
कविता
जागिर
तारा सुबेदी
न त खान नै सकियो
न त पचाउन नै सकियो
जीवनको सुनौलो सोकेसभित्र जागिरलाई
न त सजाउन नै सकियो ।
हतार छ, समय भेट्ने हतार
सधैं हतार छ, सपना रेट्ने हतार
न त जागिरको घाइते खुड्किला टेकेर
कतै माथि जान नै सकियो
न त आफुभित्र बोकेर खुसी
मनभरि सँगालेर लान नै सकियो
कहिले काम गर्दागर्दै–
गह्रुङ्गो फायलले
थिचिएर मरिएला भन्ने डर
जीवनको व्यस्ततामा
कहिले दौडिंदादौडिंदै–
गयल हाजिरीमा परिएला भन्ने डर
कम्युटरका अनेक फायलहरू भएर
की–बोर्डका अक्षरहरू भएर विभाजित छु
नखाऊँ भने दिनभरीको शिकार
खाऊँ भने कान्छाबाबुको अनुहार
भएको छ अचेल जागिर
उफ जसलाई न त निल्न नै सकियो
न त ओकल्न नै सकियो ।
जागिर सम्झँदा एकोहोरिएर
कहिलेकाहीं म आफैलाई सोध्छु
साँच्चै ! अचेल म जागिर खाँदै छु ?
कि जागिरमा रूपान्तरित भएर
आफ्नै जीवनको मलामी जाँदै छु ?







