
स्तम्भाकार चैत्य (व्यूह चैत्य) का बारे चर्चा गर्दा सर्वप्रथम हेनाकर महाविहार (ध्वाखा बहाल ) को कूटाक्षर अंकित स्तम्भाकार चैत्यलाई (चि.नं. १८) महत्वपूर्ण चैत्यका रूपमा लिनुपर्ने देखिन्छ । कसै कसैले यस्तो चैत्यलाई युग चैत्य भनेर पनि पुकार्दोरहेछ ।
चारपाटे पेटीबाट सो चैत्यको स्तम्भ सुरु हुन्छ । हेनाकर महाविहारको यस स्तम्भको चारै दिशाको कुना कुनामा कलात्मक बुट्टा सहितको गोलाकार खम्बा राखिएको छ । ती स्तम्भको बीचमा गोलाकार फूल बुट्टेदार द्वार राखी सो प्रत्येक द्वारभित्र चारै दिशामा उभिरहेका बुद्ध, बोधिसत्वहरूको सुन्दर मूर्ति राखिएका छन् । पूर्व र पश्चिम दिशामा सुन्दर प्रत्येक बुद्ध (देवावतार) हरू स्थापना गरिएका छन् । कसै कसैले यस्तो अभिनय एवं भाव भङ्गिमामा रहेको बुद्धलाई भविष्य व्याकरण मुद्राको बुद्ध भनेर पनि वर्णन गरेको पाइन्छ ।

भारतमा प्रकाशित एउटा ग्रन्थमा विहार मा अवस्थित सप्त बुद्धको मूर्ति ( चि.नं. २०) दिइएको चित्रको दोस्रो चित्रसँग यसरी दायाँहात वरद र बायाँहातले बायाँ कुममा लर्केको लुगा स्याहारेको जस्तो अभिनय गरी उभिरहेको प्रत्येक बुद्धको मूर्ति ठ्याम्मै मिल्दछ । अनि यस्तै दक्षिण दिशामा लयात्मक र सुन्दर पहिरनयुक्त उभिरहेको भक्तिनी तारा सहितको पद्मपाणीको सुन्दर मूर्ति रहेको छ त उत्तरमा दायाँ हात वरद र देब्रे हातले अर्को सानो मूर्तिको टाउकामाथि टुप्पी समाते जस्तो गरी वज्र समाती रहेको छ । यसरी वज्र रुपी मूर्ति समाति रहेकोले यो मूर्तिलाई वज्रपाणी बोधिसत्व भनिन्छ । उक्त सानो मूर्तिलाई वहाँको वज्ररुपी आयुधपुरुष पनि भनिन्छ । कुनै कुनै विद्वानले भने करुणामयले प्रेतलाई उद्धार गरिरहेको मूर्ति मानी यस मूर्तिलाई प्रेतसंतर्पित लोकेश्वर भनिन्छ भनेर आफ्नो विचार अघि सारेको पाइन्छ । तर १०८ लोकेश्वर र ३६० लोकेश्वरहरूमा यस्तो नाम भएको लोकेश्वर उपलब्ध भए पनि यो मूर्तिसँग भने विल्कुल मेल खाँदैन । यो विचारणीय विषय मान्नुपर्छ । किनभने प्रेतसंतर्पित लोकेश्वरमा यसरी बायाँ हातले अर्को मर्ति समातिरहेको देखिदैन । यस्तै आयुध पुरुष बाँया हातले समातिरहेको बोधिसत्वको मूर्ति जेतवन विहार भक्तपुरमा पनि उपलब्ध छ ।
३२ The way of the Buddha – Published by Ministry of Information and Broadcasting govt. of Indi
यो चैत्यको मूर्तिहरू मात्र भावभङ्गिमापूर्ण, संजीव र लयात्मक मात्र देखिएको होइन, दुवै बोधिसत्व पद्मपाणी र बज्रपाणीले हातमा नागको बाजू सुन्दर कोणात्मक विशिष्टतायुक्त मुकुट लगाएको देखिन्छ । अर्थात् दायाँबायाँको कोणभन्दा मुकुटको बीचको कोण अलि उच्च भएकोले अति सुन्दर देखिन्छ । हेनाकर महाविहारको पद्मपाणीको शिरको मुकुटमा गणवहाल लगन टोलमा पाइएको ५५० A. D. को मूर्तिमा जस्तो अमिताभ बुद्धको मूर्ति मुद्रण गरेको पाइँदैन । यहाँको मूर्ति गणवहालको मूर्तिभन्दा सर्लक्क परेको र हातमा लिई राखेको कमल फूलका डाँठ पनि बढ्ता घुमाउरो भई लयात्मक छ । कटिभंगात्मक रूपमा उभिरहेको यो हेनाकर महाविहारको पद्मपाणीको धोटीको छोर पनि कमनियढंगले दायाँ जांगबाट बायाँतिर लगेको देखिन्छ ।
