
यात्रा संस्मरण
सिक्किममा अढाइ दिन
बिजयभक्त श्रेष्ठ
साउथ सिक्किमको दामथाम बजारमा किनारा तथा खाद्य दोकान र परिवार सप्रेम सम्हालेर बसेकी छिन् बहिनी । एक डेढ महिना अघिदेखि विमार भएर बसेकी र लिन आए माइती आउने सोच पालेर बसेको खबर पाएँ । बहिनीले निजको जन्मदिनको विहान मोवाइलमा मेसेज पठाइन् ।
शुभकामना सहित म आउँछु भनि जवाफ दिइहाले । घरसल्लाह गरेर असार २० गते पूर्वको रात्रीवस चढेर जाने निधो गरेँ । उनको सन्देश समाचारले त अहिले भरखरै जाउँ भएको थियो । तर घर अफिस गोठ सबै व्यवस्थापन गरि म फर्की नआउञ्जेल राजदेवी(गाई)को सुसार गर्न भाइलाई भनें ।
उनले भने-‘ढुक्क हुनुस् दाइ म छदैछु नि दिदीलाई लिन जानुस्।’
उनको कुराले मलाई ढुक्कको आभाष दिलायो।बिहानको नियमित कर्म सकेर मकै पिन्न मेलमा भारी लगेर पिठो लिएर आएँ ।
श्रीमतीजीले जन्मदिनकोलागि तयार गरिराख्नु भएको दुईभारी घाँस पनि लिन जान भ्याएँ। लुगा एकघान धोएँ । नुहाएर खाना खाएँ। केहिथान लगाउने कपडाहरु झोलामा खाँदेर कार्यालयमा आइपरेका काम सकेर साँढे तीनबजेदेखि बसको प्रतिक्षाको लाइनमा खडाहुँदा साँढे चारबजे बसमा चढियो।
धुलिखेलबाट सिन्धुलीको बाटो भएर हुँइकियो सरर। भकुण्डे बुच्चाकोटमा नास्ता गराउन रोकियो। पसलेले उता बाटो खराव छ लामो जाम पर्छ टन्न खाएर जानुस् है भनेर ठुलै समाजसेवा गरिरहे झै लागेको थियो। जव खानेकुरा खानथाले तिनले त व्यापार गर्ने मेसो गरेका रहेछन् भन्ने अवगत भइहाल्यो किनकी खानेकुरा राम्रो थिएन। दाम चै राम्रै लियो। कहिँकतै अवरोध रोकावट थिएन। सिन्धुली राटमाटेमा फेरि चिया नास्ताकालागि केहिबेर रोक्यो।सिमसिम पानी परिरहेको थियो।त्यही भएर सितल थियो। बसमा पुष्पा २ नामक हिन्दी फिल्म चलिरहेको थियो। निकै नै आक्रमक व्यापार गरेको उक्त फिल्म मैले हेरेको थिइन। गाडीभाडाकै पैसाले उक्त फिल्म निःशुल्क हेरियो।उक्त चलचित्रले श्रीमतीप्रतिको प्रेमले अत्यन्त मन छोयो। श्रीमान श्रीमतीका विचको आपसी प्रेम,सद्भाव,विश्वास समर्पण,साथ सहयोग र सल्लाह नै सुखद दाम्पत्यता हो। मेरो मनोभावलाई बुझ्ने मेरी श्रीमतीले देखाएको सदाशयतालाई पनि सम्झें। फिल्म हेर्दाहेर्दै लालगढमा खाना खान पुगियो। फिल्मको स्वादलाई खानामा अनुभुत गरि मजा लिइयो।
