
नेपालसंवत्लाई नेवारसंवत् भन्नेहरु र यसमा ३५४ दिनमात्र हुने भएकोले अव्यवहारिक भएको भन्दै भ्रामक भाष्यको प्रचार गर्नेहरुदेखि खबरदारी गर्नु परेको छ किनभने उनीहरुले नेपालसंवत् के हो ? बुझेर भनेकै होइन । हावाको भरमा नेपालसंवत्लाई बक्र दृष्टिले हेर्दै आउनेहरुको यो एउटा नाजायज कुतर्क सिवाय अरु होइन । यता नेपालसंवत्लाई गौरवमय बनाउने व्यक्ति शंखधर साख्वा हो भन्नुपर्नेमा जन्मदाता हो भन्दै इतिहासलाई पेल्न खोज्नु र नेपालसंवत् ३५४ दिनको हो भन्दै ज्योतिष गणित कै खिल्ली उदाउँदै आउनु भनेको कसैको निम्ति हितकारी होइन । यसबाट पार पाउन यथार्थ कुरा अगाडि ल्याएर बोध नगरी अर्को उपाय नै छैन ।
थुप्रै वर्ष बिती सक्यो ३५४ दिनको गलत र बेढङ्गी क्यालेण्डर बनाइ भ्रम फैलाउँदै आउनेहरु थाकेको छैन अझै सक्रीय भई रहेका छन् उनीहरुदेखि पनि सावधान हुनु परेको छ । साँच्चै भन्नु पर्दा अब त यो तरिका अति नै भइसक्यो किनकि भ्रम फैलाउनेहरुको जमात ठूलो छ , त्यसो हो भन्दैमा कालोलाई सेतो भन्ने पक्षमा हामी लाग्नु हुँदैन ।
यता नेवार समुदाय स्वयं पनि नेपालसंवत्लाई हाम्रो नेवारसंवत् हो भन्न लालायित देखिनु , नेपालसंवत् शंखधर साख्वाले बालुवा सुनमा परिणत भएको उपलक्ष्यमा देशमा भएका ऋणीहरुको ऋण चुक्ता गराई चलाएको ऋणमोचन संवत् हो भन्न चाहनु भनेको बिडम्बना भन्नु पर्दछ । नेपालसंवत्को हित नचाहनेहरुले नेपालमा थुप्रै जातिछन् केवल नेवारसंवत्लाई प्राथमिकता दिएर अरुलाई पक्षपात गर्नु दुस्साहस गरेको भनी आरोप लगाई आएका छन् । वास्तवमा नेपालसंवत् नेवारसंवत् पनि होइन, शंखधरले चलाएको पनि होइन , बालुवा सुनमा परिणत भएर चलाएको पनि होइन र ३५४ दिनको चान्द्र वर्ष पनि होइन । यी कुरालाई पुष्टि गर्ने बलियो प्रमाण कुनै पनि छैन र आजसम्म प्रमाण अघि सार्न पनि कसैले सकेको होइन । यथार्थमा नेपालसंवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय संवत् अवश्य नै हो । यही कुरालाई पुष्टि गर्नका लागि प्रमाणहरु यथेष्ट मात्रामा अघिसार्न जरुरी हुन आउँछ ।
भाषावंशावलीको दुष्प्रभाव
नेपालसंवत्को शुरुवात ईसाको नवौं शताव्दीको उत्तरार्धमा भएको कुरा सर्वविदित नै छ भने भाषावंशावली लेखाइएको समय चाहिँ ईसाको उन्नाइसौं शताव्दीको शुरुमा हो । भाषावंशावलीको सम्पादकीयमा सम्पादकले प्रष्ट रुपले उल्लेख गरेको छ कि राष्ट्रिय पुस्तकालयमा संग्रहित रहेको यो एक हस्तलिखित पुस्तक हो । पुस्तक लेखनमा प्रयोग भएको कागज मधिशे कागज र हरिताल कागज प्रयोग भएको भन्नुको साथसाथै यसमा वीरसमसेरसम्मका कुराले पुस्तक टुंगिएको छ भनेर पनि दिइएको छ । यसैबाट कुरो प्रष्टै हुन्छ कि नेपालसंवत्को शुरुवातको विषयमा चर्चा गर्न भाषावंशावलीलाई ल्याएर तेस्र्याउनु उचित कदापि होइन ।
