
चर्चामा पुस्तक
नियालेर आकाश
गङ्गा सुवेदीको पाचौं कथासङ्ग्रह ।यसभित्र मान्छेका निराशा,मानवीय संवेगहरु पोखिएका छन् । भावनाका गुम्फनहरु उजागर भएका छन् ।
कथाका विषयवस्तुहरु आफ्नै समाज र त्यस वरपरका कथानकहरु टिपेर बुनिएका छन् ।त्यसैले प्रायकथाहरु सामाजिक यथार्थवादी धारमा बगेका छन् ।विशेषत :नारीपात्रका संवेदना र उनीहरुले भोग्नुपरेका दुःखहरु कथामा मुखरित भएर आएका छन् । नारीका समस्याहरुले कथाहरु पोखिएका छन् । जसमा पारिवारीक समस्या,पति वा पुरुषबाट प्रताडित नारीका व्यथा,यौनशोषणका कुरा समेत कथाहरुमा खोतलिएको छ । पाठक कथा पढ्दा भावुक बन्छ । पारिवारीक उतार चढावहरु पनि यहाँ पढ्न सकिन्छ । यस्तै विषयगत विविधताका २५ वटा कथा कृतिमा समावेश भएका छन् ।
आयामका हिसावले छोटा र मझ्यौला छन् कथा । भाषा सरल,सुलोलित र बोधगम्य छ । पढ्न मन लाग्ने कथाहरु रोचक छन् ।
नियालेर आकाशलाई चेतना संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
कसका लागि?
लघुकथाकार लक्ष्मी पोखरेलको कसका लागि? मा सामाजिक विषवस्तुहरुमा रहेर लेखिएका लघुकथा छन् । तपाईं हाम्रा भोगाइहरु लघुकथाहरुले बोलेका छन् । कतिपय कथाहरु आदर्शउन्मुख लाग्छन् । पारिवारीक,राजनीतिक,प्रवास,साइवर लगायतका विषयहरुमा कृतिभित्र ६२ थान लघुकथाहरु समावेश भएका छन् ।
सरल भाषा प्रयुक्त लघुकथाहरुमा कहिं बिम्ब र प्रतिकहरुको छनक पनि पाउन सकिन्छ ।
कसका लागि ? पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित भएको हो । यसको मूल्य रु.२०0। रहेको छ ।
मान्छेको जात
झमक भट्टराईको कथासङ्ग्रह हो मान्छेको जात । नेपाली समाजका विभिन्न चरित्रहरुका पात्रहरुको १४ थान कथा यस यसभित्र परेका छन् । भावुकता भन्दा पर मान्छेका चेतनाका विषयले कथामा विषयवस्तुको रुपमा स्थान पाएका छन् । कर्मचारीतन्त्रको साङ्गोपाङ्गो चरित्रमा कथा बुनिएको छ । महारोग जस्तो फैलिएको भ्रष्टाचारले कथाको विषय बनेको छ । नेपालको विद्रुप राजनीतिको चित्र कोरिएका कथा पनि छन् ।
यथार्थवादी धारमा कथाकारमा भएको प्रवल व्यङ्ग्यचेतले कथाहरु लेखिएका छन् ।
सरल भाषाशैलीले कथामा प्राण भरेका छन् । कलात्मकता लेपन गरिएको छ ।कथाहरु आयतनको हिसावले मझ्यौला कदका छन् ।
मान्छेको जातलाई स्वदेश प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । यसको मूल्य रु.३००। रहेको छ ।







