
काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले यस वर्षको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ स्याङ्जाबाट प्रकाशित हुने ‘रजस्थल साहित्यिक पत्रिका’का सम्पादक विश्वप्रेम अधिकारीलाई प्रदान गरेको छ ।
पुरस्कारका साथ नगद राशि २५ हजारसमेत प्रदान गरिएको छ ।आइतबार राजधानीमा आयोजित कार्यक्रम उपस्थित अतिथिहरूले अग्रज साहित्यिक पत्रकार अधिकारीलाई पुरस्कृत गरे ।

कार्यक्रममा कवि एवं कोषका सदस्य विधान आचार्यले पुरस्कृत व्यक्तित्व अधिकारीको बारेमा जानकारी दिए । उनले भने, “वि.सं.२०५२ देखि अबिछिन्न रुपमा दर्ता भै स्याङजामा धेरै प्रकारका विशेषाङ्कहरु निकाल्न सफल सम्पादक हुन् अधिकारी । उनी तीन दशकदेखि रजस्थलसँग जोडिएका छन् । समाजसेवी,शैक्षिक र साँस्कृतिक क्षेत्रको उन्नयनमा समेत योगदान गरेका व्यक्ति हुन्।”
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले विगत तीन दशकदेखि साहित्यिक पत्रकारितामा समर्पित अधिकारीको लोभलाग्दो सक्रियता रहेको बताए । उनले बहुआयामिक व्यक्तित्वको रुपमा कविताकृति, समालोचक,लोकसाहित्यका अध्येताको रुपमा अधिकारीको व्यक्तित्वको चर्चा गरे । ” उपर्युक्त पात्र चयन भएकोले संस्था पनि सम्मानित भएको छ ।” उनले भने ।
अग्रज साहित्यकार तथा कोषका सदस्य श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यिक पत्रकारितामा दुख भएपनि सुख र सन्तुष्टी पनि त्यतिक्कै रहेको बताए। उनले भने, “लेखकले एउटा सिर्जना तयार पारेको हुन्छ,तर साहित्यिक पत्रकारिता गर्नेले ३० ४० जनाको रचना सार्वजनिक गरिरहेको हुन्छ ।” उनले अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको योगदानको पनि मुक्त कण्ठले प्रशंसा गरे ।
पुरस्कृत व्यक्तित्व अधिकारीले मोफसलमा रहेर साहित्यिक पत्रकारिता गर्दाका अनुभव र अनुभूतिहरु साझा गरे । आफु पनि कविताबाट साहित्यमा प्रवेश गरेका भन्दै उनले साहित्यिक पत्रकारिता गर्दा आत्मसन्तुष्टी प्राप्त हुने बताए ।

कार्यक्रममा कोषका अध्यक्ष तथा अभिव्यक्तिका प्रधान सम्पादक पवन आलोक,तारा सुवेदी र शंकर भारतीले आ-आफ्नो विचार व्यक्त गरे ।
कार्यक्रम कोषका अध्यक्ष पवन आलोकको अध्यक्षता तथा मधु पाठकको सञ्चालनमा भएको थियो ।
यसअघि ‘रचना’का सम्पादक रोचक घिमिरे, ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त, ‘जूही’का सम्पादक चूडामणि रेग्मी र ‘नवप्रज्ञापन’का सम्पादक नवराज रिजाललाई पुरस्कृत गरिसकेको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले जनाएको छ।
कार्यक्रममा नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषमा योगदान गर्नेहरुलाई कदरपत्र अर्पण गरिएको थियो ।