नेपालसंवत् शुरु भयो नवौं शताव्दी त भाषावंशावली लेखाइयो उन्नाइसौं शताव्दी भनेपछि हजार वर्ष पछि लेखाइएको लेखनको आधारमा तयार भएको कथन प्रामाणिक ठहरिने होइन । आज भन्दा सय वर्ष अघिको कुरा लेख्दा त बिना प्रमाण लेख्न पाइन्न भने हजार वर्ष अघिको कुरा लेख्दा त्यहाँ प्रमाण नचाहिने त सवालै हुँदैन । मान्छे सय वर्ष बाँच्न सक्छ तर उसले सय वर्ष अगाडिको घटना बताउन सक्दैन । कुनैकुनै घटना आफू प्रत्यक्षदर्शी भएको आधारमा लेखिएको घटनामा सत्यता भएको मान्नु पर्ने अवस्था हुनसक्छ तर सयवर्ष बाँचेपनि सयवर्ष अघिको कुनै ऐतिहासिक घटना प्रत्यक्षदर्शी भए पनि बताउन सक्दैन । त्यसकारण भक्तपुरदेखि चार जना भरिया खर्पन बोकेर भचाखुसी निकटको लखुतीर्थमा आएर बालुवा लिन आएको घटनाका प्रत्यक्षदर्शी भाषावंशावलीकारलाई मान्न बिल्कुल सकिन्न । त्यो पनि मध्यरातमा त्यो बेलाको समयमा चारजना भरियालाई देख्ने केवल शंखधर एक जना मात्र त्यहाँ हुनु यस कुराको देखीजान्ने साक्षी को त भन्ने वंशावलीकारलाई फिटिक्कै थाहा छैन । यस्तो घटना कपोलकल्पित कथामा मात्र आउँछ सत्य घटनामा आउँदैन ।
अतः कपोलकल्पित कुरालाई ऐतिहासिक धरातलमा चर्चा गर्न ल्याउनु उचित होइन । नेपालसंवत् शुरु भएको घटना ऐतिहासिक हो । वंशावलीको कपोलकल्पित घटना ऐतिहासिक ठहर्न सक्दैन । त्यसकारण नेपालसंवत् शुरुवातको घटनाको लागि भाषावंशावली स्वयं ऐतिहासिक स्रोत सिद्ध हुन सक्दैन । कपोलकल्पित घटनाका लागि आधार भाषावंशावली अवश्य ठहर्ला तर नेपालसंवत्को लागि आधार भाषावंशावली उपयुक्त ठहराउन संभव छैन ।
वंशावलीहरु नेपालमा हातमा गन्न सकिने संख्यामा नभइ अनगिन्ती छन् । कुन वंशावली कहिले लेखियो भन्ने बारे विस्तृतमा अध्ययन गर्ने व्यक्ति मध्ये एक डा. कमलप्रकाश मल्ल चिरपरिचित व्यक्तित्व नै हुन् । उनको वक्तव्य भनौं वा संवादहरुमा वंशावलीहरु बारे बेला बेलामा दिने गरेको उनको वक्तव्यमा गोपालराज वंशावली सर्व प्राचीन हो उक्त वंशावलीको मुद्रण सम्पादन गर्ने मध्ये एक उनी स्वयं पनि हुन् । उनले भाषावंशावली , राजभोगमाला, नेपालदेशको इतिहास लगायत जतिपनि वंशावलीहरु देखा परे ती सवै शाहकाल शुरु भए यता कै मात्र हुन् भन्ने कुरा पाइन्छ । अतः नेपालसंवत् प्रारम्भ भए ताकाको वंशावली उनले एउटा पनि औंल्याउनु भएको छैन ।
