
काठमाडौं । गोरखापत्र संस्थानद्वारा प्रकाशित मधुपर्क मासिकले यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ कवि गीतकार यादव खरेल र गद्यतर्फ कथाकार भाउपन्थीलाई समर्पण गरेको छ ।
यस्तै, ‘मधुपर्क प्रतिभा’ कवि समालोचक डा. गीता त्रिपाठीलाई प्रदान गरिएको छ । सम्मानका साथ जनही नगद राशि ५० हजार रुपैयाँको थैली प्रदान गरियो ।
शनिबार (जेठ ३०) काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्यकारहरूलाई सम्मान गर्दै साहित्य र संस्कृति बलियो नभएसम्म देश समृद्ध नहुने बताए । उनले नेपाली साहित्यमा मधुपर्कको गर्बिलो इतिहास रहेको बताए ।
“गोरखापत्र र मधुपर्कलाई बलियो बनाउन हामी सबैले लाग्नुपर्छ ।” मन्त्री डा. तिमिल्सिनाले भने।
साहित्यिक पत्रिकाहरूलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको समेत उनले बताए ।
सम्मान चयन समितिका संयोजक कथाकार ध्रुव सापकोटाले सम्मानित व्यक्तित्वको परिचय दिए ।
अग्रज साहित्यकार रोचक घिमिरेले साहित्यिक पत्रिकाहरू निःस्वार्थ भावका साथ प्रकाशन भइरहेको भन्दै यसतर्फ राज्यले बेग्लै नीति बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तीनै सम्मानित सर्जकले पनि आफ्ना धारणा राखेका थिए ।
मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

