अस्तित्व
कथाकार रेजिना पाण्डेद्धारा लिखित १७ थान कथाहरुको संगालो हो अस्तित्व । यसअघि अविरल पानाहरु र सुख खोज्दाका दिनहरु दुई कवितासंग्रह प्रकाशनमा आइसकेका छन् ।
नारी भएर पुरुषको मनोविज्ञान बुझ्नु र कथा लेख्नु कठीन पक्कै होला । यस्तै पुरुष मनोविज्ञानका कथाहरु पढ्न पाइन्छ अस्तित्वमा । प्रेम,सम्बन्धका कुरातिर पनि कथाहरु लक्षित छन् । पुरुषका कुरा मात्र छैनन् । महिलाका विवशता र बाध्यतातिर पनि कथा सोझिएका छन् । महिला पात्रहरुका रहर र चाहाना,भावनालाई कथामा पाण्डेले उधिनेकी छिन् । महिलाका कतिपय सपनाहरु क्षणभंगुरमै चकनाचुर भएका हुन्छन् । मनका चाह पुरा गर्ने मन कसलाई हुन्न र ? यस्तै महिलालाई पनि हुन्छ तर चाहेर पनि ति पुरा हुँदैनन् । विवशता र वाध्यताको डोरीले महिलाका रहर,चाह बाँधिदिँदा चुपचाप सहिदिन्छे विवश र लाचार भएर । यस्तै महिलाका समस्याहरुभित्र छिरेर लेखिएका कथाहरु पनि छन् यहाँ । यस्तोमा पुरुषको मनोविज्ञान कस्तो हुन्छ फेहरिस्त उतारेकी छिन् रेजिनाले ।
कथामा श्रीमान श्रीमतिका सम्बन्ध,यौन,प्रेमका विषयले कथाहरुमा मनग्गै ठाउँ पाएका छन् । समाजका वरपर हुने वा भैरहेका विषयवस्तुमा उनल कथा बुनेकी छिन् ।
यदा कथा भाषिक कमजोरी पनि नभएका होइनन् । तर पनि रेजिनाको पहिलो कथासँग्रह भएकोले उनीबाट नेपाली कथा साहित्यमा अपेक्षा गर्नसक्छ र त्यो सामथ्र्य कथाकारमा छ । अस्तित्व कथासंग्रह कथाकार आफैैले प्रकाशित गरेकी हुन् ।
दशघुम्ती
विजयध्वज थापाको नियात्रासंग्रह दशघुम्ती नविनतम नियात्रासंग्रह हो । यसमा दशओटा स्वदेश तथा विदेश यात्राका सन्दर्भहरु छन् । रोचक लाग्दा यात्राका प्रसंगहरु छन् ।प्रकृतिको सुन्दर चित्रण,स्थानीयतामा लछप्पै भिज्ने लेखनशैली,स्थानीयतासँग आफ्नोलाई तुलनात्मक अध्ययन गर्ने उनको लेखनीका विशेषता यहाँ देखिएका छन् । जम्मा दश थान नियात्रा समाबेश भएको यो कृतिमा स्वेदश र विदेशका यात्राहरुको जानकारी आधा आधा रहेको छ ।
स्वेदश यात्रामा निस्केका उनले कालिञ्चोक,हलेसी,दुप्चेश्वर जस्ता धार्मिक र ऐतिहासिक महत्वका स्थलहरुको यात्रा गर्दै त्यसको नालीवेली पस्केका छन् । यसले नियात्राकार थापामा रहेको आध्यात्मिक चेत र चाहको सुस्प्ष्ट भाव प्रकट गरेको छ । यसमै ति स्थानहरुको पर्यटकीय महत्वको कुरा दर्शाउन पनि उनी पछि परेका छ्रैनन् । यात्रामा विकट बाटाघाटा र देशको दुरावस्थाको तस्वीर पनि छ ।
यसैगरी विदेशमा निस्केका उनी श्रीलँका,थाइल्याण्ड,भारत लगायतका देशका विभिन्न शहरमा यात्रा गर्दा पाएका राम्रा र नराम्रा दुबै पक्षहरु उल्लेख गरेका छन् । साथै उनले नेपालका विभिन्न विषय र सन्दर्भसँग तिनलाई तुलना गरेका छन् । जहाँ जाँदापनि नेपाली भएको भावना भने उनले अभिव्यक्त गरेबाट उनको राष्ट्रप्रेम प्रकटीकरण भएर नियात्रामा जताततै छरिएको छ।
नियात्रा नीजात्मक शैलीमा लेखिएको छ । भावना र तथ्यको दोभान बनेको छ । अनुभूतिले भरिपूर्ण छ ।
प्रस्तुत नियात्रा कृति लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।
शुभारम्भ
कवि सुभद्रा अधिकारीको प्रथम साहित्यिक कृति । मुक्तककार अधिकारीको यस कृतिमा विषयगत विविधाका २ सय सत्तरी थान मुक्तकहरु समावेश भएका छन् । पेशाले अध्यापन गर्ने शुभद्रा चोटिलो,सुस्वादिलो र गहन भावका मुक्तक लेख्छिन् । उनको मुक्तकमा अभिव्यक्त हुने शैली सरल,सुबोध्य छ । क्लिष्टताको छनक सम्म कुनैपनि मुक्तकमा पाईँदैन् । उनी भावमा डुब्छिन् । मायामा रम्छिन् । वर्तमान समाजका विकृति र विसंगतिप्रति कटाक्ष गर्छिन् । भद्रता र शालीनतापूर्वक शब्दको तीखा प्रहार गर्छिन् । मान्छेमा मौलाउँदै गएको स्वार्थीपनाप्रति उनलाई घृणा लाग्छ र रोष प्रकट गर्छिन् ।
शुभद्रा आध्यात्मिक चेतमा धनी छिन् । उनका मुक्तक आदर्शका पथमा लाग्न प्रेरणा पनि दिन्छन् । अरु मुक्तककार झैं उनी राजनीति र त्यसको नेतृत्व गर्ने नेताहरुको गलत चिन्तन,ब्यवहार,राजनीतिमा देखिएका विकृत पक्ष ,देशमा बढ्दो भ्रष्टाचारप्रति चुप रहन सक्दिनन् र मुक्तकमार्फत विरोध गर्छिन् । मुक्तकमा नाता सम्बन्धको बारेमा बोल्छिन् ।आमाको महिमा गाउँछिन् । यस्तै यस्तै भावका मुक्तकहरु छन् । मुक्तकहरु मुक्तकको सिद्धान्तको फ्रेममा अटेका छन् ।चतुष्पदीय,बिम्बात्मक,अनुप्रास मिलेका छन् ।
मुक्तकका पारखीले यो कृति मन पराउनेछन् ।
शुभारम्भलाई जगतप्रसाद थपलियाले प्रकाशनमा ल्याएका हुन् ।