फेरि अर्को कुरा भाषावंशावलीकार छ वीरसमसेरको पालाको तर वंशावलीकारले शंखधर साख्वालाई नेपालसंवत् शुरु हुँदा ताका हो भनी बताउँछ । यहाँ भनाई स्वयं विकर्षण भइरहेको छ किनकि वीरसमसेरको पालाको मान्छेले नेपालसंवत् प्रारम्भ हुँदा ताकाको घटना प्रत्यक्षदर्शी जस्तै भएर बोल्दैमा पत्याउन सकिने हुँदैन भने नेपालसंवत् प्रारम्भ हुँदा ताकाको मान्छेले वीरसमसेर चिनेको भन्नु त झन झूठ सिवाय अरु होइन । त्यसकारण त्यस्तो हावादारी प्रसंग नेपालसंवत्मा जोड्न नल्याइयोस् भनी सावधान गर्नु परेको छ ।
भुवनलाल प्रधानको भ्रामक कथन
भुवनलाल प्रधान एक राजनीतिक व्यक्ति हुन् , उनी एक समय मन्त्री समेत भइ सकेको व्यक्ति हो । उनी इतिहासकार होइनन् र उनले भनेको कुरा सवै हो मा हो भनी लय मिलाउन सवै जना उनका कार्य कर्ता हुनु पर्ने हुन्छ जुन संभव छैन । अर्को कुरा भक्तपुर शहर बसालेको कसले ? भक्तपुर शहर बसाल्नु अघि नै राजा थिए भन्ने ऐतिहासिक पुष्टि गर्ने स्रोत के छ ? भन्ने उनी अनभिज्ञ छ । उनले भनेको भन्दैमा शिरोपर गर्नै पर्ने हुनलाई उनी ब्रह्मा, विष्णु महेश्वर मध्ये कोही पनि होइनन् । उनले नेपालसंवत्को विषयमा जे जति शव्द वमन गरे त्यो सवै भाषावंशावलीलाई आधार बनाई आफू स्वयं नाटकीय पात्र बनेर बोलेको मात्रै छ , जसमा ऐतिहासिकताको गुण एक प्रतिशत पनि छैन । त्यसैले इतिहासको ज्ञान दिमागमा नभएको व्यक्तिको मुखबाट भएको शब्द वमन निरर्थक सिद्ध छ । नेपालसंवत् विषयक कतिपय लेख संग्रहका पुस्तकहरु देखा पर्ने गर्दछ त्यसमा भुवनलाल प्रधानद्वारा लिखित लेखलाई सर्वोपरि स्थान दिइ पहिलो लेख नै उनको राख्दै आएको देखिन्छ जसलाई हामीले नाङ्गो आँखाले हेरेर सकली सुनको गहना र नक्कली सुनको गहना छुट्टयाउन नसके जस्तै मात्र हो ।
भक्तपुर जेलाँ पाटीको शिलालेखको यथार्थ
भक्तपुर जेलाँ पाटीको शिलालेखलाई हल्लाखल्ला गर्ने साधन बनाइयो जुन बिडम्वना पूर्ण छ किनकि त्यहाँको पुरानो शिलापत्रको सट्टा अर्को बनाएर ल्याई जडान गराई केही समयपछि यस्तो अपूर्व शिलालेख पायो भन्दै हल्लाखल्ला गर्ने मसला बनाएको उदाहरण जेलाँ पाटीको शिलालेख हो र त्यस नक्कली शिलालेखबाट कतिलाई प्रभावित पारे कतिलाई पार्न सकेन त्यसको पनि लेखाजोखा कुनै बेला होलान् ।
पुरानो सक्कली शिलालेखको छापा उतार राष्ट्रिय अभिलेखालयमा छँदै छ । पुरानो शिलालेखमा तेल दल्ने सफा गर्ने एवं रीतले गर्दा अक्षर मेटिएको र चर्किएको यथार्थ छापा उतार स्वयंले बोली रहेको कुरा हो । अहिले त्यस जेलाँ पाटीमा रहेको शिलालेखमा चर्किएको चिन्ह पनि छैन र अक्षर मेटिएको चिन्ह पनि छैन । कुनै पनि शिलालेख पहिले प्रष्ट थियो अहिले अस्पष्ट भइसक्यो भन्ने मात्र हुने संभव हुन्छ तर पहिले मेटिएर चर्किएर गइसकेको शिलालेख अहिले ठीक दुरुस्त साबुद अवस्थामा फर्केर आउँछ भनेर पत्याउन कसैले सक्दैनन् । यसरी पुरानो झिकेर मिल्काई अर्को राख्ने जघन्य अपराध भइसकेको छ ।
