काठमाडौं । नेकपा(एमाले)का सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको पूर्नगठनको आवश्यकता रहेको बताएका छन् ।
उनले एमालेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै दश बुँदे सुझाव समेत पेश गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उनको सुझावमा आफ्ना गल्तिप्रति आत्मालोचित हुन तयार रहनुपर्छ । साथै जेनजीका सकारात्मक मागहरु सम्बोधन गर्न सहयोग गर्नपर्नेमा पनि उनको जोड छ ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
प्रिय कमरेडहरू,
हामी यति बेला इतिहासकै गम्भीर संकट अवस्थामा छौं। देश र समाज भयानक अस्थिरतामा छ। हामी सबै तनावमा छौं। यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन।
तसर्थ विकसित घटनाहरूलाई राम्रोसँग विश्लेषण गरौं। हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचन गरौं।
पार्टी सङ्गठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं, जसले हाम्रो पार्टीको एकता कायम गरोस्।
पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौं।
पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्ण रूपमा पारदर्शी र लोकतान्त्रिक बनाऔँ।
जनतामा जाऊँ, जनतालाई सुनौं र त्यसअनुसार निर्णय गरौं।
लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानुनको शासन जवजको आत्मा हो, यसबाट दायाँ र बायाँ नजाऔं।
खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ। नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौं।
हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा–भाषीबीचको एकतालाई बलियो बनाऔं।
देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप निकास दिनुपर्दछ। विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ। यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं।
जेन जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं।