
काठमाडौँ ।टप एन्ड ट्वान्टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ ।
टोली सिरिज खेल्न सोमबार (भदौ १) राति त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार (साउन ३१) नै बिदाइ गरेको थियो । यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।
यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ । नेपालले भदौ ६ मा बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्नेछ ।
क्यानका अनुसार, अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल समेत खेल्ने तालिका छ ।