ढाँटेको कुरा काटेर मिल्दैन भन्ने उखान लागु भए जस्तै ने.सं ८२९ को मितिको शिलालेखलाई ने.सं ८२७ को बनाएर राख्ने बित्तिकै ढाँटेको कुरा प्रमाणित भयो । यस शिलालेखमा शब्दमा पनि संवत् व्यक्त गरिएको हुनु र अंकमा पनि संवत् व्यक्त गरिएको हुनु नै सौभाग्यको कुरा हो । निश्चित रुपमा पुरानो शिलालेखमा ८२९ मा एकस्थानी अंक ९ अस्पष्ट भएर मेटिएको थियो । नक्कली शिलालेख बनाएर राख्नेलाई थाहा छैन कि यो ८२७ को सट्टा अर्को पनि हुनसक्छ । हुनतः शब्द मै शंख्या(संख्या) जोग वसु भनेर दिइएको छ (शं)संख्या ले ९ जनाउँछ ,जोगले २ जनाउँछ र वसुले ८ जनाउँछ । यसलाई अंकानां वामतो गति सूत्र अनुसार नेपालसंवत् ८२९ हुने हो । ८२७ हुने किमार्थ संभव छैन । यसको अतिरिक्त वैशाखकृष्ण (द्वादशी) उत्रभद्रनक्षत्र बृहस्पतिवार समेत दिइएको छ । यसरी तिथिमिति पूरा उल्लेख भएपछि गणनाको माध्यमबाट गणना गरेर हेर्ला भन्ने पनि हेक्का राखिएन । गणना गर्दा नेस. ८२७ वैशाखकृष्ण दशमीको दिन वृहस्पतिबार पर्ने संभावना भएन यथार्थमा वैशाखकृष्ण द्वादशीको दिन त्यो पनि ने.सं ८२९ मा मात्र बृहस्पतिवार संभव भएको छ । पहिलो त शब्दमा व्यक्त गरिएको मै ८२९ स्पष्टै छ र गणनाबाट पनि ८२९ नै भएपछि नाजायज हल्लाखल्ला गर्नुको कुनै औचित्य सिद्ध नभएको हो ।
यसबाट हामीले के संकेत पाउँछौं भने नेवार समुदाय भित्र अधिकाँश मानिसहरुले नेपालसंवत् प्रति माया प्रेम होइन शंखधर साख्वा प्रति मात्र प्रेम जताई आएको देखियो । उनीहरुलाई नेपालसंवत् जेसुकै होस् मतलव छैन । माथिका हल्लाखल्लाले त्यही मात्र चरितार्थ भइरहेको देखिन्छ ।
अर्को दुष्प्रचार देखिन थालेको
नेपालसंवत्लाई घात अन्तरघात गर्दै आउनेहरुले अनेकौं दाउहरु खोजी गर्न छोडेको छैन । अहिले कता कता नेपालसंवत् ११४६ होइन १४४६ भन्नु पर्दछ भन्दै अर्को भ्रमको खेतीगर्न थालेको पनि सुन्नमा आएको छ । हुनपनि कतिपय मान्छेलाई सुमतितन्त्र मृत शास्त्र ठहरिन गएकोमा ठूलो दुःख लागेको हुनुपर्छ । अहिले सुमतितन्त्रको नाम लिएर भ्रम फैलाउँला भन्ने चिताउनै नसकिने अवस्था आएको छ । अब ११४६ मा गौरव गर्नु भन्दा १४४६ भन्नुमा गौरव हुने देखाएर ध्यान तान्न खोजेको हुनसक्छ र सुमतितन्त्र मरेको छैन जीवितै छ भन्ने दाऊ खोज्दै पनि होला ।
