
कविता
केवल अनन्त र शून्य
रविन्द्र केसी
दुख्नु भन्नु त के रहेछ र !
फगत एउटा अनुभूति बाहेक
तर प्रिय !
अनुभूति पनि त समय नै रहेछ
आखिर दुख्ने पनि समय नै त हो
हो प्रिय !
मलाई पनि मेरै समय दुख्छ
कहिले निर्बन्ध सपनाको त्यो अतीत दुख्छ
कहिले बन्धित बिपनाको यो वर्तमान दुख्छ
दुख्छ प्रिय !
कहिले तिम्रो त्यो तिरस्कार दुख्छ
कहिले मेरो अस्वीकृत अनुराग दुख्छ
तर प्रिय !
समयको अन्तरालमा
अब दुखाइ पनि हराउँदै गएको छ
अनुभूति आत्मबोध तिर सर्दै गएको छ
अब लाग्छ –
त्यो पीडा होइन् , प्रेम हो
तिमी प्रतिको मेरो अगाध मौन प्रेम ।
तर
अब त्यो
तिमी र म भन्दा धेरै पर छ
त्यसैमा शून्य छ ,त्यसैमा अनन्त छ ।
अब
न अस्वीकृतिको गुनासो छ
न अनुरागको लाचारी छ
केवल प्रेम छ
तर
अब त्यो
तिमी र म भन्दा धेरै पर छ
त्यसैमा शून्य छ , त्यसैमा अनन्त छ ।


