
पोखरा । शब्दालय, पोखराको शुभारम्भ प्रकाशन तथा आयोजनामा आयोजित संयुक्त कृति दामली अक्षर को लोकार्पण एक समारोहका बिच सम्पन्न भएको छ। प्रणय दिवसको दिन पारेर गरिएको कार्यक्रममा दामली अक्षरका स्रष्टाहरु लक्ष्मण थापा , डा ईश्वरमणि अधिकारी , दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमश मैंया थापा , रीता अधिकारी ऋतु , शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा साहित्यकारहरु सरुभक्त , तीर्थ श्रेष्ठ र रमेश श्रेष्ठले शुभकामना मन्तब्य दिनु भएको थियो। शुभकामना दिने क्रममा बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यको महिमासहित दामली अक्षरको सफलताको शुभेच्छा व्यक्त गरे । सोही क्रममा साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको अत्यन्त महत्वपूर्ण स्थान रहेको प्रसङ्ग कोट्याउँदै त्यसैको विरासतमा उभिएका अहिलको समयका पोखराका अत्यन्त प्रभावशाली कवि, साहित्यकारहरूको यो सहकार्यले नेपाली मुक्तक र समग्र काव्य तथा साहित्यिक फाँट सिञ्चित हुने विश्वास व्यक्त गरे । शुभकामना राख्ने क्रममै साहित्यकार सरूभक्तले नेपाली तथा विश्वसाहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासको समेत चर्चा गर्दै दामली अक्षर र शब्दालय, पोखराको सफलताको कामना व्यक्त गर्दै नेपाली साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाहा गर्ने पोखराका आफ्ना चारैजना प्रिय भाइहरूलाई यसरी यौटै कृतिमा भेटिनु नेपाली मुक्तकमा पोखरेली अनुहारको सुन्दर प्रतिनिधित्व भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्रष्टाहरूका तर्फबाट आफ्ना केही मुक्तक सहित डा ईश्वरमणि अधिकारीले शब्द देखिँदा सूक्ष्म देखिए पनि यो आफैँमा एक प्रकाश, सौन्दर्य र शक्ति भएको र एक आपसमा माया, प्रेम, इच्छा, आकाङ्क्षा, आशङ्का, आशक्ति तथा मानवीय चेतना साथै अनुभूति अभिव्यक्त गर्न इसारा मात्र काफी नभएकोले अक्षर हुँदै शब्द जन्मिएको धारणा राख्दै दामली अक्षर पनि त्यही मानवीय संवेदनाहरूको समष्टिगत स्वरुप रहेको विचार व्यक्त गरे । यसलाई उनले गहिरो चेतन प्रवाह हो भने साथै आफूहरू त्यही चेतन प्रवाहलाई जीवन्त राख्न शब्दालय मार्फत दामली अक्षरका रुपमा साक्षी बस्न लागिपरेको धारणा राखे । त्यसै गरी पुस्तकका सर्जकहरु लक्ष्मण थापाले संसारका आम मान्छेहरूजस्तै आफू पनि अपूर्ण र यात्रारतरहेको बताउँदै पूर्णता स्वभावैले मोक्ष जस्तै भएको र त्यसैका लागि अक्षरहरूको आराधना गरिरहने बताए । त्यस्तैगरी अर्का दामली दीपक समीपले स्पष्टता, सघनता, सूक्ष्मता, भावको तीक्ष्णता, अनूभूतिको तीव्रता र आफैँमा सम्पूर्णता मुक्तकका केही सौन्दर्यहरू भएको र दामली अक्षरका मुक्तकहरूमा त्यसतर्फ सतर्कता र सजगता अपनाइएको बताए । त्यस्तैगरी स्रष्टा जीवन सागर भण्डारीले पनि लेखन तथा प्रकाशन दौरानका सन्दर्भहरु सुनाउँदै अब दामली अक्षर सबै दामली तथा शुभेच्छुकहरूको भएको र शब्दालय पोखराले अक्षर र शब्दहरूलाई प्रेम गरेर सदा उज्यालोको आराधना गर्ने र गरिरहने धारणा राखे । अब शब्दालय आफूहरूको मात्र नभै सबै अक्षरजीवीहरूको साझा घर भएको र भोलिका दिनमा यो घरलाई अझै सिँगार्ने यत्न गर्ने र गरिरहने मनसाय व्यक्त गरे ।
लोकार्पण कार्यक्रममा कृति लोकार्पण गर्ने प्रमुख अतिथिहरूमध्येका एक साहित्यकार तथा पोखराका विभिन्न वाङमयिक संस्थाहरूको समेत नेतृत्व गरिरहेकी कवि रीता अधिकारी ऋतुुले दामलीहरूले गरेको यो सहयात्राले भोलिका दिनमा अझ बढी सार्थकता र सौन्दर्य प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सिर्जनात्मक सफलताको शुभेच्छा व्यक्त गरिन् । यसरी दामलीका दामलीहरूकै तर्फबाट कृति विमोचन गराएर नारी शक्तिलाई सिर्जना, सृष्टि र संवेदनाको रचनात्मक निरन्तरताका रुपमा सङ्केत गर्दै सबै दिदीबहिनीहरूका तर्फबाट खुसी व्यक्त गरिन् ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई सभाध्यक्ष बनाएर सम्पन्न गरिएको कार्यक्रम कवि अमृत क्षेत्रीले सञ्चालन गरेका थिए। कवि अमृतले सञ्चालनका क्रममा साहित्य विमर्श, मुक्तक लेखन र पोखरेली काव्य परम्परामा आफूले अत्यन्त प्रेम र सम्मान गर्ने दामलीहरूको दामली अक्षर र शब्दालयले भोलिका दिनमा यौटा काव्यिक बहस र चिन्तनको थलोका रुपमा विकसित हुने विश्वास व्यक्त गर्दै धन्यवाद सहित सभाको समापन गरे ।