यहाँ धेरैजसो लेखकहरु सुमतितन्त्रको क, ख नबुझ्नेहरु नै छन् । उनीहरु स्वयं सुमतितन्त्रको गुनगान गर्ने गरेका छन् किनभने उनीहरुले ठानेको मानदेवसंवत् ३०४ वर्षसम्म जान सकेको थाहा नभए पनि ४९८ सम्म शकसंवत् चल्यो, त्यसपछि ३०४ वर्ष मानदेवसंवत् चल्यो त्यसपछि नेपालसंवत् चल्यो भन्ने कुरा सुगा रटाई जस्तै गर्दै आएका छन् । अतः सुमतितन्त्र के हो ? उनीहरु बुझ्न सकेको होइन । जब मानदेवसंवत् ३०१ वैशाख भनेको वि.सं ९३५ वैशाख भइसके पछि वि.सं ९३६ कार्तिक मै ३०४ वर्ष समाप्त भइ नेपालसंवत् आरम्भ भएको कुरा गर्नेहरुलाई बुझेको भन्न सकिंदैन ।
भुवनलाल प्रधान लगायत आफुलेआफैलाई इतिहासकार ठान्नेहरुले नेपालमा उत्पत्ति भएको दुईवटा संवत् मध्ये मानदेवसंवत् पहिलो र नेपालसंवत् दोस्रो भन्ने अर्को तत्व उत्पत्ति हुन थालेको देखियो । उनीहरुले त्यही मानदेवसंवत्को ३०४ सहित संम्मिलित गरेर सायद नेपालसंवत् ११४६ होइन १४४६ हुनेहो भन्न खोजेको पनि हुनसक्छ । वास्तवमा यो कुराको आसय भनेको मृत सुमतितन्त्रलाई फेरि जिउँदो बनाउन चाहेको भन्ने अनेक दाऊ मात्र हो ।
नेपालसंवत् ३५४ दिनको वर्ष भन्ने भ्रम
ज्योतिष शास्त्र अघि सारियो भने १ सौरवर्षमा ३६५ दिन १५ घडी ३१ पला ३० विपला हुने आधार पाउँछौं त्यस्तै १ चान्द्रवर्षमा २४ पक्ष, ३५४ दिन हुन्छन् । १ सावनवर्षमा ३६० दिन हुन्छन् र एक चान्द्रमासमा २९.५३०५९ सावनदिन हुन्छन् भन्ने कुरामा कसैले विमति देखाउन सक्दैन किनभने क्यालेण्डर बनाउनेहरुले लिने सिद्धान्त पनि यही नै हो । सौर वर्षमा ३६५ दिन १५ घडी ३१ पला ३० विपला हुन्छ यस अन्तर्गत तिथिको चर्चा त्यसमा गरिंदैन । त्यस्तै चान्द्र वर्षमा २४ पक्ष हुन्छ र दिन ३५४ हुन्छ , यस अन्तर्गत संक्रान्तिको चर्चा गरिंदैन । ज्योतिषीय गणनामा सौरवर्षको मात्र गणना प्रयाप्त होइन भने चान्द्रवर्षको मात्र गणना पनि प्रयाप्त होइन । विक्रमसंवत्को पञ्चाङ्ग पात्रो तयार गर्नेलाई सौर वर्ष चान्द्र वर्ष दुबै चाहिए जस्तै नेपालसंवत्को पञ्चाङ्ग पात्रो बनाउन पनि चान्द्रमास र सौरमास दुवैको संलग्न बिना पञ्चाङ्ग र क्यालेण्डर बन्न सक्दैन यो ध्रुवसत्य हो । यहाँ बिडम्वना के देखियो त भन्दा नेपालसंवत्को क्यालेण्डर बनाइ आएकाहरुको दिमागमा सौरमासलाई उपेक्षा गरी ३५४ दिनको चान्द्र वर्ष ठानेर क्यालेण्डर बनाइ आएको छ । यदि बनेको नेपालसंवत्को क्यालेण्डर विशुद्ध चान्द्रमासको ठान्नेले गते तारिख कुनै पनि नजनाईकन बनाउन सकेकोभए मानुँला भनौं तर त्यसो नभइ ३२ दिनको महिना हुने ठाउँमा ३२ नै दिन २९ दिन हुने महिनामा २९ दिन नै देखाउने कार्तिकमात्र १९ दिनको देखाउने के बेढङ्गी पारा हो ? अद्भूत छ । खासमा ठूलो भूल गर्दै आइरहेको छ किनभने चान्द्रमासमा गते र तारिख जनिएको हुँदैन केवल तिथिमात्र जनिएको हुनु पर्ने हुन्छ । यदि नेपालसंवत् विशुद्ध चान्द्रमासको सिद्धान्तमा आधारित भएको भए त्यसमा गते र तारिखको उल्लेख गर्ने किन ?