बाटोको हालत जे जसो भएनि चालकको हँकाइ शिपमुलक थियो।विहान सातबजे पूर्वको काँकडभित्ता नाका पुगियो। मेची पुलबाट भारततर्फ पैदल यात्रा गर्दैगर्दा पुलको मध्यभागमा पुगेपछि अव देश छोड्दैछु भन्ने अनुभुत भयो। नमज्जा लाग्दो रहेछ। बाध्यताले कयौं विदेशिएका नेपालीजनहरु सम्झे।अनि सम्हालिएँ। सिमा सुरक्षा नाममात्रको लाग्यो। भारतीय सुरक्षाकर्मीले चेकजाँच गरेपछि पानीटैकीबाट सिलिगुडीको लागि ट्याक्सी चढेँ । त्यसपछि सिलिगुडीबाट सिक्किमको जोरथाम जाने ट्याक्सीमा बसियो। सुरक्षाबलका तीन जवानहरु र म एकै लहरमा । उनीहरुको कपाल कटाइ र मेरो एकैखाले थियो । पहिरन पनि उही रँगको हाफपाइन्ट र टिसर्ट । म पनि सुरक्षाबलकै जवान जस्तो । मेरो जुँगाको कारण उनीहरु भन्दा म अलिक सिनिएर देखिन्थेँ । टिष्टा खोलाको किनारै किनार जाँदै गर्दा नेपालको इतिहास पढेको झझल्को आयो। त्यहाँसम्म पुगेका थिए रे हाम्रा वीर वीरँगनाहरु। मल्ली भन्ने स्थानबाट त्यही टिष्टा तरेपछि पश्चिम सिक्किम प्रवेश होइन्छ ।

यस अघि पनि बारबार सिक्किम गएको थिएँ। मुख्यमन्त्री नरबहादुर भण्डारी हुँदा १ पटक पवनकुमार चाम्लिङ्ग हुँदा ७ पटक र अहिलेका पिएस गोलेको कार्यकालमा दोश्रो पटक। सिक्किम जाँदा नेपाल छोडेर कहिँ कतै गए जस्तो त लाग्दैन। प्राकृतिक छटाहरुले सजिएकी पहाडको रानी उपमा पाएको सिक्किम अझ सुन्दर समुन्नत सुसाँस्कृतिक नेपालमा पुगे झै लाग्छ । विकास बिजुली,बाटो ,पार्कहरु,मठमन्दिरहरु,नेपाली साहित्यकारका प्रतिमाहरु,नेपाली भाषा त्यो पनि मिजासिलो ती सबैले सुखद अनूभुति गरायो ।
यो पटक बाटोहरु विग्रिएको, भत्कीएको भएपनि मर्मत नगरिएको पाएँ । मैले चालक दाजुसँग सो सम्वन्धमा कुरा पनि गरेँ । डल्लै कार्पेट बेरेर पोको पारेर लग्यो कि क्या हो गोले महोदयले भनेर । हाँसेर खै त्यस्तै मानम न भन्नुभयो । नेपालकै बाटाहरु राजमार्गहरु सम्झना भयो । अनि भ्रष्टाचारको गन्ध महशुस गरेँ । नेपाली हो नि । नेपाल जस्तै त हो नि । त्यस्तै सुनाउनुभयो गुरुजीले पनि । भण्डारीको पालामा जताततै हात्तीको चिन्ह भएका झण्डाहरु देखिन्थे घरघरमा चोकचोकमा । चाम्लीङ्गको पालामा छातैछाता। अहिले टेवल ल्याम्प छापिएका झण्डाहरु मात्रै देखिन्छन्। यो कस्तो चलन हो। विपक्षीविहिन जस्तो। सत्ता र शक्तिकै दास जस्तो । मैले सोधेँ पनि यहाँको यो कस्तो पारा भनेर । के त अव सिक्किममा सबै सिक्किम क्रान्तीकारी मोर्चा एसकेएम मात्रै छन् सिक्किम डेमोक्रेटीक फ्रन्ट एसडिएफ छैनन् । किन नहुनु नि के गर्नु बोल्नु हुँदैन सरकारको खिलाफ बोल्यो भने त फेरि साह्रो पो पार्छ खेद्छ नि रे । होस् चुप लागेर बस्ने हो रे । यसरी कहिलेसम्म चल्छ त भनेको चल्छ मजाले चल्छ रे !पैसाले चल्छ रे!पावरले चल्छ रे ! जसरी पनि चल्छ रे! चाम्लीङ्गले जस्तै बीस पच्चीस बर्षै चल्छ रे। चलोस् राम्रोसँग चलोस् । पैसाले किनेर र मेशिन उल्टापाल्टा गरेर नचलोस् भनिदिएँ ।
