
संस्मरण
ढल्नुभो हाम्रा नातावृत्तका शताब्दी पुरुष ‘सिद्धबाजे’
अमर अधिकारी
गत २०८२ साल पुस ४ गते शुक्रबारका दिन अपराह्न सवा एक बजेको आसपासमा दाङको देउखरीमा एकजना शदाब्दी पुरुषको दुःखद निधन हुनपुग्यो। उहाँको खास नाम जीवलाल पोखरेल हो भने हामी उहाँलाई ‘सिद्धबाजे’ को उपनामले चिन्दैआएका छौँ। शताब्दी पुग्नै लाग्नुभएका अर्थात् उनान्सय वर्षीय उहाँलाई ‘शताब्दी पुरुष’ नै भन्दा अन्यथा नहोला। त्यो उमेरसम्म बाँच्नपाउनु जसका लागि पनि शौभाग्य नै ठान्नुपर्छ। बुढेसकालमा कठिनाइपूर्वक बाँच्नुपर्दा आइपर्ने समस्याहरु त एकातिर छँदैछन्। तर समाजमा भने धेरै वर्ष बाँच्नेहरुबाट सकारात्मक प्रभाव पर्नेगर्दछ। स्वर्गीय सिद्धबाजे अर्थात जीवलाल पोखरेल एक शताब्दी पुरुषमा गनिनु हाम्रा लागि पनि गौरबको कुरा भएको छ।
सिद्धबाजेका प्रसङ्गहरुः
उनान्सय वर्षअघि साविक प्यूठान र हालको रोल्पाको नम्जामा जन्मिनुभएका जीवलाल पोखरेल अर्थात् ‘सिद्धबाजे’ अधबैंसे उमेरमा अर्थात् २०२८ साल असारमा दाङको कनेरे भन्ने स्थानमा बसाइ सर्नुभएको थियो भने २०३० सालमा हालको देउखुरीमा पर्ने गढवा गाउँपालिका वडा न. ३ धैरेनीमा बसाइ सर्नुभएको थियो। सिद्धबाजेको जन्मथलो तत्कालिन प्यूठानको कमलेपोखरा गाउँ पञ्चायत हुँदै पछि बडाचौर गाउँ विकास समिति बनेको थियो भने उहाँको जन्मथलो नम्जा अहिले लुंग्री गाउँपालिका अन्तर्गत पर्दछ। त्यस गाउँपालिकामा सानो नम्जा र ठूलो नम्जा गरी दुईवटा नम्जा पर्दछन्। सिद्धबाजे ठूलो नम्जामा जन्मिनुभएको थियो। नम्जा रहेको कमलेपोखरा गाउँ पञ्चायतको नाम परिवर्तन भएर पछि बडाचौर गाउँ विकास समिति कायम भएको थियो। बडाचौर रोल्पाको एक मात्र विमानस्थल भएको ठाउँ पनि हो। २०४३ सालमा त्यहाँबाट दुई सय दश रपियाँ भाडामा भैरहवासम्म यात्रा गर्नेमध्येको यो लेखक पनि हो। विद्यार्थी सहुलियतमा कायम भएको भाडा रकम थियो त्यो। बडाचौर विमानस्थल अहिले पूर्णतया रुपमा बन्द छ भने पुनः सञ्चालनका लागि बेलाबेलामा नेताहरु त्यहाँ अवलोकन गर्न जाने गरेको देखिन्छ। बडाचौरमा अहिले पनि एक वर्ष छोडेर देवालीताका ठूलो मेला लाग्नेगर्छ।