जब नेपालसंवत्को क्यालेण्डरमा बाह्रै महिनाको संक्रान्तिको १ गते पनि छ र बाह्रै वटा १ तारिख पनि समावेश गरिन्छ भने त्यो विशुद्ध चान्द्रमास ठहर्दैन भनेर बुझ्न नसक्नु बिडम्वनापूर्ण छ । अहिले हामीले देख्दै आएको नेपालसंवत्को क्यालेण्डरमा ३५४ मात्र देखाउने तर गतेको बाह्रै वटा संक्रान्ति पनि छ र बाह्रैवटा १ तारिख पनि छन् तर कार्तिक महिना र नोभेम्वर महिना १९।१९ दिनको राखिएको छ , यसलाई बेढङ्गी भन्न सकिन्छ जस्तै उदाहरणको लागि सुरुवाल छोटो भयो भन्दैमा खुट्टा काटेर सुरुवाल मिल्छ भन्ने समाधान होइन । यसरी यहाँ भयंकर भूल गर्दै आएको भन्न सकिन्छ । जब क्यालेण्डरमा तिथि पनि छ गतेपनि छ र तारिख पनि जनिएको छ भने त्यो चान्द्रमास मात्र पनि होइन र सौरमास मात्र पनि होइन भन्ने कुरा प्रष्ट हुने भएकोले सिद्धान्त लिने चान्द्र सौरको तर भन्ने बेलामा नेपालसंवत् विशुद्ध चान्द्रमास भन्ने जस्तो हास्यास्पद कुरा गर्दै आएको छ ।
चान्द्रसौर अपनाइ चान्द्रवर्षको धाक
जुन क्यालेण्डरमा तिथिको अलावा गते र तारिख समेत जनाइएको हुन्छ त्यो चान्द्रवर्ष कहलिने होइन । गते र तारिख जनाउने तर वर्ष भरि ३५४ मात्र देखाउने भनेको आलु खाएर पेडाको धाक भने जस्तो मात्र हो । मिति लेख्दा हामीले सालको अंक पहिले लेखिन्छ त्यो भनेको कहिल्यै दोहरिने अंक होइन । त्यसपछि महिना लेखिन्छ महिना दोहरिन एक वर्ष लाग्छ । त्यसपछि गते लेखिन्छ गते दोहरिन एक महिना लाग्छ र त्यसपछि बार लेखिन्छ बार दोहरिन १ हप्ता लाग्छ । यो नियम हरेक संवत्मा लागु हुन्छ भनाइको मतलव नेपालसंवत्मा पनि यही लागु हुन्छ तर नेपालसंवत्मा पहिले सालको अंक त्यसपछि महिनाको १५।१५ दिनको पक्षमा र तिथि दोहरिन १५।१५ दिनको पक्षमा आउँछ । अन्तमा बार आउँछ त्यो हरेक ७।७ दिनमा दोहरिन्छ । वास्तवमा नेपालसंवत्को पनि पहिले वर्ष त्यसपछि महिना त्यसपछि गते र बार नै हो पछि चान्द्रमासमा ढाल्न खोज्नेले बङ्ग्याउन खोजेको मात्र हो । वर्ष पछि आउने महिनाको विषयमा सिद्धान्त के हो ? त्यसमा जानु पर्छ ।
कुनै फूलमा १२ वटा पत्ता छ भने त्यस फूलमा हरेक पत्तालाई एक मान्न सकिन्छ यसमा द्विविधा हुन जरुरी छैन । त्यस्तै वर्षमा १२ वटा संक्रान्ति हुन्छन् त्यसमा वैशाखलाई नै १ मान्नु पर्दछ भन्ने जरुरी छैन, कार्तिकलाई पनि १ मान्न सकिन्छ । शास्त्रमा वैशाख र कार्तिकलाई विषुव संक्रान्ति भन्छन् । माघ र श्रावणलाई अयन संक्रान्ति भन्छन् । अरु आठ वटा संक्रान्तिमा असार,आश्वीन,पौष र चैत्रलाई षडशीतिमुख संक्रान्ति भन्छन् भने जेठ,भाद्र मंसीर र फागुनलाई विष्णुपदी या विष्णुपद संक्रान्ति भन्दछन् । स्मृतिकौस्तुभमा यी सवै संक्रान्तिलाई रविसंक्रान्ति भनिएको छ । शास्त्रमा चन्द्र संक्रान्ति कहीं कतै पाईदैन ।संक्रान्ति भनेको सूर्य एक राशिबाट अर्को राशिमा जानेलाई भनिन्छ ।
सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरिएकोलाई कर्कट संक्रान्ति भनिन्छ भने धनु राशिबाट मकर राशिमा प्रवेश गरिएकोलाई मकर संक्रान्ति भनिन्छ । यसरी राशि १२ वटा मात्र हुने भएकोले अधिकमास(मलमास) आएपनि नआए पनि १२ वटा मात्र हुने हुन्छ । चान्द्रमासको गणनाअनुसार अधिकमास आउने हुनाले १३ वटा मास देखिए जस्तै सौरमासमा १३ मासको गणना कहिल्यै गरिंदैन । चान्द्रमासको अधिमासको पहिचान संक्रान्ति बिना संभव हुँदैन । त्यसो भएको हुनाले चान्द्रमासको पूरक सौरमास र सौरमासको पूरक चान्द्रमास भएको हुनाले विक्रमसंवत् पनि चान्द्रसौर कै गणनामा आधारित हुन् भने नेपालसंवत् पनि चान्द्रसौर कै गणनामा आधारित छन् । विक्रमसंवत् मेष विषुव(वैशाख संक्रान्ति)बाट शुरु हुने मानिएको छ भने नेपालसंवत् तुलाविषुव(कार्तिक संक्रान्ति)बाट शुरु हुने संवत् हुन् । लिच्छविकाल मै अधिकमास थियो भन्ने कुरा सर्वविदित छ ।
जब अधिकमास थियो भन्ने कुरा दृष्टान्त रहेको छ भने त्यो बेला पनि संक्रान्ति थियो भन्ने कुरा कोट्याइ रहनु पर्ने विषय होइन । त्यो बेला मिति लेख्दा गते जनाइएन भन्दैमा संक्रान्ति छैन भन्न पाइने होइन । त्यसकारण जहाँ संक्रान्ति छ त्यहाँ ३५४ दिनको वर्ष होइन ३६५ दिन कै वर्ष हो भन्ने कुरा बुझ्न जरुरी छ तर यो कुरा बुझेन भन्दैमा शास्त्रको दोष होइन, यति कुरा बुझ्न नसक्नु भनेको व्यक्तिको दोष मात्र हो । जहाँ धुँवा आइरहेको देखिन्छ त्यहाँ आगो देखिएन भन्दैमा आगो छैन भन्न पाईदैन । त्यस्तै गरी जहाँ संक्रान्ति छ भन्ने बुझियो त्यहाँ ३६५ दिनको वर्ष हुने हो भनेर सामान्य दिमाग भएको मान्छेले पनि बुझ्न सक्ने कुरा हो ।
शास्त्रमा १ सौरवर्षमा ३६५ दिन १५ घडी ३१ पला ३० विपला भएको हुनाले कुनै बेला ३६६ दिनको वर्ष पनि देखाइन सक्छ तर ३६४ दिनको वर्ष देखाइनु संभव छैन । इस्वीसंवत्मा हरेक ४ वर्षमा लीपयर भनेर ३६६ दिन कै हुन्छ अरु बेला ३६५ दिनको हुन्छ भने झै नेपालमा सौरवर्षमा पनि ३६६ दिन देखिन सक्छ ३६४ देखिने हुँदैन । त्यसकारण संक्रान्ति समेत जनाएर ३५४ दिनको क्यालेण्डर बनाएको देखिनु भनेको नाजायजको पराकाष्ठा हो ।
यदि कसैलाई ३५४ दिनको क्यालेण्डर बनाइरहने साह्रै इच्छा छ भने उनीहरुलाई चान्द्रवर्षको क्यालेण्डर बनाउने छूट छ तर त्यसमा संक्रान्ति तथा तारिख जनाउन पाईंदैन र नेपालसंवत् चान्द्रवर्षको भन्न पाईंदैन । किनभने कारण स्पष्टै छ कि नेपालसंवत्मा अनला अधिकमासको शुरुदेखि उपस्थित रही आएको हो । जहाँ धुवाँ छ त्यहाँ आगो अवश्य छ भने झैं जहाँ अनला अधिकमास छ त्यहाँ संक्रान्ति छ , यो ध्रुव सत्य पनि हो ।
नेपालसंवत् नेवारसंवत् होइन