यस चैत्यमा भएको अर्को महत्वपूर्ण विशेषता हो, यी चारै दिशामा उभिरहेका बुद्ध बोधिसत्वहरू माथिको तल्ला थाम्न हाम्रा नेपालीहरूका प्राचीन घर बनाउने कलासँग मिल्ने रूपले मेखको बुट्टा कुँदिराख्नु हो । हाम्रा प्राचीन घरहरूमा ठूलो ठूलो कवल बनाउँदा स्थाम वा लठ्ठाको माथि ओछ्याइने काठ दलीनको बोझले नलच्कियोस भनेर सो मेख राखिने गरिन्छ । यसमा पनि सोही विधि अपनाई कलात्मक मेखको बुट्टाहरू राखिएका छन् । अनि सो मेख माथि ओछ्याइएका दलीनहरूको टुप्पो पनि अलि निस्केको जस्तो गरी कलात्मक बुट्टा देखाइएको छ । त्यसमाथि चारैतिर फूल बुट्टे चारकुने वेदी राखेको छ । त्यस वेदीमाथि चारै कुनामा दुईज्यूको सिंह र चारै दिशाका द्वारभित्र ध्यान मुद्राका अमिताभ बुद्ध मात्र राखिएका छन् ।

अत: यस चैत्यको मुख्य विशेषता कलात्मक एवं लयात्मक तथा समानुपातिक अंगले युक्त भव्य मूर्तिका साथै चारै दिशामा अमिताभ बुद्ध मात्र पाइनु पनि अर्को महत्वपूर्ण विशेषता मान्नुपर्छ । यसरी चैत्यको गर्भगृह मुनि वेदीमा बुद्धमूर्ति राख्ने प्रचलन उत्तर लिच्छविकालमा मात्र सुरु भएको मान्न सकिन्छ । यस्तै अमिताभ बुद्धको मूर्ति मात्र भएको अर्को स्तम्भाकार चैत्य काठेसिम्बू श्रीघ: विहारमा अवस्थित छ । यस चैत्यमा पनि मसिनो वेदी भएको गर्भगृह मुनि द्वारयुक्त भद्रासनमा चारै दिशामा अमिताभ बुद्धमात्र राखिएका छन् । यो स्तम्भ चैत्य (चि.नं. २२) को द्वारयुक्त दुइटै वेदीरूपी तल्लाको भद्रपीठको चारै दिशामा अमिताभ बुद्धमात्र राखिएका छन् । तर यो श्रीघः को स्तम्भ चैत्यको भद्रपीठको द्वारमा हेनाकर महाविहारमा जस्तो सजिव देखिने छेपू जलजन्तुयुक्त तोरण छैन केवल साधा छ्यंप्व भनिने बुट्टा मात्र छन् । अरु हेनाकर महाविहारको स्तम्भ चैत्यमा जस्तै सुन्दर गर्भगृह, हर्मिका र त्यसमाथि त्रयोदश भुवन अंकित गजूर राखिएको छ । जनश्रुति अनुसार हेनाकर महाविहारको चैत्यमा अहिलेको जस्तो त्रयोदश भुवन अंकित गजूर पछि मात्र राखेको हो भन्ने सुनिन्छ । लिच्छविकालीन र उत्तर लिच्छविकालसम्मको विम्ब (गर्भगृह) हरूमा छुट्टै विशिष्टता पाइन्छ । त्यो विशिष्टता हो विम्ब (गर्भगृह) मा थंवहीलको चैत्यमा जस्तै मसिनो वेदी, पेटी हुनु । हेनाकर महाविहार (ध्वाका वहा:) को स्तम्भ चैत्य जस्तै सुन्दर स्तम्भ चैत्य थंवहिल ( चि.नं. १९) भगवान् बहालमा पनि अवस्थित छ । तर यसमा हेनाकर महाविहारको स्तम्भ