सिद्धबाजेको पहिलो विवाह रोल्पाको धबाङबाट सुवेदीकी छोरीसँग भएको थियो। पहिलो श्रीमतीमा मानसिक समस्या देखिएपछि उहाँ (नाताले हाम्री हजुरआमा) घर छोडेर हिँड्नुभएको थियो, उहाँबाट सन्तान हुने कुरा पनि थिएन। हामी सानो छँदा उहाँका क्रियाकलापहरु देख्ने र सुन्नेगर्थ्यौँ। ख..र..र..र बोलिरहने उहाँको स्वभाव देखेर हामी छक्क पर्थ्यौँ। त्यतिबेला उहाँलाई उपचार गर्नका लागि नेपालमा पायक पर्ने स्थान थिएन। पछि सिद्धबाजेले प्यूठानको मानागाउँ भन्ने ठाउँबाट चन्द्रकान्त घिमिरेकी कान्छी छोरी दीपा कुमारी घिमिरेसँग मागी विवाह भयो, दीपा कुमारी हाल दीपादेवी पोखरेल भनेर चिनिनुहुन्छ। सिद्धबाजे र दीपा पोखरेलको बाह्र वर्ष उमेरको फरक छ। सिद्धबाजेका दुई मात्र सन्तानमध्ये छोरी सीता र छोरा माधव पोखरेल रोल्पाको नम्जामै जन्मिनुभएको हो। नाताले अंकल माधव पोखरेल र आन्टी यशोदा पोखरेल हाल शिक्षण पेशामा आवद्ध हुनुहुन्छ। सिद्धबाजे बुढेसकाल लाग्दैगर्दा जन्मिनुभएका छोराको उमेर भने नातीको उमेर बराबरको छ। अंकल माधवभन्दा म सात वर्ष कान्छो छु। उमेरले वरिष्ठ र कनिष्ठ भइँदैन, नाताले हुने हो।

हामी सानो छँदा उहिले सिद्धबाजे नम्जा-देउखुरी-नम्जा ओहोरदोहोर गर्दा र हाम्रो घरमा पसेर मही-पानी-चिया-खाजा-खाना खानपिन गर्नुभएको मलाई राम्ररी सम्झना छ। हामीहरुले उहाँलाई ध्यान दिएर हेर्थ्यौँ, कम बोल्ने अनि शान्त स्वभावका धनी सिद्धबाजेले हामीलाई खुर्मा (घिउमा बनाइएको बुट्टेदार डोलो र सानो आकारको रोटी) दिनुहुन्थ्यो। पिठ्यूँमा कुम्लो बोकेर पहाड-मधेस गरिरहँदा हामीहरुको ध्यान उहाँतर्फ जानेगर्दथ्यो। उतिबेला न मोटरबाटो न त गाडी सुविधा, पैदलै ओहोरदोहोर गर्न बाध्यता नै थियो। धनीमानीहरुले घोडामा सवार गर्दथे भने उहाँ दुई वा साढे दुई दिन लगाएर नम्जाबाट देउखुरी र देउखुरीबाट नम्जा आवतजावत गरिरहनुहुन्थ्यो। पहाडमा पनि जिम्मेवारी र मधेशमा पनि घर व्यवहारको जिम्मेवारी बहन गर्नुपर्दा उहाँ समयसमयमा ओहोर-दोहोर गरिरहनुहुन्थ्यो। उहाँ आफू शुद्धाशुद्धिमा रहनुपर्ने हुँदा पकाएर खाने भाँडा, रासन, घिउ-तेल आफै कुम्लोमा बोकेर हिँड्नुहुन्थ्यो। शुरुशुरुमा हाम्रो घर अगाडि मूलबाटो भए पनि गोरेटो बाटोको रुपमा थियो। सो बाटोले २०३३।३४ सालदेखि मात्रै मोटरबाटोको रुप लिनथाल्यो। चकचके-रोल्पा सडक कार्यालय हाम्रै गाउँ खुंग्रीमै थियो। त्यो बाटो हुँदै पूर्वी रुकुम र रोल्पाका धेरै मानिसहरु कोइलाबास बजारमा उपभोग्य वस्तु खरिद गर्न जानेगर्थे। उच्च पहाडी भेगका पशुपालकहरु हिउँद लागेपछि भेँडा-च्याङ्ग्राका बथान लिएर मधेश झर्दथे भने गर्मी चढेपछि आफ्नो थातथलो भेगमा उक्लन्थे। भेँडा-च्याङ्ग्राहरुको लस्कर दुई सय पचास मीटर लामोसम्म पनि देखिन्थ्यो। गोठालाहरु अगाडि र पछाडि हुन्थे, बथानमा