नेपालसंवत्लाई नेवारसंवत् भनेर हेला गरेर होस् या स्वगौरव मानेर भन्ने रहर छ भने अवश्य भन्न पाइन्छ तर कोठामा एक्लै बसेर ऐना हेरेर मात्र भन्न पाइन्छ । दुनियाँ सामु आएर बोली फुटाए छन् भने आफुले आफैलाई मूख्र्यांई सिद्ध गर्न चाहनेले मात्र सक्छ अरुले सक्दैन । नेपाल भन्ने मुलुकको नाम प्राप्त स्रोतको आधारमा सर्व प्रथम कौटिल्यले आफनो अर्थशास्त्रमा उल्लेख गरेकोे देखिन्छ । नेपालसंवत्लाई नेवारसंवत् भन्नेहरुले कौटिल्य कुन शताव्दीको व्यक्ति हो ? पहिले अध्ययन गरुन् । त्यसपछि भलिभाँति हेक्का आउला । प्राचीनकालमा नेपाल भन्ने मुलुक कत्रो थियो भन्ने कुरा पनि नछुटाईकन अध्ययन गर्न इलाहावादको समुद्रगुप्तको अभिलेख खोजेर पढुन् तब त्यसबाट पनि अलि हेक्का आउला । त्यसपछि नेपाल भन्ने केवल काठमाडौं उपत्यका मात्र रहेनछ फेरि नेपालको मानचित्र नक्सा कस्तो थियो नेपालीले भनेको भन्दापनि समुद्रगुप्त त नेपाली होइनन् । नेपालका छिमेकी मुलुकका विश्व प्रशिद्ध राजा समुद्रगुप्त स्वयंले नेपालको मानचित्र यति विशाल छ भनेर बताएको हुँदाहुँदै पनि आफै मरिच जस्तै खुम्चेर जहाँ नेवारहरु गुचुमुच्च बसेका छन् त्यही नेपाल हो भनी बक्बक् गरेर हिंड्ने व्यक्तिलाई विद्वान मानेर त्यसको पिछलग्गू भएर हिड्ने जति अपवादका पात्र हुन् । उनीहरु बाहेक अरुले कौटिल्य कुन शताव्दीको र समुद्रगुप्तले बताएको नेपालको नक्सा माथि विचार गरेपछि उनीहरुले नेपालसंवत् नेवारकोसंवत् रहेन छ भनी अवश्य बुझ्न सक्छ ।
निष्कर्ष
नेपालसंवत् केवल ३५४ दिनको विशुद्ध चान्द्रवर्ष होइन । यसमा मलमास(अधिकमास) र संक्रान्तिहरुको अकाट्य उपस्थिति रहने हुनाले यो चान्द्रसौर (Luni- solar )गणनामा आधारित वैज्ञानिक संवत् हो । संक्रान्ति र सौरमासको उपेक्षा गरेर गते र तारिखसहित ३५४ दिनको त्रुटिपूर्ण क्यालेण्डर बनाउनु ज्योतिषीय र व्यावहारिक दुवै दृष्टिले गलत छ । वास्तवमा यो पनि विक्रमसंवत् जस्तै ३६५ दिनकै वरपर घुम्ने व्यावहारिक संवत् हो ।
ऐतिहासिक प्रमाण, कौटिल्यको अर्थशास्त्र र समुद्रगुप्तको अभिलेखले प्राचीन “नेपाल” को भूगोल र इतिहासको विशालतालाई पुष्टि गर्छन् । त्यसैले, नेपालसंवत् कुनै एक विशिष्ट जाति वा समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय संवत् हो । यसलाई नेवारसंवत् मात्र भनी संकुचित घेरामा राख्नु इतिहासकै अवमूल्यन हो ।
नेपालसंवत्का सुरुवात र शंखधर साख्वासँग जोडिएका भाषावंशावलीका “बालुवासुन भएको” वा “मध्यरातमा भरिया आएको” जस्ता प्रसङ्गहरु हजार वर्षपछि लेखिएका कपोलकल्पित र प्रमाणहीन कथाहरु हुन्। इतिहासलाई स्थापित गर्न काल्पनिक कथाहरु वा जेलाँ पाटीको तोडमोड गरिएको नक्कली शिलालेखको होइन, बल्कि तथ्यपरक ऐतिहासिक र खगोलीय प्रमाणहरुको आवश्यकता पर्दछ ।
ने.सं ११४६लाई १४४६ बनाउने जस्ता सुमतितन्त्र ब्यूँताउने असफल प्रयास वा ३५४ दिनको बेढङ्गी क्यालेण्डर बनाएर भ्रमको खेती गर्नेहरुबाट सचेत रहनुपर्छ । कालोलाई सेतो भन्न सकिँदैन;त्यसैले शास्त्र, ज्योतिष विज्ञान र ऐतिहासिक अकाट्य प्रमाणहरुका आधारमा नेपालसंवत्को वास्तविक एवं गौरवमय स्वरुपलाई बुझ्नु र बुझाउनु नै आजको मुख्य आवश्यकता हो ।