चैत्यमा जस्तो कलात्मक द्वारहरू छैनन् । केवल मसिना र मोटा गरी पाँच तह वेदी युक्त चिप्लो सुन्दर गर्भगृह छ । यसमा चतुर्बुद्ध राखिएका छैनन् । यस गर्भगृह मुनि चारै दिशामा सुन्दर लयात्मक र भिन्नाभिन्नै भावभङ्गिमा उभिरहेका मूर्तिहरू छन् । पूर्व र पश्चिम दिशाका मूर्तिहरू उस्तै उस्तै छन् । दुईवटै मूर्तिले श्वेतमत्स्येन्द्र नाथले जस्तै हात तलतिर पसारी रहेका छन् । दुईवटै मूर्तिमा ज्वालावली स्पष्ट देखाइएको छ । लुगाको पहिरन र शरीर विन्यास एकदम सुन्दर छ । ऋर्षिहरूको जस्तो जुरो बाँधेको छ । त्यस्तै दक्षिण तिरको मूर्तिमा दायाँ हातले अभय मुद्रा गरेको छ भने बायाँ हात खंडित छ । त्यस्तै उत्तरको मूर्तिमा दायाँ हातले अभय मुद्रा र बायाँ हातले बायाँ कुममा लर्केको लुगा सम्हालेको जस्तो अभिनय गरेको छ । यी दुईवटै दक्षिण र उत्तरको मूर्तिको मुहारमा प्रभामण्डल (ज्वालावली) देखिदैन । यो विचारणीय छ । यी दक्षिण र उत्तरका दुईवटै मूर्तिको भावभङ्गिमा एवं अभिनय विहारको मैत्रेय सहितको सप्त बुद्धको प्रतिमामा अवस्थित चारौं मूर्तिसँग मेल खान्छ ।
यस्तै अर्को महत्वपूर्ण स्तम्भाकार चैत्य स्वयम्भूको चून बनाउने ठाउँको अगाडि अवस्थित छ । यहाँको स्तम्भाकार चैत्यमा पनि चारै दिशामा उभिरहेका बुद्ध, बोधिसत्वहरू राखिएका छन् । यहाँ पनि चारै दिशाका मूर्तिहरू बेग्ला बेग्लै हस्तमुद्रामा रहेको पाइन्छ । त्यसमध्ये उत्तर दिशाका मूर्तिले दायाँहातका औला अलि झुकाएर बायाँ हातका औलालाई छोइरहेको बोध्याको छ । पूर्व दिशाको मूर्तिमा दायाँ हातले अभय मुद्रा र देब्रे हात तल पगारी केही समाएको जस्तो अभिनय छ । दक्षिण दिशाको मूर्तिमा दुवै हात तल पसारी रहेको देखिन्छ । यो मुद्रा मत्स्येन्द्र नाथ आर्यावलोकितेश्वरको हस्त मुद्रासँग मेल खान्छ । पश्चिमको मूर्तिमा बायाँहातका पांचै औलालाई दायाँ हातको औंलाले कलात्मक ढंगले समातिरहेको छ । यहाँको स्तम्भ थवहीलमा भन्दा साधा देखिन्छ । मूर्तिहरू पनि हत्ताकत्ता र बलिया जिउडालको देखिन्छ । यहाँका मूर्तिमा कपाल एक दुई अमलको घुम्रेको जस्तो देखिन्छ भने चैत्य विम्ब अर्थात् गभृगृह उभिरहेका बुद्धबोधिसत्वका मूर्तिका अनुपातमा धेरै सानो छ । त्रयोदश भुवन अंकित गजूर पनि पछि मात्र राखेको जस्तो भान हुन्छ । यो स्तम्भको चारपाटे वेदी चारपाटे जलहरिमा उभ्याएको छ । जलहरी र मूर्ति माथिको साधा र पेटी सहितको चतुर्बुद्धरहित अर्ध गोलाकार सानो गर्भगृहले शिवलिङ्गको याद दिलाउँछ । थंवहीलको स्तम्भ चैत्यको गर्भगृह भने ढोकावहालको भन्दा ठूलो र भव्य छ । यो थंवहीलको चैत्यको प्रस्तर पनि नीखर कालो र सफा भएकोले अति नै सुन्दर देखिन्छ । गर्भगृहको वेदी (पेटी) युक्त भएकोले यो चैत्य झनै राम्रो देखिन्छ । यो थंवहीलको चैत्यमा पनि गजूर नभएको हो वा हराएको हो यसमा हाल गजूर छैन ।
कनक चैत्य महाविहारमा पनि आर्यावलोकितेश्वर अगाडि उत्तर तिर यस्तै स्तम्भ चैत्य अवस्थित छ । यस चैत्यमा उभिरहेका बुद्ध, बोधिसत्वका मूर्तिहरूको हस्तमुद्रा स्वयम्भूको स्तम्भ चैत्यका मूर्तिसँग एकदम मेल खान्छ । तर यो स्तम्भ चैत्यमा चतुर्बुद्धयुक्त गजूर हराएको सानो गर्भगृह पनि राखेको छ भने पूर्वदिशाको मूर्तिमा दायाँ हात अभय मुद्रा र देब्रे हात तल पसारी केही समातेको अभिनयमा छ । यो मुद्रा विहारको मैत्रेय सहितको सप्तबुद्ध प्रतिमाको चारौं मूर्तिसँग मेल खान्छ ।
