
काठमाडौं।नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लेखक, साहित्यकार तथा नेत्री शोभा अधिकारीलाई समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरेको छ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा सक्रिय अधिकारीलाई पार्टीले प्रतिनिधि सभा सदस्य पदको समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको हो।
हाल नेपाली कांग्रेस गण्डकी प्रदेशको शिक्षा, विज्ञान र प्रविधि विभाग प्रमुख रहेकी अधिकारी गोरखा कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ। उहाँको राजनीतिक यात्रा विद्यार्थी कालदेखि नै सशक्त रहँदै आएको छ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय सदस्यको रूपमा तीन कार्यकाल जिम्मेवारी सम्हाल्नुभएकी अधिकारीले कांग्रेसका वर्तमान युवा नेताहरूसँग समकालीन राजनीति गर्नुभएको थियो। अहिलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष रहँदा अधिकारी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को उपसभापति हुनुहुन्थ्यो।
त्यस्तै, चर्चित नेता गुरुराज घिमिरे नेविसंघको केन्द्रीय अध्यक्ष हुँदा अधिकारी सोही समितिको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने वर्तमान कॉग्रेस महामन्त्री गगनकुमार थापा सोही समितिमा महामन्त्री र युवा नेता प्रदीप पौडेल उपाध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी राजनीतिबाट खारिएर आउनुभएकी अधिकारी त्यसपछि गोरखाको पार्टी राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ।
प्राज्ञिक र साहित्यिक व्यक्तित्व।राजनीतिसँगै पढाइ र लेखनमा पनि अधिकारी उत्तिकै अब्बल हुनुहुन्छ। व्यवस्थापन संकायमा एमबिएस तथा समाजशास्त्ररमानवशास्त्रमा एमए गरी दुई विषयमा स्नातकोत्तर हासिल गर्नुभएकी अधिकारीले लामो समय कलेजमा प्राध्यापन समेत गर्नुभएको छ।
विगत २०५७ सालदेखि लेखन र प्रशिक्षणमा संलग्न उहाँ नेपाली लेखक संघको केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँका समसामयिक राजनीति, समाज र साहित्यसम्बन्धी ७०० भन्दा बढी लेख-रचनाहरू विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइन मिडियामा प्रकाशित छन्।
छिट्टै नै उहाँका ‘आमाको आँखाु'(लघुकथासंग्रह), ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ (प्रेरणात्मक पुस्तक) र ‘मुटुको मसी’ (उपन्यास) बजारमा आउने तयारीमा छन्।
बौद्धिक नेतृत्वको खाँचो परेको बेला,बहुप्रतिभाकी धनी, निडर र शालीन व्यक्तित्वको छवि बनाउनुभएकी अधिकारी उत्प्रेरकको रूपमा पनि परिचित हुनुहुन्छ। उहाँ पञ्चायतकालमा लोकतन्त्रको पक्षमा लाग्दा निर्वासन जीवन बिताउनुपरेको र सर्वस्वहरणमा परेका तेह्रथुमका स्वर्गीय हरिप्रसाद दाहालको परिवारको सदस्य हुनुहुन्छ।
भूगोल, समाज, संस्कृति र जीवन-जगतलाई नजिकबाट बुझेकी अधिकारी जस्तो प्राज्ञिक र अनुभवी महिला नेतृत्व नीति निर्माण तहमा पुग्नु आवश्यक रहेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ। बौद्धिक र इमानदार छविकी अधिकारीको सिफारिसलाई सबैले सकारात्मक रुपमा लिएका छन् ।