जोरथाङ्गबाट गेजिङ्ग बजारमा फुपुको घर गएँ। बुहारी नानी छक्क परिन्। म कुनै सूचना विनै त्यहाँ पुगेको थिएँ। खासमा विमारी बहिनीलाई लिन गएको म त्यहाँसम्म पुगेर फुपुलाइ नि भेटम भनेर नि । आफन्तहरु भनेको भेटी रहनुपर्छ । त्यसमा चेलिवेटीहरुलाई त झनै माइतीको याद प्यारले बेसी नै सताउँछ । बेलाबेलामा माइतीका मान्छेहरु देखभेट मात्र गर्न पाउँदा पनि माइतमै पुगेको महशुस हुन्छ भनेर सुनेको थिएँ । त्यहाँसम्म पुगेपछि सकेसम्म वरपरका सबैलाइ भेटम भनेर पेलिङ्ग र लावङ्गमा पनि पुगियो धेरै आफन्त प्रियजनहरु भेटियो । साढे तीनबाट शुरु भएको भेटघाट साँझ साढेसातसम्म जारी रह्यो । वहाँहरु पनि खुशी आफु झनै खुशी । राती अवेरसम्म भलाकुसारी भयो । विगतका कमीकमजोरी र समस्याहरुका बारेमा चर्चा भयो । विहान ७ बजे नै गेजीङ्ग छोडेर दामथाम जाने योजना सुनाएँ ।
ठिक ७ बजे मैले गेजीङ्ग छोडेर लेगसेप बजारमा पुँगे । त्यहाँ पनि छन् मेरा भाइबुहारीहरु । झोला बिसाएर किराँतेश्वर महादेवको दर्शन गर्न गएँ । एकादशीको दिन थियो । तुलसी रोप्ने दिन थियो । मन्दिर परिसर पनि पहिलाको झै चिटिक्क परेको थिएन । सरसफाइ रँगरोगन गर्न भुलेको जस्तो देखिन्थ्यो । नमज्जा लाग्दो रहेछ । हुन त भगवान स्वयँले त केहि गर्ने होइन मान्छेले नै गर्ने हो । मान्छेले के के चै गर्ने हो भगवानको लागि मन्दिर कि आफ्नै लागि घर । गाह्रो छ नि भगवानलाई पनि र मान्छेलाई पनि । अनि मनमा कुरा खेल्न थाल्छ । भगवानले मान्छे बनाएको कि मान्छेले भगवान भनेर । हाँस्न मन लाग्छ भगवानलाई नि गाली गर्ने हामी मान्छे सम्झेर ।
लेगसेपमा चिया नास्ता गरिरहँदा टासीदिङ्गका दाजु आइपुग्नु भयो । हिजै राती उहाँसँग कुरा भएको थियो। भाइ भेटेर मात्रै जानुस् ल भन्नुभएको थियो । वहाँले आफ्नो गाडीमा राखेर आफैले हाँकेर घरमा लिएर जानुभयो । भाउजुले मिठो खानु खुवाउनु भयो । फेरि उही गाडीमा बसाएर लेगसेप नाम्ची बजार घुमाउँदै बहिनीको घर दामथाम लगिदिनुभयो । केहिबेर बस्नुभयो अनि फर्कनुभयो आफ्नो बासस्थान । म चै रावङ्ग घुम्न निस्केँ । त्यहाँ स्थित बुद्धपार्कले जो कोहीलाई मोहित पार्छ । साँच्चीकै शान्तिक्षेत्र । निकै रोमाञ्चित भएँ । प्रफुल्लित र आनन्दित भएँ। आफ्नै नमोबुद्धलाई सम्झेँ ।