भेँडा धेरै र च्याङ्ग्रा थोरै देखिन्थे। गोठालाहरु ऊनको धागो कात्दै हिँड्दथे भने सँगसँगै भोटेकुकर पनि हुन्थे, साथै एकदुईवटा खच्चडहरु पनि रहन्थे। भेँडा-च्याङ्ग्राका पीठ्यूमा सानाखालका थैला दुईतिर लट्काइएका हुन्थे पहाड-मधेश गर्दा। हाम्रो गाउँको छेउँतिर भेँडा-च्याङ्ग्रा बास बसेको ठाउँमा बडक्यौँला थुप्रिएको देखिन्थ्यो, गाउँलेहरुले उठाएर बड्क्यौँला मलको रुपमा प्रयोग गर्न लैजान्थे। हटारु अर्थात ढाक्रेहरु ढाकर बोकेर टिमुर, चिराइतो लगायतका जडिबुटीहरु र झ्याउ पनि बोकेर कोइलाबासतिर लैजाने गर्थे। स्वर्गद्वारी आश्रममा कुनै बखतसम्म पाहुनाका लागि ती झ्याउबाट बनेका सिरक-डसना र सिरानी प्रयोग हुनेगर्दथ्यो। समयले कोल्टे फेरेसँगै त्यस्ताखालका सिरक-डसना र सिरानीको चलन हराउँदै गएको छ।
मानिसहरु पहिले पहिले पहाडबाट तराई झर्न डराउँथे औलोबाट बच्नका लागि। २०२८।२९ सालमा हाम्रो घरमा पनि मलेरिया उन्मुलन कार्यालय थियो। कर्मचारीहरुको भने खासै काम देखिदैनथ्यो, उनीहरु क्यारेमबोर्ड खेलेर बस्दथे। मेरो जन्मथलो रोल्पाको खुंग्री समुद्र सतहबाट सात सय मीटरको उचाइमा रहेको छ अर्थात काठमाडौँको भन्दा आधा कम उचाइमा रहेको छ। काठमाडौँमा कतिपय साथीहरुले मलाई प्रश्न गर्नुहुन्छ- “रोल्पाबाट काठमाडौँ कहिले झर्नुभएको हो?” भनेर। वास्तवमा एक किसिमले यो प्रश्न मिल्दैन। हुन त काठमाडौँको उचाइभन्दा पनि बढी उचाइ रहेका स्थान रोल्पामा नभएका भने होइनन्। तर रोल्पालाई डोल्पा सरह ठान्ने धेरै छन् रोल्पा नटेकेका मान्छेहरु। राप्ती भेगको त्यतिबेलाको मुख्य बजार घोराही जानेहरु मेरो जन्मथलो खुंग्री हुँदै घोडाखोलाको किनारैकिनार धैरे-मैचन्ने भएर मसिना पुग्थे र त्यहाँबाट तेर्सो हिँड्दै कल्लेरी हुँदै ओरालो झरेर अरङखोला तरेपछि धौलबाङतर्फ उक्लिने अनि हल्का उकालो ओरालो र तेर्सो बाटो हुँदै दाङको पहाडीभेगको राम्चे पुग्ने गर्दथे। राम्चेबाट सेवारखोला पुग्न पनि केही ओरालो नै हिँड्नुपर्छ। सेवारखोलाको किनारैकिनार दक्षिणतर्फ हिँडेपछि बलाले भन्ने ठाउँ आउँछ। उहिले हामी त्यो बाटो हिँड्दा बलालेमा चिया पिउन र अर्नी-खाजा खान त्यहाँको एउटा सानो होटलमा पस्थ्यौँ। थकाइ र भोकप्यास मेटाएर त्यहाँबाट केही बेर हिँडेपछि घोराही बजार पुग्थ्यौँ। त्यो बेलाको घोराही र अहिलेको घोराहीमा आकाश-जमिनको फरक छ।
