
लघुकथा
धुर्त्याईँ
ध्रुवराज थापा ‘पुरूष’
‘हाहाहाहा कस्तो लाग्यो त हाम्रो कला ?’ निर्णायक-१ ले आफ्नो धुर्त्याईँको वकालत गर्यो ।
डा.सम्राटले खुसीले प्रफुल्लित हुँदै भने, ‘मानेँ मैले तपाईँहरूलाई ! तपाईँहरूको यो गुण म कहिल्यै भुल्ने छैन ।’
निर्णायक-२ ले थपे, ‘तपाईँले देखिहाल्नु भयो नि,कतिवटा कृति निकाली सकेका मान्छेहरू पनि पछारीए! हामीले चाहेमा दिन पनि रात हुन्छ!’
निर्णयक-३ ले बहादुरी देखाए,’तपाईँले कोरकार गरेको कवितालाई हामी तीन भाई मिलेर प्रदेश मै उत्कृष्ट बनाईदियौँ! तपाईँ पहिलो कविताबाट नै चर्चित हुनुभयो!’
निर्णायक-१ ले मुख खोले, ‘के को चर्चित मात्र नि ? स्थापित कवि हुनुभयो! डा.भनेपछि कसैले शङ्का गर्ने कुरै भएन! हामीले तपाईँको भन्दा धेरै उत्कृष्ट कवितालाई फोहोर दानीमा फ्याँकीदियौँ । ती कवितालाई छनोट मै पारेनौँ हामीले! तपाईँलाई पहिलो बनाउँन कम्ता पापड बेल्न परेन हामीलाई!’
यत्तिकैमा रेष्टुरेन्टको वेटरले एक कार्टुन बियर र ग्लास राखिदियो । सेकुवा सहित विभिन्न खानेकुराका परिकारले टेबुल भरियो ।
निर्णायक-३ ले भने,’अब आज तपाईँले प्राप्त गर्नुभएको पुरस्कारको भरपूर सदुपयोग गर्नुपर्छ!
सबैले बियरले भरिएको ग्लास एक आपसमा ठोक्काउँदै भने,’चियर्स!’
काभ्रे,पनौती,हालः कपन, काठमाडौँ