वास्तवमा सिक्किम त बुद्ध धर्मावलम्वीहरु शान्तिका अनुरागीहरु सबैका लागि अनुपम स्थल हो । ऐतिहासिक धार्मिक महत्व बोकेका अलौकिक गुम्वाहरु प्रशस्त छन् त्यहाँ । पेमेङ्गचे गुम्वा अद्भुतको छ । जिवन मरनको चक्र दर्शन झल्काउने कला कुँदिएको छ त्यहाँ ।
त्यहाँबाट पुन दामथाममा आइ बहिनीसँग बसेर भलाकुसारी भयो । विगत एक डेढ महिनादेखि सताएको रहेछ विमारीले । यता घरका सबैसँग कुराकानी भएकै थियो । मसँग मात्र नभएको रहेछ । मैले कल मेसेज गरेन भनेर मन दुःखाएर बसेकी रहिछे बहिनी । म आफ्नै कार्य व्यस्ततामा रुमल्लिएको थिएँ । जेठको १८ गतेदेखि भारी बर्षा हुने होहल्लाका विच असार १५ सम्म पनि रोपाइ गर्न नपाउँद छटपटीएको थिएँ । तै १५ गतेको बर्षादले आश जुर्मुरायो । खेत तयार गरेर १८ गते रोपाइ गर्ने निधो भयो । १७ गते काठमाण्डौबाट छोरी पनि आइन् रोपाइमा सघाउन । घरमा आउनासाथ उता सिक्किममा दिदीसँग कुरा भएको कि नाइ वहाँ त कस्तो विमार हुनुहुन्छ भनेर सुनाइन् । १८ गते मजाले रोपाइ भयो । १९ गते बहिनीको जन्मदिन । मेसेज गरे शुभकामना भनेर अनि सोधेँ के कसो छ भनेर । तिनको मेसेज पढ्दा मुटु निचोरियो । मैले म आउछु लिन भनेँ । यस्तै कुराकानी गरि विहान ६ बजे नै दामथामबाट नाम्चे हुँदै डाइरेक्ट काँकडभिट्टाको गाडीमा जाने कुरा भयो ।
भोलीपल्ट विहान भाञ्जाभाञ्जी लाइ टोकन अफ लभ भनेर केहि नगद हातमा राखिदिएँ । बहिनीले आफ्ना छोराछोरीलाई अँगालो हाल्दै चुम्वन गर्दै विदावारी हुँदाको क्षणले मलाई भावुक बनायो । मन थामेर हिजैको योजना पछ्याउँदै गयौं । सिटमा बस्दा पनि गाह्रो मानेकी थिइन् बहिनीले । दुःखी रहेको थियो पुरा जिउ । मुहार मलिन थियो । मोवाइल डाटाबाट नेपालमा प्लेनको टिकट फिक्स गरियो । भद्रपुरबाट २ बजेको फ्लाइट चढेर काठमाण्डौ जाने तय भयो । हामी ढिलामा ११ बजे काँकडभिट्टामा पुगिसक्ने अनुमान थियो । एक्कासी गाडीहरुको लाइनमा हाम्रो गाडी पनि लाइन बस्यो । निकै लामो थियो लाइन । निक्कै पर पहिरो गएर ठुल्ठुला ढुँगाहरु बाटोमा पछारिएको रहेछ । पन्छाउँन चारपाँच घण्टा लाग्ने पुर्वानुमान सुनाए । टिकट मिलाइदिने दाजुलाई अवस्थाको जानकारी गराइ उक्त समयमा हामी आइपुग्न असमर्थ रहने जानकारी गराएँ । अर्को फ्लाइटको लागि मिलाउँदा थप दस्तुर लाग्यो । सवापाँच बजेको मिलाइ दिनुभयो । करिव २ घण्टापछि रस्ता क्लिएर