
पुराना पुस्तक
कृति : अकाल मृत्यू
विधा : उपन्यास
उपन्यासकार : चूडानाथ भट्टराय
समाजका दुई वर्गका पात्रहरुका चरित्र चित्रण गरेर कथानकता बुनिएको उपन्यास अकाल मृत्यूमा उच्च वर्ग र निम्न मध्यमवर्गीय पात्रहरुका जीवन्त चरित्र उजागर गरि समाजको बास्तबिकता उजागर गर्ने प्रयास गरिएको छ । यसमा मानिसका दुर्गुणहरुका बारेमा त्यस्तै नकारात्मक पात्र चयन गरी उसको चरित्रबाट चित्रण गरिएको छ । यौनबासना,अस्वभाविक चरित्र बोकेका व्यक्तिको दुःखान्त र छिटो अवसान अपरिहार्य छ भन्ने विषयलाई उपन्यासमा बुनिएको छ । यसमा ह्रदयमा सच्चाई बोकेका निम्न वर्गका मान्छेको मिहेनत,इमान्दारी देखाइएको छ भने उच्च वा कुलिन घरानाको मानिसमा आएको स्वार्थता,छलकपट,षडयन्त्र लगायतका नकारात्मक भावहरु चित्रण गरिएको छ ।
ऐतिहासिक पात्र राजा र रानीमा केही कल्पनाशीलता जोडेर कथा बुनिएको छ । उपन्यासकार जीवनपरक सत्यको पक्षमा उभिएका छन् । समाजका धमिला पक्षको उजागर गरिएको उपन्यास सरल छ ।
अकाल मृत्यूलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक वि.स.२०३६ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : आफ्नै भूतको कथा
विधा : आत्मकथा
कृतिकार : रमेश खकुरेल
खकुरेलको अतिततिर फर्केर लेखिएको कृति । केही संस्मरण जस्तो आत्मकथा । विभिन्न यादगर पलहरुको बारेमा सुन्दर ढंगले बुनिएको छ । यसकृतिभित्र विभिन्न शिर्षकका २७ वटा संस्मरण रहेका छन् । तथ्यको नजिकबाट इमान्दार भएर लेखिएको जस्तो लाग्ने यो कृति जुन जुन पलहरु बढी यादगर छन् उनले यसमा समावेश गरेका छन् ।
आफ्नो जन्मदेखि लिएर विभिन्न कालका विभिन्न विषयहरुमा आत्मसंस्मरण अघि बढेको छ । पढ्न रोचक छ । छोटा र मझ्यौला साइजका संस्मरणहरुले स्थान पाएका छन् । भाषाशैली सरल छ ।
आफ्नै भूतको कथालाई सरला खकुरेलले पहिलो पटक वि.सं.२०६३ मा प्रकाशनमा ल्याएकी हुन् ।
कृति : शैली विज्ञान
विधा : सिद्धान्त र आलोचना
समालोचक : मोहनराज शर्मा
नेपाली वाङ्मयमा नयाँ लाग्छ शैली विज्ञान । साहित्यमा आलोचनाका सिद्धान्तहरु,स्वरुपहरुलाई परिभाषित गर्ने र बुझाउन सघाउ पुर्याउने कृति हो यो । आलोचनात्मक विशिष्टता यसको विशेषता लाग्छ । कुनैपनि साहित्यिक कृतिलाई बैज्ञानिक,वस्तुपरक भएर प्रायोगिक पद्धतिबाट बिश्लेषण र यथार्थ मूल्याँकन गर्न कृतिको अध्ययनले सघाउ पुर्याउँछ ।
विभिन्न सिद्धान्त,कविताको संरचना,मुक्तक,आख्यान लगायतमा शैली विज्ञानको कसरी प्रयोग गर्ने भन्ने विभिन्न चर्चित साहित्यकारका तत्सम्बन्धी सृजनाको बारेमा जानकारी दिएको छ ।
नेपाली साहित्यका विद्यार्थी,समीक्षक,समालोचक लगायतको निम्ति महत्वपूर्ण छ यो कृति ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक वि.सं.२०४८ सालमा शैली विज्ञानलाई प्रकाशनमा ल्याएको हो ।







