
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको टिप्पणी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए । सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे ।
उनले सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार असफल रहेको बताए । प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने उनको माग छ ।
‘सहकारी पीडितले पैसा फिर्ता पाएका छैनन्, न्यायालयमा न्याय छैन र अस्पतालमा उपचार पाउने अवस्था छैन । सरकार संसद्प्रति र संसद जनताप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्छ, अन्यथा हाम्रो बहसको कुनै अर्थ रहँदैन,’ उनले भने ।
विकास निर्माणका सन्दर्भमा बोल्दै सांसद राईले सुनसरी–१ लगायत देशभरका योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे ।
