Secretary Marco Rubio joins working-level peace talks with Israeli Ambassador to the United States Yechiel Leiter and Lebanese Ambassador to the United States Nada Hamadeh Moawad at the Department of State in Washington, D.C., April 14, 2026. (Official State Department photo by Freddie Everett)
काठमाडौँ । अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनान युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका छन् । सम्झौताअनुसार दक्षिणी लेबनानबाट हिजबुल्लाहको उपस्थिति हटाउने र त्यहाँको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने विषयमा सहमति भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार दुवै पक्षले यसअघि लागू गरिएको युद्धविरामको सम्मान गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमतिअनुसार हिजबुल्लाहले दक्षिणी लेबनानस्थित लितानी नदी क्षेत्रबाट आफ्नो उपस्थिति हटाउनुपर्नेछ भने त्यस क्षेत्रबाट हुने सबै प्रकारका आक्रमण तथा गोलीबारी पूर्ण रूपमा बन्द गर्नुपर्नेछ ।
सम्झौताअन्तर्गत केही परीक्षण क्षेत्र पनि निर्धारण गरिनेछन्, जहाँ केवल लेबनानी सेनाको मात्र तैनाथी रहनेछ । ती क्षेत्रमा कुनै पनि गैरसरकारी सशस्त्र समूहलाई उपस्थित हुन अनुमति दिइने छैन । यो नयाँ युद्धविराम भने होइन । गत मे महिनामा लागू गरिएको युद्धविरामलाई थप ४५ दिनका लागि विस्तार गरिएको थियो । पछिल्लो सहमति सोही व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।
इजरायल र लेबनानबीच युद्धविराम कार्यान्वयनमा सहमति भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । यसले पश्चिम एसियामा तनाव कम हुने अपेक्षा बढाएको विश्लेषण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ६७ सेन्ट अर्थात् ०.६९ प्रतिशतले घटेर प्रतिव्यारेल ९७.१४ अमेरिकी डलरमा पुगेको छ। यस्तै, अमेरिकी डब्लुटिआई कच्चा तेलको मूल्य ६२ सेन्ट अर्थात् ०.६५ प्रतिशतले घटेर प्रतिव्यारेल ९५.४० अमेरिकी डलरमा कारोबार भएको छ ।
विश्लेषकहरूका अनुसार इजरायल–लेबनान युद्धविराम कार्यान्वयनसम्बन्धी सहमतिले बजारमा सकारात्मक सन्देश दिएको छ । लगानीकर्ताहरूले क्षेत्रीय तनाव घट्दै गएमा अमेरिका, इजरायल र इरानसँग सम्बन्धित ठूला द्वन्द्व समाधानतर्फ अघि बढ्न सक्ने अपेक्षा गरेका छन् ।







