
काठमाडौ । लघुकथा समाज,नेपालले हरेक बर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’साहित्यकार आरआर चौलागाईलाई प्रदान गरेको छ ।
समाजको १७ औं स्थापना दिवसको अवसरमा आज सर्वनाम नाट्यकेन्द्रमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नाटककार एवं कवि अशेष मल्ल,समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त सम्मान चौलागाईलाई अर्पण गरे । यसैगरी नगद दशहजार रकम स्व.कथाकार पूर्णप्रसाद ब्रम्हाणका सुपुत्र उप-प्राध्यापक दिनेश शर्मा तथा सुपुत्री निर्मला शर्माले चौलागाईलाई समर्पण गरे ।
सम्मानित स्रष्टाले सम्मानको निम्ति समाजप्रति आभार व्यक्त गर्दै आफ्ना साहित्यिक लेखनीका अनुभवहरुका साथमा “माथिको आदेश” शिर्षक लघुकथा वाचन गरे ।

प्रमुख अतिथि वरिष्ठ नाटककार मल्लले सम्मान पाउने चौलागाईलाई बधाई दिंदै वि.सं.२०३१ सालतिर भारतबाट निस्कने सारिका,धर्मयुग जस्ता पत्रिकाहरुले छापेका चोटिला कथाहरुबाट प्रभावित भएर आफुहरुले विराटनगरमा संकलित संग्रह निकालेको बताए । विधामा नाम के दिने भन्ने कुरामा दुविधा हुँदा रेच्की गल्प भनिएको अनुभव सुनाए । उनले आजका चरम वैज्ञानिक विकासको युगमा पढ्ने होइन सुन्ने दिन आइसकेकोे छ । तर हामी भने किताव निकाल्न हतार गरिरहेका मात्र हुन्छौं भन्दै मल्लले पठन संस्कृति विकास गर्न जोड दिए ।
विशिष्ठ अतिथिको रुपमा बोल्दै समाजका संस्थापक अध्यक्ष ‘रोदन’ले लघुकथाको विगत र वर्तमान सहित उतिवेलाका अनुभव र अनुभूति वाँडे । उनले वि.सं.२०५५ मा स्थापना भएको लघुकथा समाजको वारेमा जानकारी दिए । कथामा उचाई चुलिएका स्व. ब्रम्हाणको नाममा पुरस्कार र सम्मानको सुरुवात आफ्नै पालामा भएको चर्चा गर्दै वर्तमान लघुकथा लेखनीमा आएका विकृत पक्षहरु औल्याए । सबैको चिन्ता र चासो सुधार्न लाग्नुमा हुनुपर्नेमा पनि उनले जोड दिए । साथै सम्मानित चौलागाईलाई बधाई ज्ञापन गरे ।
सम्मानित स्रष्टाको बारेमा संक्षिप्त परिचय साहित्यकार नवराज रिजालले दिएका थिए । कार्यक्रममा लघुकथा केन्द्रकी अध्यक्ष लता केसी,खेमराज पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्य समिति सदस्य राजेश खनालले स्वागत मन्तब्य व्यक्त गर्दै संस्थाको वारेमा संक्षिप्त जानकारी दिए ।
कार्यक्रममा सम्मानित स्रष्टा आरआर चौलागाईद्धारा लिखित “यमराजको फैसला र दाइजो लघुकथामाथि नाटक मञ्चन गरिएको थियो । सर्वनाम परिवारबाट मञ्चित उक्त नाटकको निर्देशन राज शाहले गरेका थिए ।

सम्मानित स्रस्टा चौलागाईका नौलो विहानी कविता संग्रह ,विघठनको तयारी (लघुकथा) लगायत विभिन्न ११ वटा कृतिहरु प्रकाशित छन् ।
सर्वनामको सह -आयोजनामा भएको उक्त कार्यक्रममा समाजका सचिव श्रीबाबु कार्कीले सञ्चालन र अध्यक्षता समाजका अध्यक्ष गोपाल अश्कले गरेका थिए ।



