नै हो भनेको कुरा त सबैले संझेकै होला । सुमतितन्त्रअनुसार यो संवत् ३९८ भनेको शकसंवत् त भन्नु पर्ने भयो , यो कुरा पनि बुझे कै छ । त्यसो भए पछि अभिलेखले त त्यो वर्ष अधिकमास समेत परेको कुरा स्पष्ट बोलीरहेको छ । यदि सुमतितन्त्र जिउँदो भएको भए शक ३९८ मा अधिकमास परेको अवश्य देखाउन सक्नु पर्ने हो तर देखाउन सकेको होइन । खुद लिच्छविसंवत्को निर्णयको पृष्ठ ५६० पनि पल्टाउनु र पृष्ठ २९४ पनि पल्टाएदेखि प्रष्ट देखा पर्ने हुन्छ । यहाँ मृत सुमतितन्त्र अघिसारेर लिच्छविकालमा पहिलो संवत् शकसंवत् को बर्चस्व देखाउन सकेनन् भन्ने प्रष्ट हुन आउँछ ।
२.संवत् ५३६ को अभिलेख गोकर्ण बालुवागाउँमा मात्र होइन, पाटन मंगलबजारमा ढल खन्ने क्रममा अर्को पनि भेटियो । त्यति मात्र होइन ती दुबै अभिलेखहरु महासामन्त अंशुवर्मा कै भेटिएको कुरा सुमतितन्त्रलाई थाहा छैन किनकि सुमतितन्त्र जीवित भएको भए पो थाहा हुन्छ । सुमतितन्त्रका भूतवायुले संवत् ५३५ को काठमाडौं ज्यावहालको अभिलेख अंशुवर्माको हुँदै होइन भनी दिएको शब्द र आवाज सुन्नमा आदत बसी सकेकाहरुलाई त्यही भूतवायुले संवत् ५३५ पनि अंशुवर्मा कै हो र ५३६ को पनि अंशुवर्मा कै हो भनी शब्द र आवाज दिन नआएसम्म सकार्ने पक्षका होइनन् रहेछ भन्ने बुझियो । त्यही भएर “अंशुवर्मा आफू एकलौटी शासक भएपछि पुरानो संवत्को परित्याग गरी नयाँ संवत्को प्रयोग आफना सनदमा गर्ने अंशुवर्माले ती दुई सनदमा भने पुरानो संवत् किन हाले , त्यसको स्पष्ट उत्तर हामीसँग छैन” भन्न थालेका छन् । सुमतितन्त्रको भूतवायुले शब्द र आवाज देओस् कि नओस् हाम्रो सरोकार होइन । सुमतितन्त्रले पुरानै क्रमको संवत्लाई शकसंवत् नै हो भने पछि त्यसको बर्चस्व सिद्ध गर्नलाई शकसंवत ५३६ मा अधिकमास परेको सिद्ध गर्नु पर्ने हुन्छ किनकि गोकर्ण बालुवागाउँको अभिलेखमा द्वितीय पौष भनेर दिइएबाट अधिकमास परेको सिद्ध छ तर लिच्छविसंवत्को निर्णयको पृष्ठ २९४ पल्टायौं भने शक ५३६ मा अधिकमास देखाउन सकिने होइन । त्यसकारण सुमतितन्त्र मृत शास्त्र हो योसँग साक्षात् लिच्छविकालका अभिलेखको कुनै सम्बन्ध हुँदैन । मृत शास्त्रका भूतले आएर कुन बेला अंशुवर्माले आफ्ना दुई सनदमा पुरानो संवत् किन हाले भन्ने शब्दको प्रतिक्षा जहिलेसम्म गर्ने हो गरिरहुन् र मृत भइसकेका सुमतितन्त्रको आधारमा शकसंवत्को बर्चस्व खोजी रहनु असंभव छ भन्ने कुरा प्रष्ट भइसक्यो ।
३.सुमतितन्त्रको भक्तिगान गर्नेहरुले सुमतिन्त्रको नाम दुरुपयोग गरेर भन्ने बेला सुमतितन्त्रको सूर्यसिद्धान्त भन्ने लिँदा बेंकटेश केतकरको सूर्यसिद्धान्त लिने, भन्ने बेला शकसंवत् पनि कार्तिकादि हुन्छन् भन्ने गणना गर्दा चैत्रादिबाट गर्ने, संवत् ३१ को वर्षमा अधिकमास परेको पनि भन्ने संवत् ३१ माघ भनेको शक ५२९ माघ गरेर गणना गर्ने तर शक ५२९ मा अधिकमास नै परेको छैन तैपनि दिनगन्तीमा अधिकमास सहित गन्ने , सुमतितन्त्रमा मानदेवसंवत् ३०४ वर्ष चल्यो भनेको छ पनि भन्ने वि.सं ९३५ मा ३०१ भएको मानदेवसंवत् वि.सं ९३६ कार्तिक मै ३०४ सकेर नेपालसंवत् शुरु भएको देखाउने , यति धेरै भरमार त्रुटि गर्ने छूट त जतिसुकै सुमतितन्त्रको भक्ति गान गाए पनि जीवित शास्त्रले त क्षमा गर्दैनन् नै त्यति भयंकर ढाँट छल त मरेका शास्त्रले पनि क्षमा गर्दैनन् । गणकले के ठान्ने गरेको छ आफूले आफैलाई ? भन्ने प्रश्न उठिरहेको छ ।
निष्कर्ष
भौतिक धरातलमा सुमतितन्त्रको औचित्य कहीं कतै पनि साकार भएको सिद्ध छैन । जस्तो मान्छे मरेपछि उसको स्वास प्रश्वास पनि बन्द हुन्छ भने झैं सुमतितन्त्रलाई जीवित देखेको बेलामा त्यसको श्वास प्रश्वासमा शकसंवत् र मानदेवसंवत् देखेको मात्र हो । जब सुमतितन्त्रको कुनै औचित्य र बर्चश्व सिद्ध गर्न नसकेपछि मरेतुल्य भएको सिद्ध भयो । जब सुमतितन्त्र मरेको मृत शास्त्र हो भन्ने सिद्ध भयो तत्क्षणै त्यसको श्वास प्रश्वास सँग जोडिएको शकसंवत् र मानदेवसंवत् चलेको कुरा पनि वायु मै बिलीन भयो भन्ने सिद्ध भइसकेको छ । आज आएर सुमतितन्त्रको नाम उच्चारण चाहिँ नगर्ने लिच्छविकालमा चलेको संवत् चाहिँ शकसंवत् र मानदेवसंवत् भन्न भने नछोड्ने भनेको सुमतितन्त्र मरे पनि त्यसको भूतले बेला बेलामा शब्द दिन आइरहन्छ भन्नु जस्तै हो । शकसंवत् भन्नु मानदेवसंवत् भन्नु र सुमतितन्त्र भन्नु भनेको एक आपसमा घुलेर रहेको तत्व हुन् , मान्छे मरेपछि पञ्चतत्व मै बिलीन हुन्छ भने झैं सुमतितन्त्र मरेपछि त्यसकै श्वासप्रश्वासको तत्व भएर रहेका शकसंवत् र मानदेवसंवत्को अस्तित्व पनि वायु मै बिलीन भइसक्यो भन्ने कुरा बुझ्न आवश्यक छ ।