भयो । अनि विस्तारै गाडीहरु पनि पास हुँदै गयो । हामी पनि पास भयौ । सडक अवरुद्ध भइ सवारीहरु लाइनमा परेको देखेर पनि भिआइपीहरुको गाडी साइरन बजाउँदै अघि बढेको पनि देखियो । तर ढुँगा नाघेर जाने ताकत त ति भिआइपीहरुको पनि नहुँदो रहेछ । गुहु खाने भिआइपीहरु भनेर सराप खाए तिनीहरुले । नेता भनेसी उता नि एलर्जी पाएँ ।
हामीले काँकडभिट्टाको एक होटलमा खाना खाइ भारतीय नगद दिइ नेपाली रकम साट्ने काम भयो । पाँचसयका भारु लान दिदैन रे प्लेनबाट भनेर सुनाएकाले साट्नु परेको हो । अरे प्लेनबाट लान नमिल्ने अनि बस ट्रकमा चै जति पनि लान मिल्ने कस्तो परीपाटी हो यो। सुनेर अचम्भित बनें म। साटिएको पैसाको विटो पेन्टको गोजीमा थियो । चन्द्रगढी विमानस्थलमा चेकजाँच भयो । गोजी छाम्यो । नेपाली हो कि भारतीय हो भनेर सोध्यो मैले नेपाली भनेँ । हेरम देखाउ पनि भनेन । यो कस्तो जाँच हो । डर देखाउने भर नलाग्ने चेकजाँच । मलाइ याद आयो नेपालको एअरपोर्टबाट के के पास गराउन सकिन्छ भनेर भनेको । अनि कुइन्टलका कुइन्टल भित्रिएको र एउटा सिक्री समेत नछोडेको समाचारहरु झझल्कोमा आयो । त्यसै कहाँ भनेको हो र यो नेपाल हो । नेपाली हो नि भनेर ।
सवा पाँच बजेको बुद्ध एयर छ बज्न पन्ध्र मिनेट बाँकी रहँदा उड्यो । माथिमाथि उड्दै गर्दा बहिनी र वरपरका पेसेञ्जर हेर्दै थिएँ म । बहिनीलाइ त एक्लै निकै डर लाग्ने भएर मलाई आउनु भनेको नि भनिन् । अर्कोतिरको सिटमा सवार महोदय नमस्कार मुद्रामा मन्त्र जप्दै हुनुहुन्थ्यो । मलाई त डर लागेको थिएन तर सहजै सफल अवतरण होस् भन्ने कामना चै गरिरहेँ । केहि भइहाल्यो भने त कोहिपनि बाँकि रहँदैन नि । बहिनीले अहमदावाद एअरक्र्यास सम्झिन । टैट त्यस्तो सम्झने नै होइन नि । बुद्धको देशमा बुद्ध एअरमा ढुक्क हुन भनेँ । कहिले बादलको माथिमाथि कहिले बादलसँगै त कहिले बादल मुनी हुँदै ४५ मिनेटको हवाइ यात्रा त्रीभुवन विमानस्थलमा अवतरित भयो ।
शुक्रवार घरबाट निस्केको म । शनिवार विहान नेपाल छोडेको म सोमबार नेपाल प्रवेश भएँ । शनिवार र सोमबारको विहान वेस्टबँगालमा वित्यो । बाँकी समय सिक्किमका दुई जिल्लामा वित्यो । बर्षाको समयमा यताउती नजान सचेत गराइ रहँदा पनि बहिनीका खातिर ढाइ अक्षर प्यारका खातिर सकुशल चारदिने यात्राको मजा लिइयो । त्यस्मा पारीवारिक जमघट सामाजिक आर्थिकराजनीतिक छलफल र मनोरञ्जनात्मक तथा धार्मिक अनुभुति सहित वित्यो सिक्किममा अढाई दिन ।







