
चर्चामा पुस्तक
मुग्लानबाट देश नियाल्दा
परदेशिएको एक नेपालीको कविता । प्रवासका पीडा,घरदेशका पीडा सम्झाउने कविताकृति ।समसामयिक विकृति र विसंगतिले मुलुकका राजनीति लगायत हरक्षेत्र आक्रान्त छ ती प्रति कटाक्ष । कुर्सीको लोभ र मोहमा फसेका नेताहरुप्रति खबरदारी । पारीवारिक सम्बन्धका सवाल,हाम्रा साँस्कृतिक मूल्य र मान्यताका कुरा । यस्तै यस्तै विषयबस्तुमा आधारित पाँच दर्जन कविताहरु समावेश भएको नीलकण्ठ सुवेदीको कविता कृति हो मुग्लानबाट देश नियाल्दा ।
सरल र सौम्यभाषा,समय सापेक्ष प्रचलित बिम्बहरुको प्रयोगले कविता बनेका छन् ।
मुग्लानबाट देश नियाल्दालाई राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५।रहेको छ ।
आधा बाँचेको मान्छे
विष्णुप्रसाद शर्मा पराजुलीको कविता कृति हो । राजनीति,समाजका विकृतिहरु विरुद्ध सघन व्यङ्ग्यचेतले भरिएका कविता परेको यो कृतिभित्र ३८ कविताहरु परेका छन् । समयावधिको हिसावले वि.सं.२०६७ सालदेखि २०७१ सालसम्मका कविताहरुले कृतिमा स्थान पाएका छन् ।नियात्राकार समेत रहेका उनी यात्राका क्रममा देखेभोगेका कुराहरुले उनको कवमन जागृत हुन्छ र कविता कोर्छन् ।
राष्ट्र,देशभक्तिका भाव बोकेका,प्रेमलाई नविन भावका साथ लेखिएका कविता पनि छन् । आयामका दृष्टिले मध्यम आयामका कविता छन् । निष्कर्ष छ कविताहरु समाज रुपान्तरणको चेतनाले भरिएका छन् । सरल भाषाशैलीले कवितामा प्राण भरेका छन् ।
आधा बाँचेको मान्छेलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२९०।रहेको छ ।
किताबको अँगालोमा
पत्रकार एवं साहित्यकार जयदेव गौतमको पुस्तक समीक्षा सङ्ग्रह हो किताबको अँगालोमा । कुनैपनि लेखक प्रति आग्रह पूर्वाग्रह नराखीकन समीक्षा गरिएको यो कृतिभित्र ४२ वटा कृतिहरुको समीक्षा अटेका छन् । कृतिभित्रको चिराफारा गर्ने किसिमको प्रमोद प्रधानको भूमिका रहेको छ । रचना जस्तो छ त्यस्तै भन्न सक्नुपर्छ भन्ने मान्यतामा समीक्षक दृढ देखिएका छन् ।यसकृतिमा नाटक विधा बाहेक हर विधाका कृतिहरुको समीक्षा छ । मान्छेका उज्याला पक्ष उजागर गर्ने तर अध्याँरा कुरा लुकाउने प्रवृत्ति गलत हो भन्ने गौतमको ठहर छ । पुस्तकहरुको यथार्थपरक धरातलमा टेकेर समीक्षा गरिएको छ । पुस्तकहरु मज्जैले केलाएर लेखिएको कृति हो ।
किताबको अँगालोमालाई सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.६००। रहेको छ ।







