काठमाडौँ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको औपन्यासिककृति ‘बखान’माथि अन्तरसंवाद भएको छ ।
शनिवार राजधानीमा आयोजित अन्तरसंवाद कार्यक्रममा समीक्षक राजकुमार बानियाँले उपन्यास ‘बखान’मा तथ्य र आख्यानको फ्युजन रहेको उल्लेख गर्दै कृति सरल र संवेगात्मक भएको चर्चा गरे । उनले उपन्यासका केही प्रसंगहरूको चर्चा गर्दै कतै कतै उपन्यास रिपोर्टिङजस्तो लागे पनि कृतिकार पराजुलीले नौलो काम गरेको बताए ।
उनले औपन्यासिकताको दृष्टिले सिमान्तकृतहरुको चित्रण गरिएको बताउँदै थारु समुदाय,आर्थिक रुपले विपन्न वर्ग,भुइँमान्छेको कथालाई समेट्ने प्रयास गरेको बताए ।स्थानीय र आञ्चलिक परिवेशलाई समावेश गरिएको कृतिले ऐतिहासिक पात्रलाई केन्द्रमा राखेर आख्यान तयार पारिएको चर्चा गरे ।उनले लेखनीमा पराजुलीलाई पत्रकारिताको प्रभाववाट मुक्त हुन सुझाए ।
अर्का समीक्षक गुरुङ सुशान्तले कृतिमा प्रजातान्त्रिक योद्धा बखानसिंह गुरुङको जीवनका आरोह अवरोहका साथै ऐतिहासिकता समेटिएको बताए । साथै,बहुमुखी संस्कृतिको कडीको रुपमा उपन्यास आएको भन्दै उनले तमुहरुको लवज भने जस्ताको तस्तै आउन नसकेको बताए ।
यसैगरी,शिला बस्नेतले कृतिमाथि पाठकीय टिप्पणी गरिन । इतिहास मेटिन लागेको पात्रलाई उपन्यासले समेट्ने कोसिस गरेको भन्दै बस्नेतले बखानको बारेमा विभिन्न कुराहरु उजागर गर्न उपन्यास सफल रहेको कुरामा जोड दिइन ।
अग्रज साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कार्यक्रममा सहजीकरण गर्दै पराजुलीको कथा र उपन्यास लेखनकासाथै उनको पत्रकारिताकर्मका विषयमा आफ्नो धारणा राखे ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहाल,प्रा.डा. लक्ष्मणप्रसाद गौतम,कुन्ता शर्मा, गोविन्द गिरी प्रेरणा, खेमराज पोखरेल, डा। दीनबन्धु शर्मा, शंकर भारती र पुष्पराज पौडेल लगायतले आआफ्ना धारणा राखे ।
उपन्यासकार पराजुलीले आएका सुझावहरु ग्रहणीय भएको बताए ।