
व्यक्ति निबन्ध पवन आलोक
मूर्धन्य साहित्यसेवी : श्रीओम श्रेष्ठ ‘रोदन’
स्रस्टाहरुको भीडमा परैवाट स्पष्ट रूपमा चिनिने व्यक्तित्वको नाम हो श्रीओम श्रेष्ठ रोदन । नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा उहांले विशिस्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर कृयाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघुकथा,नियात्रा जस्ता विधाहरुमा थुप्रै कृतिहरु पनि उहांले नेपाली साहित्य भण्डारमा दिई सक्नु भएको छ । त्यस्को अलावा अन्तरवार्तासंग्रह र व्यक्ति निवन्धसङग्रह ( अभिवन्द्य) पनि प्रकाशित छन उहांका ।
वर्तमान पुस्ताका निवन्धकारहरु मध्ये निवन्धको शैली र प्रस्तुतिमा पृथक पहिचान वनाउनु भएका श्रीओमजी सशक्त निवन्धकार हुनुहुन्छ । विशेष गरि आत्मपरक निवन्धमा उहांको विशिस्ट पहिचान छ । वि.सं. २०७८ मा प्रकाशित व्यक्ति निवन्धसङ्ग्रह ” अभिवन्द्य”मा उहांले प्रयोग गरेको शैली र प्रस्तुति अन्य निवन्धकारहरुको भन्दा भिन्न र नितान्त नौलो छ । यो कृति निक्कै चर्चित पनि भयो र यसले एउटा महत्वपूर्ण पुरस्कार पनि प्राप्त गर्न सफल भयो। यस्को तेस्रो संस्करण पनि प्रकाशित भैसकेको छ।
नेपालको साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि उहांको योगदान महत्वपूर्ण रहेको छ। गोरखापत्र संस्थानवाट प्रकाशित नेपालकै अग्रणी र प्रशिद्ध साहित्यिक मासिक पत्रिका “मधुपर्क” मा दुई दशक भन्दा वढी सम्पादन गरेको अनुभव वटुल्नु भएको छ रोदनजीले । नेपालकै पहिलो र ऐतिहासिक दैनिक पत्रिका ” गोरखापत्र” को प्रधान सम्पादक र प्रवन्ध सम्पादकका रूपमा करीव चार वर्ष सफलतापूर्वक काम गरेको अनुभव पनि रोदनजी संग छ। यी पत्रिकाहरुका अतिरिक्त प्रगति स्मारिका, झम्सिखेल सामयिक, ध्येय चिन्तन वार्षिक,ललितज्योति त्रैमाशिक, चिमाल कविता विशेषांक, कुमारी, पूर्णिमा र वारपार , खसखस, विस्वाश लगायतका सत्र पुस्तक र पत्रपत्रिकाको सम्पादन गरिसक्नु भएकोछ । उहांले सम्पादन गरेको एउटा महत्वपूर्ण पुस्तक “समकालीन नेपाली निबन्ध” वि. सं. २०७९ मा प्रकाशित भएको छ । यो निबन्धसङ्ग्रहमा नेपालका स्थापित र चर्चित पैंतालिस निवन्धकारहरुका निबन्ध संग्रहित छन । श्रीओम जी कुशल सम्पादकका रुपमा पनि नेपाली साहित्यिक फांटमा सुपरिचित हुनुहुन्छ ।नेपाल स्रस्टा समाजवाट प्रकाशित हुने गरेको “स्रस्टा दर्पण”को प्रधान सम्पादक र देशकै प्रशिद्ध र अग्रणी साहित्यिक द्वैमाशिक “अभिव्यक्ति” परिवारका सदस्य र सल्लाहकार समेत हुनुहुन्छ उहाँ ।
भद्र, मिलनसार, इमानदार र शालीन व्यक्तित्व भएका श्रीओमजी वहुमुखी प्रतिभाका धनी हुनुहुन्छ।उहाँले दर्जनौं राष्ट्रिय र अन्तरास्ट्रिय पुरस्कार र सम्मानहरु प्राप्त गर्नु भएको छ । विगतमा नाटकहरुको लेखन, निर्देशन र अभिनय लगायत कलाकारिताका क्षेत्रमा पनि निक्कै लामो अवधिसम्म सकृय रहनुभएको पाइन्छ। नेपालमा विगतमा केही कथाकारहरुवाट लघुकथा लेखिने गरिएको भएपनि यो क्षेत्र लगभग उपेक्षित रुपमा नै रहेको थियो। श्रीओम जीले लघुकथाको विकाश र प्रवर्द्धन गर्ने उद्देश्यले झन्डै १७/१८ वर्ष अघि “लघुकथा समाज” को स्थापना गर्नु भयो। यो समाजको संस्थापक अध्यक्ष भएर रोपिएको लघुकथाको विरुवालाइ मलजल, गोडमेल गर्दै हुर्काएर यसलाइ लोकप्रिय वनाउने कार्यमा महत्वपूर्ण योगदान दिनु भएकोले नै लघुकथाले अहिलेको उचाइ प्राप्त गर्न सकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
रोदनजीले विगतमा धेरै संस्थाहरुमा सकृय रूपमा योगदान दिनु भएको पाइन्छ। गोरखापत्र संस्थानवाट उमेर हदका कारणले सेवानिवृत्त भएपछि नेपालको सक्रिय साहित्यिक संस्था नेपाल स्रस्टा समाजमा लगभग तीन वर्षदेखि अध्यक्षको रूपमा सेवा गर्दै हुनुहुन्छ । यो अवधिमा थुप्रै र अन्य साहित्यिक संस्थाका भन्दा पृथक र प्रभावकारी कार्यक्रमहरु आयोजना गरेर संस्थाको छवि अझ उच्च वनाउन कृयाशील रहदै आउनु भएको छ । गत २०८१ असोजमा संपन्न संस्थाको साधारणसभाले उहाँलाई पुन: अर्को कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो। श्रीओमजी लाई मैले चिनेको दशकौं भयो। उहाँ मेरो प्रिय मित्र हुनुहुन्छ। थालेको काम जसरी पनि सम्पन्न गर्ने, जिम्मेवारीवाट पछि नहट्ने, कर्मठ र सदा सक्रिय व्यक्ति हुनुहुन्छ उहाँ। नेपालका कतिपय साहित्यिक ,सामाजिक संस्थावाट स्थापित पुरस्कार सम्मानहरुको चयन समितिमा पनि उहाँ हुनुहुन्छ । मलाइ जानकारी भएसम्म पुरस्कृत सम्मानित पात्रको छनौट गर्दा संवन्धित क्षेत्रमा उल्लेखनीय योगदान दिएका तर उपेक्षा र ओझेलमा परिरहेकाहरुलाई प्राथमिकता दिनु पर्छ भन्ने उहांको मान्यता रहेको हुन्छ जुन कुरा मलाइ धेरै मन पर्छ। श्रीओमजीको काम गर्ने शैली र कतिपय मान्यताहरुवाट म प्रभावित पनि छु।
श्रीओम जीको सुस्वास्थ्य , प्रगति, दीर्घ जीवन र निरन्तर कृयाशील साहित्य साधना एवं सिर्जनाका माध्यमवाट नेपाली साहित्य लाभान्वित भइरहोस, मेरो हृदय देखिको हार्दिक शुभकामना ।








