
पुराना पुस्तक
कृति : समुन्द्रमा एक थोपा
कवि : चूडा ढकाल
विषयगत विविधताका ३४ थान छोटा कविताहरुको कृति होे । चूडा ढकाल प्रगतिवादी कवि हुन् । यसमा कालोलाई सेतो नभन्ने र सेतोलाई कालो नभन्नेहरुको पक्षमा लेखिएका कविता छन् । राजनीतिक विकृति र विसंगति विरुद्ध जेहाद छन् । उनका व्यङ्ग्यचेतका कविता छन् । चोटिला र धारिला शब्दहरु प्रहार गरेर लेखिएका कविता पढ्न मज्जा लाग्छ ।
बिम्बात्मक तर यथार्थपरक छन् कविता ।
समुन्द्रमा एक थोपा कविताकृतिलाई पहिलो पटक २०५६ सालमा हातेमालो अन्तर्राष्ट्रिय युवा कार्यक्रमले वजारमा ल्याएको थियो ।
कृति : छाप
विधा : कथासङ्ग्रह
कथाकार : ओममणि शर्मा
समाजभित्रका विभिन्न आयाम र अवयवहरुलाई कथाको माध्यमबाट चित्रण गर्न शर्मा सफल देखिएका छन् ।मान्छेका दैनिकीका विभिन्न सुख र दुखका पलहरु,अभाव,पीडा र छटपटीहरु कथाका विषय बनाएर लेखिएका छन् । मानिस कहिले मानिस भएर निर्धक्क बाँच्न सक्ला भन्ने भावका हुटहुटी बोकेका कथाकारले समाजशास्त्रीले भावले कथाहरु गुथेका छन् ।
कथा छोटा कदका छन् । एकै बसाईमा पढीसकिन्छ । सुन्दर,सरल र सौम्य भाषाले कथाहरु पठनीय बनेका छन् ।
छाप कथाकृतिलाई वि.सं.२०४२ सालमा साझा प्रकाशनले प्रकाशित गरेको हो ।
कृति :उपन्यास सिद्धान्त र नेपाली उपन्यास
विधा :समालोचना
कृतिकार : कृष्णहरि बराल र नेत्र एटम
पूर्वीय तथा पाश्चात्य समालोचनाका उपकरणहरु प्रयोग गरी गरिएको विवेचना हो । यस कृतिले उपन्यासको सैद्धान्तिक ज्ञान दिनुका साथै उत्पत्ति र विकासको इतिहास पनि जानकारी दिन्छ । कृतिमा उपन्यास विधाको विश्वसाहित्यमा स्थिति के छ ?कहिले प्रारम्भ भयो ?कहाँ?कहिले र कसरी थालनी भयो ?उपन्यासको हालको अबस्था के छ ? यसका स्वरुप र प्रवृत्ति कस्ता छन् ? विकासको अबस्था लगायतका बारेमा जानकारी गराउँछ ।
नेपाली उपन्यासको मूल प्रवृत्तिबारे समेत विवेचना गरिएको छ । उपन्यासमा हुनुपर्ने तत्वहरु,,चरित्र चित्रण,वर्गिकरण,उपन्यास र अर्को साहित्यिक विधाको सम्बन्ध लगायतका विषयले पनि स्थान पाएका छन् । यस कृतिले नेपाली उपन्यासको धारागत वर्गिकरण समेत गरेको छ । केही चर्चित उपन्यासहरुकोे विवेचना गरिएको छ ।
उपन्यास सिद्धान्त र नेपाली उपन्यासलाई वि.सं.२०५६ मा पहिलो पटक साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो ।