अर्को स्तम्भाकार चैत्य भेटिन्छ इतुंबहाल र ज्यावहालमा । यी दुवै चैत्यमा पाइने उभिरहेका बुद्ध बोधिसत्वहरू जनवहाल, थंवहील र स्वयम्भूमा जस्तै भाव भङ्गीमा र हस्त मुद्रा युक्त नै देखिन्छ । तर यी मूर्तिमाथि राखेको गर्भगृहमा भने जनवहालको स्तम्भ चैत्यको गर्भगृहमा जस्तै स-सानो चतुर्बुद्धको
मूर्ति चारै दिशामा राखिएका छन् । जलहरी र गजुर पनि यथावत् नै राखेको छ । अतः प्राचीनताका हिसाबले विचार गर्दा पंच ध्यानीबुद्धहरूको प्रचार प्रत्येक बुद्ध र बोधिसत्वहरूको मूर्ति प्रचारमा आइसकेपछि मात्र प्रचारमा आएका हुन् भन्ने विद्वानहरूको भनाइ अनुसार स्वयम्भूको स्तम्भाकार चैत्य (चित्र नं. २३) पूर्व लिच्छविकालमा बने होला भन्ने अनुमान हुन्छ । त्यसपछि थंवहीलको स्तम्भ चैत्य अनि ढोकावहालको उत्तर लिच्छविकालको कुटिलाक्षर लिखित स्तम्भ चैत्य, तदनन्तर जनवहाल, ज्यावहाल र इतुंबहालका (चित्र नं. २१) स्तम्भ चैत्यहरू क्रमशः निर्माण भएको हुनुपर्छ भन्ने विश्वास गरिन्छ ।
हुनत चावहिलको विहारमा पनि यस्तै हस्तमुद्रायुक्त बुद्ध बोधिसत्वको स्तम्भ चैत्य उपलब्ध नभएका होइन तर शिलालेख नभएकोले, नभेट्टाइएकोले समय निर्धारण गर्न कठिन भएको छ ।
मन्त्रयानको सुरुसुरुमा पंचबुद्धको परिकल्पना भइसकेर पनि पंचबुद्ध राखी चैत्य निर्माण नगरेको कुरा तत्कालीन मूर्तिरहित चैत्यहरूले देखाउँछ भने ४७९ सम्बतमा लिच्छवि राजाहरूले आर्यावलोकितेश्वरमा धूपबत्ती चढाउन दुई मानीका जग्गा प्रदान गरिएका कुरा प्रमाणित गर्ने शिलापत्रमा आर्यावलोकितेश्वरका कुल मानिने अमिताभको नाम भने कतै उल्लेख गरेको नपाइनुबाट धेरैपछि मात्र अमिताभबुद्धलाई पनि विस्तारै आदर भावका साथ श्रद्धा गरेको कुराको प्रमाण स्वरूप ढोकाबहाल र श्रीघः का चैत्यमा चारै दिशामा अमिताभबुद्ध मात्र राखिएका चैत्यहरूलाई मान्न सकिन्छ । त्यस्तै तुलात्मक रूपले विचार एवं विश्लेषण गर्दा ५५० A.D. को मूर्ति मानिने गणवहालको पद्मपाणी लोकेश्वरको शिरमा ध्यानमुद्राको अमिताभको मूर्ति मुद्रण गरिएको पाउनुबाट शिरमा अमिताभ बुद्ध मुद्रण नगरिएको हेनाकर महाविहारको पदमपाणी नै अझं प्राचीन ठानिनु उपयुक्त छ । फेरि स्वयम्भूमा पाइएका पद्मपाणी लोकेश्वरमा पनि उभिरहेको अमिताभको मूर्ति मुद्रण गरिएको छ भन्ने विद्वानहरूको भनाइ छ । तर ती मूर्तिको हस्तमुद्रा भविष्य व्याकरण मुद्राको बुद्धको जस्तो मात्र देखिएकोले अमिताभ बुद्ध भनेर कितान गर्न उपयुक्त देखिदैन । ती मूर्तिहरूका कमल पुष्प पनि ढोकावहालमा भन्दा भिन्नै रूपले लोकेश्वर तिर होइन दर्शक तिर फर्केको पाइन्छ । यसरी सूक्ष्मातिसुक्ष्म कुरालाई विचार गर्दा हाम्रो अन्वेषण अझै अपर्याप्त छ भन्ने बोध हुनु स्वाभाविक छ ।