२०३९ सालको एसएलसी परीक्षाको परीक्षाफल २०४० सालमा प्रकाशित भएपछि सोही सालको भदौमा काठमाडौँ टेकेको र यतै उच्चशिक्षा हासिल गर्दै संस्थान सेवा १६ वर्ष र निजामती सेवा २३ वर्ष गरी करिब ३९ वर्ष सरकारी सेवा गरेर २०७९ असार २३ देखि अनिवार्य अवकाश पाएँ। अवकाश पश्चात् साहित्य तथा लेखनमा सक्रिय हुँदा यतै काठमाडौँमै अलमलिनु परिरहेको छ। काठमाडौँको ज्यादा प्रदूषणका कारण मलाई यहाँ बस्न मन नभए पनि सिर्जनाका कामहरुको माध्यमबाट समय व्यतित गर्न र समाजका लागि केही गर्न अनुकूल भएकोले गाउँमा फर्किने सम्भावना छैन। तर मलाई गाउँको माया भने ज्यादै लाग्दछ र बेलाबेला अप्रत्यक्ष रुपमा जन्मथलोको सेवा पनि गरिरहेकै छु।
सिद्धबाजे सधै नियममा रहने, नित्यकर्म गर्ने, पूजापाठ गर्ने र समाजका बुझेका सबैले सम्मान गर्ने व्यक्तिको रुपमा चिनिनुहुन्थ्यो। म उहाँको बासस्थान गढवा गाउँपालिकाको धैरेमा दुईपटक मात्र पुगेको छु। म आठ वर्षअघि त्यहाँ पहिलोपटक पुगेको थिएँ भने डेढ वर्षअघि दोस्रो पटक पुगेको थिएँ। कुप्रिएर भित्र-बाहिर गर्ने र लठ्ठी टेकेर नजिकका केही ठाउँहरुमा आउने र जाने गर्नुहुने उहाँ सक्रिय मान्छेको रुपमा लिएको थिएँ। डेढ वर्षअघिको उहाँसँगको मेरो भेट अन्तिम भेट हुनपुग्यो। अहिलेको जममानामा उनान्सय वर्षसम्म बाँच्ने मान्छे कमै हुन्छन्। सुरक्षित आहार र तन-मनको ख्याल राखेमा अवश्य पनि दीर्घजीवि हुनेमा दुईमत छैन। मीठो भन्दै जे मन लाग्यो त्यही र असुरक्षित भोजन गर्नाले अनि व्यायाम नगर्नाले नै मानिस विरामी हुने गरेको पाइन्छ।
आफ्नो ज्यानलाई अद्यावधिक राख्न ध्यान दिदैआउनुभएका शताब्दी पुरुष खास शताब्दी पुग्न एक वर्ष बाँकी हुँदाकै उमेर वा अवस्थामा ढल्नुभयो जीवलाल पोखरेल अर्थात् ‘सिद्धबाजे।’ अहिले उहाँको घरमा सन्नाटा छाएको छ। सबै शोकाकूल अवस्थामा हुनुहुन्छ/छन्। हाम्रो नाता सम्बन्धमा धेरे बाँच्नेमा उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ। उहाँका भाञ्जा अर्थात् हाम्रा पिताजी दुई वर्षपछि नब्बे पुग्दैहुनुहुन्छ। उहाँले पनि स्वास्थ्यलाई अद्यावधिक राख्नका लागि सुरक्षित भोजन गर्ने र नियमित रुपमा व्यायाम-योग गर्दैआउनुभएको छ। धेरै धर्मशास्त्रहरुको अध्ययन गर्नुभएका जीवलाल पोखरेल अर्थात् सिद्धबाजेलाई समाजले ‘ब्रह्मज्ञानी’ पुरुषको रुपमा पनि चिन्दैआएको छ। पहिलेदेखि नै प्रचार भैदिएको भए सायद उहाँ राष्ट्रियस्तरमै ‘शताब्दी पुरुष’ को रुपमा परिचित हुनुहुन्थ्यो होला। हाम्रा नातावृत्तका शदाब्दीपुरुष श्रद्धेय सिद्धबाजेप्रति भावपूर्ण श्रद्धाञ्जलि!!!







